लालबाबु पण्डितको घोषणा : ‘अब बिदा भएँ’

लालबाबु पण्डितको घोषणा : ‘अब बिदा भएँ’

एमाले नेता लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गर्नुभएको छ । पण्डितले हिजो राति अध्यक्षले जारी गर्नुभएको तजबिजी केन्द्रीय समितिमा नाम नदेखेपछि आज सामाजिक सञ्जालमा लेख्दै एमालेको कुनैपनि कार्यकारी पदमा नबस्ने निर्णय गर्नुभएको हो ।

मोरङबाट प्रतिनिधिसभा सदस्य पण्डितले पछिल्लो निर्वाचनमा काँग्रेस नेता डा. शेखर कोइरालालाई पराजित गर्नुभएको थियो । अघिल्लो पटक केपी ओली सरकारमा सामान्य प्रशासन मन्त्री हुँदा पण्डितले डिभि परेर वा पिआर लिएर विदेश गएका कर्मचारीलाई पेन्सन लिन नपाउने घोषणा गरेर चर्चामा आउनुभएको थियो ।अहिले भइरहेको दशौं महाधिवशेनमा पण्डितलाई ओली नेतृत्वको अध्यक्ष मण्डलको सदस्य बनाइएको थियो । यसअघि पार्टीको केन्द्रीय सदस्य रहिसक्नुभएका पण्डितलाई अध्यक्षले केन्द्रीय सदस्य समेत नबनाएपछि विद्रोहको सट्टा उहाँले निस्क्रिय राजनीतिको बाटो रोज्न लाग्नुभएको बताइन्छ ।

पण्डितले सामाजिक सञ्जालमा उक्त स्टाटस लेखेपछि अधिकांशले आलोचना गरेका छन् । एक जना फेसबुक फ्रेण्ड उदय पुरीले विगतमा वरिष्ठ नेता माधव नेपालको आडमा पटक पटक मन्त्री भएको तर पछिल्ला दिनमा उनै नेपाललाई गाली गरेको श्राप लागेको भनेर लेखेका छन् । त्यसैगरी नमराज न्यौपानेले साइकल यात्राको शुभकामना भन्दै लेखेका छन्,‘माधव नेपाललाई गाली गरेको श्राप लाग्यो ।’

टिप्पणीहरू