ढाका कपडालाई फेसन उद्योगसँग जोडिने

ढाका कपडालाई फेसन उद्योगसँग जोडिने

ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुन लागेको हो ।

प्रदर्शनीमा ढाकाका वस्तु र रेशाजन्य अल्लोका उत्पादनहरु राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको पुनर्गठन समेत गरिने उहाँले बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामकुमार गिरीले पछिल्लो समय ढाकाको महत्व बढ्दै गएको र ढाकाको उत्पादनमा विविधिकरण हुन थालेको बताउनुभएको छ । ढाकाले महिलाहरुलाई रोजगारमा संलग्न गराउनका साथै पिछडिएका जनजातिको आर्थिक स्तर उकास्न समेत मद्दत पु¥याएको उहाँको दाबी छ ।

अध्यक्ष गिरीले ढाकालाई अब समयको मागअनुसार फेसन उद्योगसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ढाकाले ग्रामीण भेगमा रोजगारी सिर्जना गर्न र सो क्षेत्रको सन्तुलित विकासमा भूमिका खेलेको छ ।’

टिप्पणीहरू