सौराहामा भीम रावलमाथि रोक

सौराहामा भीम रावलमाथि रोक

चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्षका उम्मेदवार भीम रावलको पक्षमा प्रचार गर्न रोक लगाएको छ । केही बेरअघि रावल पक्षधरले बाँड्न खोजिएको सबै पर्चा खोसिएको छ । रावलको प्रचारमा हिँडेका केही प्रतिनिधिको हातबाट स्वयंसेवकहरुले पर्चा खोसेका हुन् ।

रावल निकटहरुले ‘मेरो उम्मेदवारी किन ?’ लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावलपक्षका कार्यकर्ताहरुलाई रातो क्याप लगाएका स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न निर्देशन दिँदै हलभित्र पठाइएको छ ।

आजको बन्दसत्रमा अध्यक्ष केपी ओलीले सर्वसम्मत पदाधिकारीको नाम घोषणा गर्ने तयारी छ । तर, अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेका रावल कुनै हालतमा उम्मेद्वारी फिर्ता नगर्ने अडानमा छन् । अध्यक्ष ओलीले बलमिच्याईं गरे कानुनी उपचारमा गएर प्रतिवाद गर्ने उनले चुनौती दिएका छन् ।

टिप्पणीहरू