एमालेमा मध्यराति उम्मेदवारी, अध्यक्षमण्डलकाे बैठक जारी

एमालेमा मध्यराति उम्मेदवारी, अध्यक्षमण्डलकाे बैठक जारी

एमालेले सहमतिको नाममा हिजो मनोनयन, आज मतदान र परिणाम घोषणा गर्ने निर्वाचन तालिका भर्खरै प्रकाशित गरेको छ । नेताहरु सहमतिको नाममा अहिले पनि बन्दसत्र हल बाहिर छलफलमा व्यस्त छन् ।

छलफल र निर्णय जति गरे पनि अध्यक्ष केपी ओलीको हातमा पदाधिकारी र केन्द्रीय पदाधिकारीको अन्तिम सूची अघिदेखि नै छ । अध्यक्षमण्डलकाे बैठक जारी छ तर उम्मेदवारी दर्ता गर्ने समय ताेकिइसकेकाे छ ।

यता, पार्टीको निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यक्रमअन्तर्गत ११ बजे मतदाता नामावली प्रकाशन भनिएको छ । तर, साढे ११ बजिसक्दा त्यो काम पनि भएको छैन । त्यसपछि १५ मिनेट मतदाता नामावलीप्रति दाबी बिरोध र ५ मिनेट उक्त दाबीबिरोधपछि सुधारको सूची सार्वजनिक गर्ने भनिएको छ । साढे ११ बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुने भनिएको छ ।

त्यसपछि साढे १२ बजेसम्म उम्मेदवारको फाराम वितरण, त्यहि बीचमा उम्मेदवारको नाम दर्ता गरेर राति १ बजे उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गर्ने पछिल्लो निर्वाचन तालिकामा उल्लेख छ ।

राति १ बजेदेखि उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गर्ने, दाबी बिरोध गर्ने, छानबिन गर्ने र अन्तिम सूची प्रकाशन गर्न पाँच मिनेटको फरक दिइएको छ । राति २ बजेर १० मिनेटमा उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्ने निर्वाचन आयोगले बताएको छ ।

भोलि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान, लगत्तै मतगणना र त्यसपछि मतपरिणामा घोषणा गर्ने कार्यक्रममा उल्लेख छ । निर्वाचन परिणामपछि प्रमाणपत्र दिएर अन्तिममा शपथ ग्रहण गराइने भनिएको छ । तर यी सबैको निम्ति पनि सहमति भइसकेको देखिँदैन । सहमति नभएका पदमा मात्र भोलि निर्वाचन हुने आयोगले बताएको छ ।

टिप्पणीहरू