राति बन्दसत्र राखेर धाँदली गर्न खोजेको भीम रावलको आरोप

राति बन्दसत्र राखेर धाँदली गर्न खोजेको भीम रावलको आरोप

चितवनमा जारी एमाले महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले संस्थागत छलफल नगरी राति बैठक राख्ने निर्णयले धाँधलीलीको संकेत दिएको बताउनुभएको छ । निर्धारित समयमा बन्दसत्र नगरेर प्रतिनिधिलाई अलपत्र पारिएको उहाँको भनाइ छ ।

आज बिहान १० बजेदेखि शुरु हुने भनिएको बन्दसत्र साँझ सात बजेका लागि बोलाइएपछि रावलको यस्तो टिप्पणी आएको हो । उहाँले आफ्नो ट्वीटरमा लेख्नुभएको छ, ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउनु र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो । यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।’

निर्विरोध अध्यक्ष बन्ने कसरतमा रहनुभएका ओली आज दिनभर निकट नेताहरुसँग छलफलमा बसेपछि बन्दसत्र ९ घण्टा ढिलो हुने भएको हो । दिनभरको गृहकार्यपछि ओली निकट चार नेताले केन्द्रीय सदस्यको सूची ओलीलाई बुझाएको र त्यसैलाई अन्तिम रुप दिएर साँझ सात बजे शुरु हुने बन्दसत्रबाट पारित गर्ने तयारी गरिएको बताइएको छ ।

हिजोको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने एकल अधिकार सुम्पिएको थियो । त्यसलाई लिएर हलमै प्रतिवाद गर्नुभएका रावल भने निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्ने अडानमा हुनुहुन्छ ।

टिप्पणीहरू