​उमेर घर्केको आडमा…

ज्येष्ठ नागरिकलाई जस्तै कसुर गरेको भए पनि बन्दीगृहबाट मुक्त गर्ने कुरा मानवीय दृष्टिले त जायज हो, तर उमेर पाकेकै नाममा दण्डहीनताले कानुनी राजलाई कहाँ पु¥याउँछ ? सोचनीय विषय हो । नेपालमा जन्मकैदको सजाय भोगिरहेका सिरियल किलर चाल्र्स शोभराजको हकमा पनि ०७३ सालमा बनेको यस्तो मापदण्ड आकर्षित हुने खतरा बढेको छ । 

यसैमा टेकेर परेको एउटा रिटमाथि तिहार पर्वअन्तर्गत यमपञ्चकको पहिलो, अर्थात् काग तिहार (कात्तिक १९ गते) को दोस्रो दिन सर्वोच्च अदालतले १५ दिनभित्र उनी छुट्नु नपर्ने कारण माग गरेको छ । निहिता विश्वास नामक युवतीसँग नाटकीय वैवाहिक नाता कायम गरेपछि ‘सासू’ बनेकी अधिवक्ता, अर्थात् निहिताकी आमा शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष नाघिसकेको कारण देखाउँदै रिट दायर गरेकी थिइन् । नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरको आधारमा शोभराज छुट्नुपर्ने माग शकुन्तलाको छ । ०६० साल असोज २ गतेदेखि ०८० असोज १ गतेसम्म कैद भुक्तान गर्नुपर्नेमा पाँच वर्ष बाँकी हुँदै यस्तो रिट परेको हो ।

यसअघि नै गत वर्ष सर्वोच्च अदालतका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासबाट उनले केही वर्षको कैद अवधि छुट पाएका थिए । उक्त फैसलामा शोभराजले दुई हत्यामा २० वर्षका दरले ४० वर्ष कैद भुक्तान गर्नुपर्ने बाध्यता नभई दुवै मुद्दामा जम्मा २४ वर्ष कैद बसे हुने उल्लेख थियो । नेपालमा आई दुई विदेशी पर्यटकको हत्या गरेका कारण शोभराजलाई प्रतिहत्या २० वर्षका दरले सजाय गर्नुपर्ने वा नपर्ने भन्ने विवादमा सहुलियत प्रदान गर्ने फैसला थियो त्यो । ‘द सर्पेन्ट किलर’ को रूपमा कुख्याति कमाएका शोभराजले अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको ०३२ मा हत्या गरेका थिए ।
न्यायमा पहुँच हुनेको हकमा यस्तो छ ।

तर, न्यायालयको तालबाट कतिपय निरीह मधेसी पीडित मारमा परेका छन् । न्यायाधीश डेढ वर्षअघि नै अवकाशमा जाने, फाँटवाला अनेक बहानामा छुट्टीमा बस्ने कारण पहुँच नभएका विशेषतः तराईमूलका जनता प्रताडित हुँदै आएका छन् । 

त्यस्तै, ‘आजाद मधेस’ का नाममा पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएका सिके राउत समूहले छठ पर्वको अवसर पारेर ‘स्वराज मधेस’ को गीत गाउँदै भीडमा घुस्ने योजना बनाएको छ । राउत भने अहिलेसम्म प्रहरी हिरासतमै छन् । विप्लवचाहिँ मंसिर दोस्रो साता ५० हजार मान्छे भेला पारेर आफैं काठमाडौंको सभामा उपस्थित हुने तयारीमा छन् ।

टिप्पणीहरू