कांग्रेसको कचकच

विजय गच्छदारले फेरि बाजी मारे । रामचन्द्र पौडेल कराएको करायै हुनुहुन्छ, गच्छदारचाहिँ उपसभापति भइछाडे । कांग्रेस छोडेर फोरम, फोरम फोडेर अर्को फोरम, पछि त्यो फोरम पनि छोडेर पुनः कांग्रेस । र, कांग्रेसमा पनि उपसभापति । यो हो नि त राजनीति भनेको । राजनीति त रामचन्द्र पौडेलले विजय गच्छदारबाटै सिकुन् ।

गच्छदार पार्टीको उपसभापति बनेपछि कांग्रेसमा पुनः रडाको मच्चिएको छ । तर, यस्तो रडाकोले पार्टीलाई कुनै हानि पुग्नेवाला छैन । किनभने अब कांग्रेसमा हानि पुग्नलाई बाँकी नै के छ र ? हानि हुनलाई हानि नभएको केही कुरा त चाहियो नि ! केही पनि नभएपछि के हानि हुनु ? चुनावमा त्यत्रो बेइज्जतपूर्वक हारी नै सके । योभन्दा ठूलो हानि अरू के होला ? केन्द्रमा मात्र होइन प्रदेशमा समेत एउटा सरकार गठन गर्न सकेको छैन । योभन्दा ठूलो हानि अरू के होला ?

वास्तवमा पार्टीभित्र जतिसुकै ठूलो रडाको मच्चिए पनि सभापति महोदय केही नबोली चुप बस्नुभएको मूल कारण यही हो । जेसुकै होस्, हुनेवाला त केही छैन । जब हुनेवाला केही छैन भने केही होला कि भनेर किन डराउने ? कसो ? 

टिप्पणीहरू