‘बा’ का प्रियजनहरु पनि अवसरबाट बन्चित

‘बा’ का प्रियजनहरु पनि अवसरबाट बन्चित

नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिएका केही नेताहरु पनि नराम्रोसंग जिल्लिएका छन् । ‘आइ लभ यू केपी बा’ भनेरै राजनीतिक हाइट बनाएका ती नेताहरुमाथि अध्यक्षको नजर नपर्दा केन्द्रीय सदस्यबाट समेत बाहिरिनु परेको छ ।

महाधिवेशनको बन्दसत्र चल्दै गर्दा नेता विशाल भट्टराई राम्रै चर्चामा थिए । तर,हिजो मध्यराति अध्यक्ष ओलीले सर्वसम्मतिका लागि भन्दै घोषणा गरेको ३०१ सदस्यीय केन्द्रीय सदस्यको सूचीमा उनको नाम छैन । सचिवमा आकांक्षा राखेका भट्टराई केन्द्रीय सदस्यमासमेत नपरेपछि ओलीसँग असन्तुष्ट रहेको बताइन्छ ।

तिनै भट्टराईले बन्दसत्रमा अध्यक्ष ओलीले नयाँ नेतृत्वको नामावली घोषणा गर्ने र प्रतिनिधिले ताली बजाएर पारित गर्नुपर्ने ह्वीप लगा एका थिए । संसदीय दलको प्रमुख सचेतक बनेका भट्टराई केन्द्रीय सदस्यमा समेत नपरेपछि धेरैले आश्चर्य मानेका छन् ।

अध्यक्ष ओलीलाई खुशी बनाएर राजनीतिको कक्षा उक्लने प्रयासमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई ‘मार्सी’ पनि चितवनबाट खालि हात फर्किएका छन् । केन्द्रीय सदस्यको दावी गरेका उनको नाम ओलीले घोषणा गरेको ३०१ जनाको नामावलीमा अटेको छैन ।

यता,ओलीका विश्वासपात्र गोकुल बाँस्कोटा र महेश बस्नेतले पनि रोजेको पद पाएनन् । उनीहरु दुवैले सचिवमा आकांक्षा राखेको अवस्था थियो । तर,हिजो राति अध्यक्ष ओलीले सार्वजनिक गरेको पदाधिकारीको सूचीमा उनीहरुको नाम छैन । दुबैजना केन्द्रीय सदस्यमा सीमित बनेका छन् । एक जना सम्भवत: पोलिट्ब्यूरोमा उक्लने छन् ।

ओलीका अर्का विश्वासपात्र सुवास नेम्वाङलाई पनि वरिष्ठ उपाध्यक्षबाट तल पारिएको छ । कुनै पनि हालतमा वरिष्ठ उपाध्यक्षको दावीबाट पछि नहट्ने बताएका नेम्वाङले अन्तत: ओलीले प्रस्ताव गरेको उपाध्यक्ष पदमै चित्त बुझाएका छन् । महासचिवको चाहना गरेका विष्णु पौडेललाई पनि उपाध्यक्षमा लगिएको छ । शंकर पोखरेल ओलीको रोजाइमा परेपछि पौडेल कार्यकारी भूमिकाको महासचिव छोडेर उपाध्यक्षमा बस्न बाध्य हुनुभएको हो ।

टिप्पणीहरू