पौडेल पक्षको समर्थनमा देउवाका उम्मेदवार सभापति निर्वाचित

पौडेल पक्षको समर्थनमा देउवाका उम्मेदवार सभापति निर्वाचित

संस्थापन इतर (रामचन्द्र पौडेल खेमा) ले पनि संस्थापन पक्षलाई समर्थन गरेपछि नेपाली काँग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । संस्थापन इतर सभापतिका अर्का प्रत्यासी भेषराज आचार्यलाई १ सय ६० मतले पराजित गर्दै खड्का सभापति बनेका हुन् ।

संस्थापनइतर मानिएका पार्टी सभापति हिमालय कर्माचार्यसमेतले खड्कालाई समर्थन गरेपछि सभापतिमा सड्काको जीत भएको हो । खड्काले ९ सय ३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७ सय ७५ मत पाएका छन् । एक हजार सात सय ३२ जना प्रतिनिधिले मतदान गरेका थिए । खड्कालाई सभापतिको उम्मेदवारी घोषणा गरेका अर्का पूर्व जिल्ला सभापति केशव थापाको समेत समर्थन थियो ।

जिल्लामा वडा,पालिका,प्रदेश र क्षेत्रीय समितिसम्म चार वटा प्यानलमा निर्वाचन भएको हो । संस्थापनइतर जिल्ला सभापति कर्माचार्य र भेषराज आचार्य तथा संस्थापन पक्षका डम्बर खड्का र केशव थापाको छुट्टाछुट्टै प्यानल थियो । चार वटा प्यानलको निर्वाचन भएको हो । चारै जनाले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । तर,निर्वाचनको पूर्वसन्ध्यामा कर्माचार्य र थापाले डम्बरलाई समर्थन गर्दै मनोनयन नगरेकाले खड्काले सहजै जितेका हुन् ।

जिल्ला सभापतिमा निर्वाचित खड्का १३ औं महाधिवेशनमा भने पहिलो चरणको निर्वाचनबाट बाहिरिएका थिए । दोस्रो चरणमा कर्मचार्य र भेषराज आचार्यबीच प्रतिष्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा कर्माचार्य जिल्ला सभापतिमा निर्वाचित भए । १४ औं महाधिवेशनमा जिल्ला सभापतिका लागि चार आकांक्षी थिए । डम्बर खड्का,भेषराज आचार्य,हिमालय कर्मचार्य र केशव थापाको सभापतिमा चर्चा थियो ।

उपसभापतिमा खगेन्द्र देवान र विष्णुकुमारी लिम्बु दाहाल निर्वाचित भएका छन् । उनीहरु भने आचार्य प्यानलका हुन् । देवानले ८ सय ७४ र दाहालले ७ सय ७८ मत प्राप्त गरेकी छन् । उपसभापतिमा पराजित केदार थापाले ७ सय ४७ मत र होम दुलालले ६ सय ९९ मत पाएका छन् । उनीहरु दुबैै जना खड्का नेतृत्वको गठबन्धनबाट उपसभापतिका प्रत्यासी थिए ।

सचिवमा पूर्णप्रसाद गौतम र निरोज खड्गी निर्वाचित भए । गौतमले ८ सय १९ र खड्गीले ७ सय ९३ मत प्राप्त गरे । गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको गठबन्धनबाट सचिव निर्वाचित भएका छन् । सचिवका प्रत्यासी विष्णु कार्कीले ७ सय २२ र हुकुमलाल थेवेले ७ सय १५ मत पाएका छन् । कार्की भेषराज आचार्य प्यानलबाट र थेवे खड्का नेतृत्वको गठबन्धनबाट सचिवमा चुनाव भिडेका हुन् ।

सहसचिवमा भने डालाकुमारी कार्की र देवेन्द्रकुमार सुवेदी चुनिएका छन् । ८ सय ६५ मत र सुवेदीले ७ सय ८१ मत पाएका छन् । कार्की खड्का नेतृत्वको गठबन्धन र सुवेदी आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन् । सहसचिवमा पराजित चक्र एक्तेन अभिषेकले ६ सय ६५ र ६ सय ३४ मत पाएका छन् ।

जिल्ला सदस्यहरुको मतगणना भने जारी छ । जिल्ला सदस्यमा नौ जना सर्वसम्मत भएका छन् । पालिकाहरुबाट चयन हुने अधिकाशं महिला सदस्य र केही पुरुष सदस्य जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन् । देउमाई नगरपालिकाबाट सावित्रा देवी श्रेष्ठ, माईनगरपालिकाबाट राधिका कार्की, चुलाचुलीकी विन्दादेवी बस्नेत, माइजोगमाईकी राममाया लिम्बु, सन्दकपुरकी सविता गुरुङ्ग, इलाम नगरपालिकाबाट रिना घिमिरे, सूर्योदय नगरपालिकाकी रजनी मुखिया महिला कोटाबाट निर्विरोध भएका हुन् । त्यस्तै चुलाचुलीका गणेशप्रसाद फागो, माङसेबङ्गुका नन्दकुमार राई जिल्ला सदस्यमा निर्विरोध भएका छन् ।

टिप्पणीहरू