एक्लौटी घोषणा गरिए रावल अदालत जाने

एक्लौटी घोषणा गरिए रावल अदालत जाने

एमाले महाधिवेशनको बन्दसत्र थप पेचिलो बन्दै गएको छ । आफ्नो योजनामा सहमति जनाए एउटा पद दिने नभए पेलपाल गरेर अघि बढ्ने एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीको योजना चितवनको सौराहामा जटिल बन्दै गएको छ । पार्टीभित्र र बाहिर आफ्नो बिरोधी नरहेको सन्देश प्रवाह गर्न सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा निवर्तमान उपाध्यक्षले चुनौती दिएपछि ओली एकाबिहानै राप्ती नदी किनार भेटघाटमा हुनुहुन्छ ।

१० बजे शुरु हुने भनिएको बन्दसत्र थालिएको छैन । यसअघि पार्टी स्थायी समितिले पारित गरेको महाधिवेशन तालिकाअनुसार भएको भए अहिले प्रतिनिधिहरुले मतदान गरिरहेका हुन्थे । तर, यतिबेरसम्म मनोननयनको म पनि उच्चारण गरिएको छैन ।

यहीबीच रावल निकटस्थलहरुले महाधिवेशनमा चुनाव हुने बताउन थालेका छन् । स्वयम् रावलले नेतृत्वले बलमिच्याईं गरे कानुनी उपचारमा गएर प्रतिवाद गर्ने चुनौती सार्वजनिक रुपमा दिइसक्नुभएको छ ।

हिजो बिहान अध्यक्ष ओलीले आफ्नो तयारी गरेर उपमहासचिवको मुखबाट सर्वसम्मत नेतृत्व,पदाधिकारी र केन्द्रीय कमिटी एवम् आयोग सदस्यहरुको नामावली वाचन गर्ने योजना बनाउनुभएको थियो । त्यहि योजना सुनेपछि साँझ बन्द सत्रको हलमा रावल र घनश्याम भुसालले कडा प्रतिवाद गर्नुभएको बताइन्छ ।

हिजो बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले, ‘सहमति गरौं, जुन पदमा सहमति हुँदैन चुनाव गरौंला,मैले नार्ईं भनेको छैन,’ भने पनि चुनावी प्रक्रियाबाट नेतृत्व छनौट गर्न सबैभन्दा धेरै अनिच्छुक उहाँ स्वयम् देखिनुभएको आरोप छ ।

रावल निकट स्रोतले भनेको छ, ‘बाहिर भ्रम फैलाउँदै सबैलाई पद भाग लगाइएको कुरो आएको छ । यो सबै देखाउने दाँत हो । चपाउने दाँत अर्कै छ ।’ स्रोतले अगाडि भनेको छ, ‘भीम रावलका कारण अध्यक्षमा सर्वसम्मत नहुने हो भने केपी ओलीले अरुलाई सर्वसम्मति जुटाउने कुरै छैन । उहाँले आफ्नो लागि सोचेर सर्वसम्मतिको नारा लगाउनुभएको हो । अन्यथा अरुको निम्ति सहमति गरेर आफू चुनाव लड्ने उहाँको एक रत्ति चाहना होइन ।

हिजो साँझको बन्दसत्रमा सबैभन्दा धेरै जबर्जस्ती ओलीले गर्नुभएको रावल पक्षधरहरुको आरोप छ । ओलीले विधि,विधान र पार्टी सिद्धान्तप्रतिकूल हुने गरी बोल्दा पनि कोही चुँईंक्क नबोलेकोमा उनीहरुले दुःख मनाउ गरेका छन् । ‘फ्लोरबाट एक जना घनश्याम भुसालले हात खडा गरे, अरु सबै त्वम शरणम भइसकेका रहेछन्,’ सुदूरपश्चिमका एक जना प्रतिनिधिले जनआस्थासँग भने, ‘त्यसपछि भीम कमरेड जंगिनुभएको हो ।’

तर रावल बोल्दै गर्दा फ्लोरबाट नियोजित रुपमा हुटिङ गरिएको उनै प्रतिनिधिले बताए । हुटिङकै बीचमा रावलले भन्नुभएको शब्द उल्लेख गर्दै प्रतिनिधिले भने, ‘अराजकता भनेको यहि हो । अध्यक्ष कमरेडले हामीहरु शिष्ट र अनुशासित हुनपर्छ भन्नुभएको थियो,के यहि हो ?’

