बागलुङका गाउँगाउँमा कर्मचारी भड्किए

बागलुङका गाउँगाउँमा कर्मचारी भड्किए

लामो समयदेखि न्यून परिश्रमिकमा काम गर्नुपरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् नगर कार्यसमिति, जमिनी नगरपालिका, बाग्लुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाएका छन् । विद्यालयका कर्मचारीहरुको न्यूनतम परिश्रमिक तोकिदिन माग गर्दै कार्यसमितिले मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आइरहेको उनीहरुको भनाइ छ । नेपाल सरकारले समय समयमा तलबमान निर्धारण गर्दा सोअनुसार तलब नपाइएको उनीहरुको आरोप छ ।

सामुदायिक विद्यालयका कर्मचारीलाई अन्य शिक्षकसरह शिक्षा ऐनमा व्यवस्था गरी दरबन्दी सृजना गरेर सोअनुसारको तलबमान र सेवासुविधा सुनिश्चित गरिदिन ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

देशभरका विद्यालय कर्मचारीहरु न्यूनतम पारिश्रमिक र सेवासुविधाको माग गर्दै आन्दोलित छन् । कर्मचारीहरूसँगै प्रारम्भिक बालविकास सहजकर्ता इसीडी शिक्षक पनि आन्दोलित छन् ।

यता, शिक्षामन्त्री देवेन्द्र पौडेलले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धित पालिकाहरूले अनिवार्य दिनुपर्ने बताउनुभएको छ । उहाँले श्रम मन्त्रालयले तोकेको मासिक १५ हजार रपैयाँ पारिश्रमिक अनिवार्य रूपमा पाउने घोषणा यसअघि नै गर्नुभएको थियो ।

टिप्पणीहरू