न्यायपालिकाको समस्या सरोकारवाला निकायहरुले नै समाधान गर्ने : अध्यक्ष नेपाल

न्यायपालिकाको समस्या सरोकारवाला निकायहरुले नै समाधान गर्ने : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायहरुले गर्ने बताउनुभएको छ ।

आज नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै नेपालले न्यायपालिकामा देखिएको समस्यालाई सरोकारवाला निकायहरुले नै हल गर्ने बताउनुभएको हो ।

उहाँले उक्त विषय न्यायिक क्षेत्रको मात्र नभएर राज्यको नै प्रत्यक्ष सरोकारको विषय भएको पनि बताउनुभएको छ । अध्यक्ष नेपालले अदालतको विषयमा सरकारमा रहेका गठबन्धनका पाँच वटै दलले छलफल गरेको बताउँदै सरोकारवाला पक्षहरुलाई वार्तामा बसेर समाधान खोज्न आग्रह गरेको उल्लेख गर्नुभएको छ ।

न्यायपालिकाको समस्या लामो समयसम्म रहँदा देशको इज्जत र प्रतिष्ठा नै गुम्ने भएकाले यसलाई छिटो हल गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको अध्यक्ष नेपालको भनाइ छ । धेरैले समयमा न्याय पाउन नसकिरहेको गुनासो आएकाले छिटो समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि महाअभियोग लगाउन माग गर्दै नेपाल बार र कानुन व्यवसायीहरुले महिना दिन यता आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै उनीहरुले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना,नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ,लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण,जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईको ध्यानाकर्षण गराइसकेका छन् ।

टिप्पणीहरू