क्रिक्रेटमा नेपालको सपना चकनाचुर

क्रिक्रेटमा नेपालको सपना चकनाचुर

नेपालको टी–२० महिला विश्वकप खेल्ने सपना अधुरै भएको छ । आज भएको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको निर्णायक खेलमा युएईविरुद्ध हार ब्यहोरे पछि नेपालको विश्वकप यात्रा टुंगिएको हो । जीतका लागि युएईले दिएको १ सय २८ रनको लक्ष्य भेट्टाउन नसक्दा नेपाल छनोट चरणबाटै बाहिरिएको हो ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाउँदा जवाफी ब्याटिङमा उत्रेको नेपालले भने १९ ओभर ४ बलमा सबै विकेट गुमाएर ७९ रन मात्र जोड्न सक्यो ।

युएईका लागि चानानी सेनेभिरत्नले सर्वाधिक ५२ रन बनाउँदा थिर्था सतिशले ४७ र काभिस एगोडेजले २२ रन जोडे भने नेपालका तर्फबाट इन्दर रानाले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

युएईलाई रोक्न नेपालबाट कविता कुँवरले २ तथा सबनम राई, सीता मगर र संगीता राईले १–१ विकेट लिँदा नेपाललाई हारतर्फ धकेल्न युएईका समिराले सर्वाधिक ४ विकेट तथा खुसी शर्मा र चामिनिले समान २ विकेट लिए । यस्तै, चाया मुगालले पनि एक विकेट हात पारिन् ।

योसँगै नेपालले युएईसँग ४८ रनको फराकिलो हार व्यहोरेको छ । एसिया छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्न नेपालले युएईविरुद्ध १० बल बाँकी छँदै लक्ष्य पूरा गर्नुपर्ने बाध्यता रहेको थियो ।

टिप्पणीहरू