​पूजा र पुरी : सिंहदरबारको दूरी

काम राम्रो र सानो, तर भड्किलो प्रचारसाथ सामाजिक सुरक्षा योजनाको शुरुवात गराउने मन्त्री गोकर्ण विष्टलाई बद्नाम गर्न अहिले सिंहदरबारतिर एकजना युवतीको आवतजावत निक्कै बढिरहेको छ ।

कामदार ठगेको आरोपसाथ खारेज गरी, प्रहरी कारवाहीसमेत गराएका भीएलएन र बायोमेट्रिकलगायतको व्यवस्थापनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्ट आफँैले चासो राखिरहेका छन् । यसकै कारक बनेकी हुन्, ती युवती । नाम, पूजा चन्द ठकुरी । उनको साथमा दि रिभर ओभरसिज नामक म्यानपावर कम्पनीका सञ्चालक रघु पुरीहरू पनि गोकर्णको वरिपरि बाक्लै देखिन्छन् । उनीहरूसँगै अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा उपराष्ट्रपति पुत्र दिपेश पुन पनि दुई–चारचोटि मन्त्रालय पुगिसकेका छन् । यो काममा मलेसियन सरकारलाई खुशी पार्न उनीहरूले नेपाल आएको बेला त्यहाँको मानव संशाधन मन्त्रालयका उपसचिव बेट्टी हसनलाई सिम्रिक एयरको हेलिकोप्टर रिजर्भ गरी माउण्टेन फ्लाइट गराएका थिए ।

नेपाल र मलेसिया सरकारबीच कामदार पठाउने सहमति भएको एक महिना पुग्न लाग्दा पनि भिसा लागेका १० हजार कामदार उड्न पाएका छैनन् । भीएलएन र बायोमेट्रिकको व्यापार पूजा र पुरीहरूको समूहलाई दिन मलेसिया सहमत नभएसम्म भिसा लागेर बसेका १० हजार कामदार पठाउने छाँटकाँट देखिँदैन । नेपाल र मलेसियाबीच कामदार पठाउनेबारे कात्तिक १२ मा एमओयु भएको थियो । जसमा भिसा लागेका कामदार तुरुन्त पठाउने बँुदा परेको छ । श्रमका सहसचिव कृष्णप्रसाद ज्ञवाली र मलेसियाको तर्फबाट मानव संसाधन मन्त्रालयका उपसचिव बेट्टी हसनले एमओयुमा हस्ताक्षर गरेका हुन् । एमओयुको ६ नं.को ‘डी’ मा स्पष्टतः भिसा लागिसकेका कामदारलाई तत्काल पठाउने उल्लेख छ । नेपालस्थित मलेसियन दूतावासले शुक्रबारमात्रै पहिलेकै प्रक्रियाअनुसार कामदार पठाउन ताकेता गरी परराष्ट्र मन्त्रालयलाई अनुरोध पत्र पठाएको छ । 

मलेसियन दूतावासले शुक्रबार परराष्ट्र मन्त्रालयलाई मात्र होइन, भीएलएनलाई पनि पत्र पठाएर भिसा प्रक्रिया थाल्न आग्रह गरेको छ । यसले मलेसिया भीएलन र बायोमेट्रिक खारेज गर्ने पक्षमा छैन भन्ने बुझिन्छ । 

मलेसिया सरकारले भिसाका लागि पासपोर्ट संकलन गरी आफ्नो दूतावासमा पु¥याउन भीएलएनलाई जिम्मा दिएको छ । बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने जिम्मा ३९ वटा स्वास्थ्य संस्थाले पाएका छन् । अनलाइन दर्ता गराउने छुट्टै कार्यालय छ । कामदारले ल्याउने पासपोर्ट बुझ्न ओएससी नामक संस्था छ । अध्यागमन सेक्युरिटी पास प्रमााणित गर्ने छुट्टै संयन्त्र छ । भीएलएनले पासपोर्ट संकलन गरी दूतावासमा बुझाएबापत प्रतिकामदार तीन हजार ६ सय १६ रूपैयाँ शुल्क लिने गरेको छ । स्वास्थ्य परीक्षणको चार हजार पाँच सय रूपैयाँ लिने गरेको छ भने अनलाइन दर्ता गराउन माइग्राम्सले तीन हजार तीन सय शुल्क लिने गरेको छ ।

अध्यागमन सेक्युरिटीका लागि जीएसजीले तीन हजार दुई सय प्रतिकामदार लिँदै आएको छ । मलेसियन दूतावासले लिने भिसा शुल्क सात सय रूपैयाँसमेत जोड्दा यी सबै प्रक्रिया पूरा गर्न एक कामदारले १८ हजार चार सय रूपैयाँ तिर्दै आएका छन् । वार्षिक दुई लाख २० हजार कामदार मलेसिया जाने गरेका छन् । कामदारबाट बार्षिक यी संस्थाले चार अर्ब रूपैयाँको कारोबार गर्दै आएको देखिन्छ । मलेसिया सरकारबाट अनुमतिप्राप्त यी संस्था नेपाल सरकारले मात्र खारेज गरेर हुँदैन, मलेसियाले नै गर्नुपर्ने हुन्छ ।

को हुन्, पूजा र पुरी ?
दि रिभर ओभरसिज कम्पनी चलाउने रघु पुरीले गौशालामा इम्पेरियल होटल पनि चलाएका छन् । पूजा चन्द ठकुरीचाहिँ रक्सीको चार लाख रूपैयाँ नतिर्नका लागि पुलिसको पावर प्रयोग गरेर विवादमा आएकी थिइन् । उनले केही वर्षअघि ठमेलमा चलाएको तामस रेष्टुरेण्टमा रक्सी सप्लायर्स ग्रीनलाइन कम्पनीलाई बक्यौता नतिर्दा कहिले डिएसपीको सरुवा त कहिले इन्स्पेक्टरलाई स्पष्टिकरण खुवाएकी थिइन् । उनै अहिले सिंहदरबार छिरेर भीएलएन र बायोमेट्रिक हत्याउन सक्रिय भएकी छन् ।

विद्युत् प्राधिकरणका पूर्वप्रमुख कीर्तिचन्द ठकुरीकी छोरी हुन् । पूर्वप्रहरी महानिरीक्षक रमेश चन्दसँग दाजु नाता पर्नाले उनले ठमेलमा रेष्टुरेण्ट चलाउने क्रममा गरेका अनेकन लफडामा प्रहरीले आँखा चिम्लिएको थियो । त्यसबेला त्यहीँका एकजना मनाङे युवासँग पार्टनरसिप थियो । अहिले मकरियागाड, चमेलिया चेत्तिगाड जलविद्युत परियोजनामार्फत पाँच सय मेगावाट विद्युत् उत्पादनको परियोजनासँग सम्बन्धित रहेकी छन् । कस्तो अचम्म भने, व्यवसाय छ रेष्टुरेण्ट र हाइड्रोको, दौडधुप छ, बायोमेट्रिकमा ।

सरकारले समयमै भिसा लागेर थन्किएका नेपाली कामदारलाई मलेसिया उडाएन भने ती गरिव नेपालीको भिसा अवधी समाप्त हुने खतरा छ । त्यस्तो भयो भने उनीहरू पुनः पुरानै प्रक्रियामा जानुपर्छ र दोहोरो खर्चको मारमा पर्ने कसै–कसैको दाबी छ ।

टिप्पणीहरू