​विकासका लागि भ्यू टावर

विराटनगरमा भ्यू टावर बन्ने खबरले विराटनगर महानगरपालिका खुसी छ । किनभने यो भ्यू टावर महानगरपालिका आफ्नै पहलमा बन्न लागेको हो । भ्यू टावर बन्न लागेकोमा महानगरवासी भने त्यति खुसी भएको रहेनछन् । धेरैले त्यसबारे गुनासो गरेको पाइयो । कसैले यसो पनि भने, महानगरमा गर्नुपर्ने काम अरू धेरै छन् तर महानगरपालिका त्यो सबैलाई छोडेर भ्यू टावर बनाउनतिर लागेको छ । के महानगरपालिकाले गर्नुपर्ने त्यति धेरै काम देखेनन् ?

वास्तवमा महानगरपालिकाले भ्यू टावर बनाउन लागेकै महानगर विकासका लागि हो । यति कुरा त बुझ्नुपर्ने हो । भ्यू टावर भन्ने नामैले थाहा हुन्छ, अवलोकन गर्नु । नगरको विकास गर्न सबैभन्दा पहिले त नगरमा के के काम गर्नुपर्ने रहेछ, कहाँ–कहाँ के–के बनाउनुपर्ने रहेछ त्यो त थाहा पाउनुप¥यो नि । भ्यू टावरमाथि चढेर अवलोकन गरेपछि त्यो सबै थाहा हुन्छ । कहाँ–कहाँ के–के बनाउनु पर्दोरहेछ माथि बसेर हेरेपछि थाहा हुन्छ । थाहा भएपछि बनाउन सकिन्छ । कहाँ के बनाउने हो थाहै नभएपछि बनाउने कसरी ? कुरो त यो नि  ! 

त्यसै चारपाँच अर्बजति लाग्छ पहिले भ्यू टावर बनाउन दिउँ । त्यसपछि त्यहीँ बसेर हेर्दै बनाउँदै गरौँला । विकास त त्यसै भइगयो नि । भन्नुपर्ला र ?

टिप्पणीहरू