मोरङ काँग्रेसको चुनाव दोहोरियो

मोरङ काँग्रेसको चुनाव दोहोरियो

-पूजा लम्साल

संस्थापन इतर पक्षका दुई जना उम्मेदवारहरु कोभन्दा को कम भन्दै चुनावमा होमिएपछि नेपाली काँग्रेस मोरङको सभापतिमा फेरि चुनाव गर्नुपर्ने भएको छ ।

जिल्ला कार्य समितिका लागि बिराटनगरमा आइतबार सम्पन्न चुनावमा उम्मेदवार बनेका एक जना प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका,एक जना पौडेल र कोइरालापक्षका,अर्का एक जना सिटौला पक्षबाट सभापतिको उम्मेदवार बनेकामध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मोरङमा फेरि चुनाव गर्नुपर्ने भएको हो ।

सभापतिका उम्मेदवारहरुमध्ये पौडेल–कोइराला समूहका डिकबहादुर लिम्बुले १ हजार ५ सय ४४ ल्याएका छन् । संस्थापन देउवापक्षका उम्मेदवार दिलिप गच्छदारले १ हजार १ सय ५९ र सिटौलापक्षका यदुकुमार विष्टले ५ सय ६३ मत ल्याएका छन् । काँग्रेसको विधानअनुसार निर्वाचनमा कम मत ल्याउने तेस्रो उम्मेदवारले अन्तिम निर्वाचनमा भाग लिन पाउँदैनन् ।

त्यसैले यदुकुमारले पुनः हुने मतदानमा सहभागी हुन नपाउने भएका हुन् । अब पौडेल–कोइरालापक्षका डिकबहादुर र देउवापक्षका दिलिप गच्छदार बीच पुनः चुनावी भिडन्त हुनेछ ।

हिजो बिराटनगरमा सम्पन्न मोरङ काँग्रेसको निर्वाचनमा १२ वटा प्रदेश निर्वाचन क्षेत्रका ३ हजार ४ सय ५५ मतदातामध्ये ३ हजार ४ सय १२ जनाले मतदान गरेका थिए । जसमा १ सय ४६ मत बदर भएको छ ।

सभापति पदमा पुनः निर्वाचन हुने भए पनि जिल्ला समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना भने धमाधम भरहेको छ । समितिको मतगणना सकिएपछि आज वा भोलि सभापतिका लागि पुनः चुनाव गराउने काँग्रेसको तयारी छ ।

काँग्रेसको मोरङ जिल्ला समितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र ५४ जना सदस्यसहित कुल ५९ जना रहने व्यवस्था छ । त्यसमा सात जना समावेशी कोटाबाट निर्वाचित हुने व्यवस्था छ । मोरङमा सम्पन्न पालिका, क्षेत्र, संघ र प्रदेश निर्वाचन क्षेत्रको मत परिणामले कोइराला–पौडेल पक्षलाई बलियो बनाए पनि स्वार्थ समूहको कारण इतर पक्षकै उम्मेदवारहरुबीच भीडन्त हुँदा देउवापक्ष चुनौती दिन सबल देखिएको छ ।

टिप्पणीहरू