चीन पुर्याइएका माओवादी नेताको स्वास्थ्यमा सुधार

चीन पुर्याइएका माओवादी नेताको स्वास्थ्यमा सुधार

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । गत शुक्रबार बैंककबाट थप उपचारका लागि सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लगेर सोही दिनबाट उपचार थालिएको थियो । उपचार शुरु गरेको चौथो दिनमा नै स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको त्यहिँ रहनुभएकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिनुभएको छ ।

उहाँको उपचारमा तीन दर्जन भन्दाबढी चिकित्सकीय टोली खटिएको छ । पछिल्लो परीक्षणमा नेता पुनलाई सताएको विश्वमै बिरलै देखिनेखालको जण्डिस (बिलुरुविन) को मात्रा समेत घटेर १८ मा झरेको छ । यसअघि बैंककमा उक्त मात्रा २२ थियो । बिलुरुविन बढेपछि देखिएको वान्ता हुने,शरिर चिलाउने, निद्रा नलाग्ने, अरुची र शरिर सुन्निने जस्ता समस्यामा सुधार भएको छ ।

चिनियाँ चिकित्सकहरुले नेता पुनको अवस्था खतरामुक्त रहेकाले केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएको नेता पुनको पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिनुभएको छ ।

‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजोदेखि शरिर चिलाएको छैन, खान पनि थाल्नुभएको छ । सबैसँग कुरा गर्न थाल्नुभयो र अध्यक्ष प्रचण्डसँग हिजो बेलुकी भिडियो कल गर्नुभएको थियो । चिकित्सकले खतरामुक्त भएकाले छिट्टै नेपाल फर्कन सक्ने भनेका छन्,’ चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरिर सुन्निएर ७२ केजीको थियो अहिले घटेर ६७ केजीमा झरेको छ । दिसामा रगत देखिने समस्या पनि अहिले बन्द भएको छ ।’

वंशाणुगत जण्डिस रोग दोहोरिएपछि नेता पुनलाई असोज १३ गते बैंकक लगिएको थियो । नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा परीक्षण गराइएको थियो । त्योभन्दा पहिले भारतको एपोलो अस्पतालमा समेत उपचार गरिएको थियो ।

यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएको बेलामा उहाँको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएपछि सञ्चो भएको थियो ।

टिप्पणीहरू