रावलले त्यति भनेपछि हुटिङ गर्नेहरु सामसुम भएका थिए । हिजो हुटिङ गर्नेमा खिमलाल भट्टराई र विशाल भट्टराईहरु भएको उनी बताउँछन् । ‘त्यसमा अरुले लोली मिलाएका थिए,’ रावल पक्षधर प्रतिनिधिले भने ।

अध्यक्ष ओलीको यत्रो हैकममा पनि रावल र भुसाल मात्र ठिंगो उभिएको भन्दै झण्डै अढाइ सय प्रतिनिधिले आफूहरुबीच म्यासेज आदानप्रदान गरेको बताइन्छ । जसमा लेखिएको छ, ‘ अरु त अरु १० भाइका बाँकी सबै लम्पसार परेछन् ।’

उनीहरुले मेसेज आदानप्रदानमा नेपालको वाम आन्दोलनमा सहानापछि अष्टलक्ष्मीलाई सबैले श्रद्दापूर्वक हेरे पनि हिजोदेखि उहाँको रुप देखिएको भनेर लेखेका छन् । ‘सुरेन्द्र पाण्डे,योगेश भट्टराई, गोकर्ण विष्ट सबैको हैसियत हिजोको बन्दसत्रमा देखियो । यिनलाई जसरी भए पनि आफूलाई पद पाए हुने रहेछ ,’ उनीहरुको निचोड हो यो ।

भीम रावलले ओलीलाई भन्नुभएको थियो, ‘यसै गर्नुभयो भने अहिले यहिँ पत्रकार सम्मेलन गर्छु र सर्वोच्च अदालत र निर्वाचन आयोगमा च्यालेञ्ज गर्छु ।’

रावल पक्षधरहरुको भनाई छ, ‘उनले आफूलाई प्रमाणित गरेरै छाडे । यो हाम्रालागि ठूलो कुरा भयो ।’ उनीहरुको भनाईमा रावलको संघर्ष व्यक्तिको लडाईं नभएर समूहको लडाईं हो ।

यसबीच ओलीले धेरैलाई आश्वासन दिनुभएको छ । उहाँले आश्वासन दिएकामा अष्टलक्ष्मी शाक्य पनि हो । उहाँलाई राष्ट्रपतिको अफर दिइएको चर्चा छ । त्यो सुनेपछि शाक्यले निर्विरोध र सर्वसम्मत गरौं भन्न थाल्नुभएको छ । उहाँसँगको भेटमा उपराष्ट्रपति चाहिँ सुवास नेम्वाङलाई बनाउने भनेर आश्वासन दिइएको थियो ।

शाक्यपछि नेम्वाङले ओलीलाई भेट्नुभयो । त्यो बेला पनि उहाँले राष्ट्रपति तपाईंलाई बनाउने भन्नुभएको थियो । तर नेम्वाङले म यस्तो उधारो कुरो मान्दिँन भनेपछि अध्यक्ष थप अप्ठेरोमा पर्नुभएको हो । उहाँले सबै आकांक्षीलाई एक एक गरेर बोलाउँदै आश्वासन दिनुभएको बताइन्छ ।

कतिसम्म भने अस्ति राति सुवासलाई अर्कै होटलमा बासको व्यवस्था गरिएको थियो । तर उहाँ पनि बाउँठिन थालेपछि राति अध्यक्ष बसेको होटलमै ल्याइएको छ ।

