​मन दुख्न कति बेर लाग्छ र

अनेक उपायले जोडिएका मधेशी दलहरू फेरि फुट्नेतिर अग्रसर छन् । यसले प्रदेश २ सरकारको भविष्यलाई धराप पार्दै लगेको छ भने भारतीय मध्यस्थतामा जुटे पनि उसको भूमिका नै धरापमा पर्न लागेको छ । 

महन्थ ठाकुरको नेतृत्व नफेर्न राजदूतले राजपा नेतालाई सुझाव दिएकै हुन् । तर ‘अब दूतावासले हामीलाई धेरै सघाउने स्थिति छैन, आफ्नै बुतामा अगाडि बढ्नु छ भने ओली सरकारसँगै समझदारी गरेर जानुपर्छ’ भन्दै राजेन्द्र महतो, महेन्द्रराय यादव, शदत्सिंह भण्डारी र राजकिशोर यादव एकातिर भएका छन् भने अर्को पक्षले जिल्ला भेला गरेर महन्थ नेतृत्वको पुरानो तमलोपा ब्युँताउने खेल चल्दैछ । त्यसमा सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लालहरू सक्रिय भएका छन् । महन्थको बुझाई छ, ‘आउने दिनमा संयुक्त नेतृत्वबाट पार लाग्दैन र मलाई सर्वसम्मत अध्यक्ष बन्न पनि दिँदैनन् । बरु, पछि चुनावी तालमेल गरेर एकठाउँमा बसौँला । अहिलेचाहिँ मिल्ने स्थिति भएन ।’

यसबीच, भारतीय राजदूत मञ्जिव सिंह पुरी जनकपुर पुगेर त्यहाँका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको आगमनलाई स्वागत गर्न सम्झाई–बुझाई गरेका छन् । लालबाबुले त्यसमा सहमति जनाएका छन् भने उनको पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि मौन समर्थन गरेको बताइन्छ । यसले गर्दा भारतसँगको सम्बन्ध राम्रो रहने र आफूमाथि अवगाल पनि नआउने उपेन्द्रको बुझाई छ । किनभने, २ नं. प्रदेश सरकारले स्वागत ग¥यो भने त्यो मधेसी दलहरूको संयुक्त सरकारको स्वागत हुन्छ । उक्त भ्रमणले उत्तर प्रदेश र बिहारका मतदाता प्रभावित हुन्छन् । किनभने, आदित्यनाथ विवाह पञ्चमीको साइत पारेर आउँदैछन्, सीताको वरियात (जन्ती) का रूपमा । यो भ्रमणका सिलसिलामा भारतबाट जनकपुर आइपुगेको रेलको उद्घाटनलगायतका कुनै पनि औपचारिक कार्यक्रम हुने छैन । विशुद्द धार्मिक यात्रा हुने बताइन्छ ।

भारतमा केन्द्र सरकार बन्नसक्ने मत आदित्यनाथको प्रदेश (युपी) सँग छ । त्यसपछिको अर्को निर्णायक प्रदेश हो, बिहार । त्यहाँ भाजपा र नितिशकुमारको गठबन्धन फेरि पनि कायम हुँदैछ । पञ्जाबमा कांग्रेस अगाडि आयो । राजस्थानमा भाजपाको हालत खराव छ । बंगालमा तृणमूल कांग्रेस सत्तारुढ छ । अयोध्यामा राम जन्मभूमि निर्माणको कुरा उठिरहेको छ भने यता सीताको माइतमा आएर आदित्यनाथले मतदातालाई केही सन्देश दिन खोजेको बुझिन्छ । ५४५ सदस्यीय भारतीय लोकसभामा उत्तरप्रदेशबाट मात्रै ८० जना र बिहारबाट ४० लोकसभा सदस्य निर्वाचित हुन्छन् ।

टिप्पणीहरू