ओलीलाई ‘बचाउन’ शिशु विधानको ‘सफाया’

ओलीलाई ‘बचाउन’ शिशु विधानको ‘सफाया’

-सुन्दरसिंह धामी

निकै तामझाम र तडकभडकका साथ गत असोजमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधान नेकपा एमालेले दुई महिनामै संशोधन गरेको छ । सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा रहेका केपी शर्मा ओलीलाई अनुकूल बनाउन छ हजारबढी प्रतिनिधि संलग्न विधान महाधिवेशनले पारित गरेको विधान अस्ति साँझ दुई सय जना केन्द्रीय नेता बसेर काटकुट पारिएको हो ।

एमालेको विधानमा एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाइने व्यवस्था छ । विधानको धारा ६४ (१) मा भनिएको थियो– पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन पाउने छैन ।

आठौँ र नवौँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बनिसकेका ओली चितवनमा जारी दशौँ महाधिवेशनमा तेस्रोपटक सोही पदमा उम्मेदवार बन्दैछन् । अध्यक्षमा दोहोरिने तयारीमा रहेका ओलीलाई उम्मेदवार बन्न विधानको व्यवस्था बाधक भएपछि अस्ति बन्दसत्रस्थल नजिकै बसेको केन्द्रीय समिति बैठकले संशोधन गरेको हो । संशोधित विधान बन्दसत्रबाट पारित भइसकेको छ ।

त्यसो त एमालेले विधान महाधिवेशनमा पनि ओलीकै लागि भनेर उमेर हदसम्बन्धी विधानको व्यवस्थामा अनुकूल व्याख्या गरेको थियो । नवौँ महाधिवेशनले ७० वर्ष पुगेको व्यक्ति कुनै पनि कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने विधानमा व्यवस्था गरेको थियो । तर, विधान महाधिवेशनमा त्यससम्बन्धी व्यवस्थालाई थप व्याख्या गर्दै निर्वाचित भइसकेपछि ७० वर्ष उमेर नाघे पनि पदमा रहन पाउने गरी सच्याइएको थियो ।

केपी ओली यही फागुनमा ७० वर्ष पुग्दैछन् । त्यसअघि नै महाधिवेशन गरेर पुनः अध्यक्ष बन्ने तयारीमा रहेका उनलाई अनुकूल हुने गरि विधानको धारा ६४ (२) को व्याख्यामा भनिएको छ, ‘निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ । तर, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी वहन गर्न बाधा पुगेको मानिने छैन ।’

विधान महाधिवेशनमा उमेर हदसम्बन्धी प्रावधानमा गरिएको संशोधनबारे प्रतिनिधिहरुले खासै वास्ता नगरे पनि यसपटक भने असन्तुष्टि जनाएका छन् । विधान बनेको दुई महिनामै कुनै व्यक्तिलाई लक्षित गरेर काटकुट गरिएको भन्दै बन्दसत्र हलमै केही नेताले असन्तुष्टि जनाएका थिए ।

टिप्पणीहरू