हिजोको बन्दसत्रको दुई घण्टाको सम्बोधनमा पनि ओलीले सबैलाई अहिले आत्तिनु पर्दैन भनेर थामथुम पार्न खोज्नुभएको थियो । उहाँले राजकीय पद धेरै भएकाले ढुुक्क हुन त्यसो भन्नुभएको हो । सम्बोधनमा ओलीले संघ,प्रदेश र पालिका सबैतिर एडजस्ट भइहालिन्छ भनेर आश्वस्त पार्नुभएको थियो । ‘उहाँको कुरा सुन्दा मानौं कि आगामी चुनावमा दुई तिहाइ बहुमत आउँछ भन्ने आत्मबिश्वास थियो,’ रावल निकट अर्का एक जना प्रतिनिधिले भने ।

यसबीचमा नेता रावलसँग अध्यक्षले कुनै पनि किसिमको सम्पर्क गर्नुभएको छैन । हिजो बन्द सत्रको क्रममा उहाँहरुबीच मञ्चमा मात्र भेट भएको हो । त्यहिबेला दुई जनाबीच कुरा हुँदा रावलले ‘तपाईं को सँग चुनाव लड्नुहुन्छ अब ?’ भनेर सोधेपछि ओलीले ‘म चुनाव लड्दिँन’ भन्नुभएको थियो । ‘त्यसो भए म सर्वसम्मत भएँ मलाई नै अध्यक्ष बनाउनुहोस्, ’ रावलले ओलीलाई आग्रह गर्नुभयो ।

‘तपाईंहरु कोही पनि चुनाव नलड्ने भनेपछि म उठ्छु भनेको छु,त्यसैले म सर्वसम्मत भइहालेँ,’ मलाई समर्थन गर्नुहोस् रावलको भनाई उद्धृत गर्दै मञ्चमा रहेका एक जना अध्यक्ष मण्डलका सदस्यले बताउनुभयो ।

हिजो रावलले ओलीलाई बन्दसत्रकै क्रममा एक्लौटी गरे अदालतमा च्यालेञ्ज गरिने जानकारी गराइसक्नुभएको छ । पार्टी विधानमा निर्वाचनको प्रक्रियामार्फत् जनवाद लागू गरेर कमिटी छान्ने भनिएको विषय बन्दसत्रकै क्रममा एक्लौटी गरे अदालतमा च्यालेञ्ज गरिने जानकारी गराइसक्नुभएको छ । पार्टी विधानमा निर्वाचनको प्रक्रियामार्फत् जनवाद लागू गरेर कमिटी छान्ने भनिएको विषयमा उहाँले अडान लिनुभएको हो । निर्वाचन मण्डलले गर्नुपर्ने नेतृत्व चयनको प्रक्रियालाई हावाको भरमा घोषणा गरेर नहुने उहाँको जिकीर छ ।

भीम रावलले ओलीलाई भन्नुभएको थियो, ‘यसै गर्नुभयो भने अहिले यहिँ पत्रकार सम्मेलन गर्छु र सर्वोच्च अदालत र निर्वाचन आयोगमा च्यालेञ्ज गर्छु ।’

त्यसैको प्रत्युत्तरमा ओलीले त्यसो होइन, सहमति गरौं । भएन भने चुनाव छँदै छ ।’ भने पनि व्यवहारमा कार्यान्वयन भएको छैन ।

निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजे भनिएको थियो । तर ११ बजे बजेसम्म केही प्रक्रिया अघि नबढ्नुको कारण आफ्नै गुटभित्रको समस्या सल्ट्याउन समय घर्काउन खोजिएको रुपमा बुझिएको छ ।

यसबीचमा ओलीको प्रस्तावबमोजिम उपाध्यक्ष भनिएका सुवास नेम्वाङले सहमति गर्नुभएको छैन । उहाँ नमान्नुको कारण शंकर पोखरेलाई जबर्जस्ती महासचिव बनाउन खोजिएको विषयसँग जोडिएको बताइन्छ । त्यो प्रस्ताव विष्णु पौडेललाई पनि मान्य देखिँदैन । त्यसैले विष्णु र पृथ्वीसुब्बा गुरुङको ब्याकिङ सुवासलाई भएपछि बालकोट समूहभित्र परेको गाँठो झन् कसिलो भएको हो ।

टिप्पणीहरू