एमाले महाधिवेशनमा सकिएन अझै भाँडभैलो

एमाले महाधिवेशनमा सकिएन अझै भाँडभैलो

चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अहिलेसम्म शुरु हुन सकेको छैन । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष केपी ओलीको प्रयासका कारण अहिलेसम्म शुरु हुन नसकेको हो ।

६ घण्टा कुरिसक्दा पनि बन्दसत्र शुरु नभएपछि महाधिवेशन प्रतिनिधिहरु अलमलमा परेका छन् । यता,नेताहरु भने बिहानैदेखि अनौपचारिक छलफलमा छन् ।

यसैबीच सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहनुभएका अध्यक्ष केपी शर्मा ओली आफ्नो कोर टीमका सदस्यहरुसँग छलफलमा बस्नुभएको छ । बिहानैदेखि विभिन्न पक्षसंग भेटघाट गरिरहनुभएका ओली अहिले कोर टीमका सदस्यहरुलाई आफू बसेको होटलमा बोलाएर छलफल गरिरहनु भएको छ । आफ्नै समूहका नेताहरु एउटै पदमा आकांक्षी बनेपछि दबाबमा पर्नुभएका ओली उनीहरुलाई आफ्नो प्रस्तावमा सहमत गराउने प्रयासमा रहेको बताइएको छ ।

कोर टीमका दुई सदस्य ईश्वर पोखरेल र सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको दावेदारी कायमै राखेका बेला पूर्वमाओवादी नेता रामबहादुर थापा बादलले पनि सोही पदमा रहर गरेको बुझिएको छ । ओली भने पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर बादल र नेम्वाङलाई उपाध्यक्षमा मनाउने प्रयासमा हुनुहुन्छ ।

मतदान प्रक्रियामा नगई,नोमिनेशन फाइल नगरी पदाधिकारी घोषणा गरिए निर्वाचन आयोग र अदालत जाने दुवै नेताको चेतावनी छ ।

नेम्वाङ्गले आफू वरिष्ठ उपाध्यक्षको दावेदारीबाट ब्याक नहुने सन्देश ओलीलाई पठाइसक्नु भएको छ । पार्टीमा ओलीबाहेक आफूभन्दा सिनियर नेता अर्को नभएकाले वरिष्ठ उपाध्यक्ष आफूले नै पाउनुपर्ने अन्यथा पद नै खारेज गर्नुपर्ने उहाँको प्रस्ताव ओलीसम्म पुगिसकेको छ । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत् नेम्वाङले ओलीलाई त्यस्तो प्रस्ताव पठाएको बुझिएको छ ।

आफ्नो सन्देशमा उहाँले अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए आफू चुनाव लड्ने प्रष्ट सन्देश पठाएको बताइएको छ ।

महासचिवमा पनि कोर टिमका दुई जना भिडन्तमा छन् । उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलको महासचिवमा दावी छ । ओलीले पोखरेललाई महासचिव प्रस्ताव गर्ने तयारी गर्नुभएको छ, तर पौडेल सहमतिमा आइसक्नु भएको छैन । ओलीले भने पौडेललाई उपाध्यक्षमा लैजाने तयारी गरेको बताइएको छ ।

ओलीले नाम प्रस्ताव गर्ने र त्यसलाई ध्वनिमतले पारित गर्ने तयारी गरिएको भन्दै अध्यक्षका उम्मेदवार भीम रावल र उपाध्यक्षका उम्मेदवार घनश्याम भुसालले त्यसलाई अस्वीकार गर्ने बताइसक्नु भएको छ । मतदान प्रक्रियामा नगई,नोमिनेशन फाइल नगरी पदाधिकारी घोषणा गरिए निर्वाचन आयोग र अदालत जाने दुवै नेताको चेतावनी छ ।

हिजोको बन्दसत्र हलले करिब २३ सय प्रतिनिधिको चुन्ने र चुनिने सार्वभौम अधिकार खोसेर अध्यक्ष ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार सुम्पिएको थियो । ओलीलाई दिएको उक्त एकलौटी अधिकारप्रति धेरै प्रतिनिधिले आपत्ति जनाइसकेका छन् । उनीहरु विधि,प्रक्रिया र पध्दति अनुसार नै नेतृत्व चयन गर्नुपर्ने अडानमा छन् ।

टिप्पणीहरू