पर–पर भन्दै वर–वर प्रम

बुधबार लक्ष्मीपूजा, सोमबार फोन गरेर बिरामी प्रम केपी ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानलाई पूर्वनिर्धारित लक्ष्मीजयन्ती समारोह बालुवाटारमै आयोजना गर्न भन्नुभयो । 

अपराह्न १ बजे सबै पुगे तर प्रमचाहिँ २ बजेर १२ मिनेट जाँदा मन्दमुस्कासहित झुल्किनुभयो । डाक्टरले मान्छेको भिडमा नलैजानु भनेका थिए । जान दिने कि नदिने भनेर भित्र निकैबेर कुरा चल्यो । तर, प्रमले जाने जिद्दी गर्नुभयो । उहाँ अतिथिहरू भन्दा निकै पर बस्नुभयो । पत्नी राधिका पनि टाढै । रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कानुनमन्त्री भानुभक्त ढकाल, संस्कृति, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, प्रतिष्ठानका अध्यक्ष विजय सुब्बा सबै परपरै बसे ।

रमाइलो कुरा, भक्तराज आचार्य दम्पती बीचैमा कार्यक्रममा प्रवेश ग¥यो र छुट्टै कुनामा बस्यो । विजय सुब्बाले आचार्यलाई फूलको गुच्छाले स्वागत गरे । ओलीले फर्माइस गर्नुभयो, ‘जहाँ छन् बुद्धका आँखा’ र ‘हजार सपनाहरूको माया लागेर आउँछ’ जस्ता भक्तराजका कालजयी गीतको । भक्तराज जिब्रो नचल्नाले गाउन सक्दैनन् । छोराहरू हुन्, उनका गीत दुरुस्तै गाउने । ती पनि विदेशी कार्यक्रममा हिँडेका । त्यहीँ रहेका अरु कलाकारले प्रमको फर्माइस पूरा गरे । भावुक भक्तराज हर्षले सुक्क–सुक्क गर्दै आँसु पुछ्दै थिए ।

प्रमसँग नजिक नहुनू भनिए पनि केही मानिसहरू उनको नजिक पर्न पुस्तक दिन्थे । एडिसीलाई प्रम आफैँ बीचबीचमा बोलाएर उनीसँग साउती मारेर के–के भन्नुहुन्थ्यो । कार्यक्रममा प्रमले ‘देवकोटाजत्तिको ठूलो कवि जीवनमा कोही देखेको छैन’ भन्नुभयो । ‘साँढे’ कविता पढेपछि नलडी हुन्नँ, कोही विजेता भन्ने ज्ञान पाएकाले साहित्य छाडी राजनीतिमा आएको पनि बताउनुभयो । उहाँले मदनमणि दीक्षितको ‘माधवी’, राहुल सांकृत्यानको ‘सिंह सेनापति’ सँग विषयवस्तु र भाषा उस्तै रहेको टिप्पणी गर्दै बरु कालीदासको ‘अभिज्ञान शाकुन्तल’ बाट मौलिक नेपाली ‘शकुन्तला’ दिएको ठोकुवा गर्नुभयो । ‘सिगरेटको आगोले औँला पोल्दा पनि थाहा नपाउने देवकोटा सिगरेटबाटै बितेको’ भन्दै प्रमले सबैलाई सिगरेट देवकोटालाई चढाउन आग्रह गर्नुभयो । कार्यक्रम सकिएपछि प्रमलाई भेट्न निकै मान्छे मञ्चमा ओइरिए ।
दुवाल–बाँस्कोटा भिडन्त
ललितकला प्रतिष्ठानको कुलपतिमा वरिष्ठ इञ्जिनियर तथा कलाकार शंकरनाथ रिमाललाई पठाउने कुरा थियो । तर, सिफारिस समितिको सदस्यमा थन्क्याइयो । अहिले दरबारिया ठाकुरप्रसाद मैनाली र केके कर्माचार्यको कुरा चलेको छ । ठाकुर आफूले नपाए छोरा लयलाई प्राज्ञ बनाउन चाहन्छन् । सदस्य सचिवमा देवेन्द्र थुम्केलीको चर्चा छ । साहित्य एकेडेमीमा कुलपतिमा नाम चलेका राजेन्द्र सुवेदी अब उपकुलपति पाए पनि खान्छु भनी बसेका छन् । प्रम भने जगमान गुरुङलाई उपकुलपति बनाउन चाहन्छन् । सदस्य–सचिव ताक्ने देवी नेपाल र डा.हेमनाथ पौडेलको पनि ठूलो सम्भावना छ, प्राज्ञ परिषद् सदस्यमा । नरनाथ लुइँटेल पनि प्राज्ञ खोज्दै छन्, जसको नाम अघिल्लो पटक काटिएर अमर गिरीको नाम राखिएको थियो । भिक्टर प्रधानले पनि पहिले नाम काटिएर ‘भिक्टिम’ भएकाले यसपालि नाम चर्चामा राखेका छन् । नाट्य संगीत एकेडेमीको कुलपतिमा शम्भुजित बाँस्कोटाको चर्चा छ । रामकृष्ण दुवाल पनि कुलपतिमा खोज्दै छन् तर बाँस्कोटा उपकुलपतिमै आए भने पनि दुवाल कुलपति बन्न चाहँदैनन् ।

टिप्पणीहरू