​दुवै देशबाट दौडेको दौड्यै « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

​दुवै देशबाट दौडेको दौड्यै

प्रकाशित मिति :  ३० कार्तिक २०७५, शुक्रबार १३:३९


हाम्रो देशको एउटा जिल्ला छ, जहाँ दुई छिमेकी देशका मानिस ताँती लाग्न थालेका छन् । यस्तो लस्करले कुनै दिन वरिपरिका नागरिकबीच झडप नै भएछ भने पनि अचम्म नमान्नुपर्ने स्थिति छ । 

जिल्ला हो, संखुवासभा । त्यहाँ अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्रतासाथ चलिरहेको छ भने त्यहीँ पर्ने तिब्बती सिमाना किमाथांका नाकादेखि धनकुटा, धरान, विराटनगरसम्मको ६ लेन सडक विस्तार गर्ने काम छ । अरुणको काम भारतीय कम्पनीले ठेक्का पाएको हुँदा उसले सम्हाल्ने नै भयो । चारथरी अलग–अलग कम्पनीले पाएका ठेक्काअन्तर्गत प्रतिकम्पनी दुई÷दुई हजारका दरले मान्छे ओसार्दा पनि भूमि नेपालको, मानिसचाहिँ काला वर्णका बढी हुने नै भए । यसरी आठ–दश हजार भारतीयको हुल त्यहाँ छिर्दै छ ।

यही बेला रुद्राक्षको सिजन चलेको छ । चार सयभन्दा बढी चिनियाँ नागरिक संखुवासभाका पाखा–पाखामा रुद्राक्ष संकलनका लागि कुदेका कुद्यै छन् । रूखरूखै कब्जा गरेका छन्, प्रतिबोटको ४० देखि ५० लाख तिरेर । होटल थोरै छन् र भएजति कुनैमा कोठा खाली छैनन् । लसुन–प्याजसमेत भारतबाट ओसारिन थालिएको छ । संखुवासभा जिल्ला अलैँची उत्पादनमा भने इलामपछिको दोस्रो हो । अरुण तेस्रोका लागि बनाइएको अस्थायी सडक छ तर भद्रगोल । नाम उसको भए पनि बाटोको प्रयोग सबैले गरेका छन् । मकवानपुरको कुलेखानीमा ड्याम बनाउन तयार पारिएको बाटो सार्वजनिक यातायातका लागि खुला गरिँदा त्यहाँ भएकाजस्तै अनेकन घटना, दुर्घटनाका समाचार पनि पूर्वबाट आउने खतरा बढेको छ । यस्तो स्थिति हालै अर्थमन्त्री डा.युवराज खतिवडाले पनि हेरेर आएका छन् । यसले मदन भण्डारी पहाडी लोकमार्गअन्तर्गत संखुवासभा, भोजपुर, खोटाङ खण्डको ठूलो हिस्सा छुन्छ र त्यसको पूर्वाधार पनि तयार भइरहेको छ ।

झापाको बाहुनडाँगी, पाटापुरदेखि डडेलधुरा सदरमुकामसम्म पुग्ने उक्त सडक निर्माणको डिपिआर अन्तिम चरणमा पुगेको छ । अरुण तेस्रो जलविद्युत् परियोजनाको प्राविधिक युनिटले तुम्लिङटारमा कार्यालय स्थापना गरी सतलज कम्पनीले काम गरिरहेको छ । दैनन्दिन आवश्यकताका प्रत्येक सामग्री भारतबाटै आयात गरिन्छ । यताचाहिँ खायो, पियो र फोहोर फाल्यो मात्रै । यसबाट स्थानीय किसान र व्यापारी लाभान्वित छैनन् । पावर हाउस, मेकानिकल, हाइड्रो, इलेक्ट्रिकल र टनेलका काम पटेल इन्जिनियरिङ, जयप्रकाश एसोसिएट्सहरूले डाइभर्सन, इन्टेकसहित जोडेरै गरिरहेका छन् । जयप्रकाश एसोसिएट्सले २०१७ सेप्टेम्बर २२ मा ११ सय २१ दशमलव ७१ करोड भारुको ठेक्का पाएको हो । २०१८ को मार्च १९ मा पटेल इन्जिनियरिङले ११ सय २५ दशमलव ८७ करोडको ठेक्का हात पारेको छ । उसले पावर हाउस र ट्रान्समिसनको काम पाएको हो । त्यस्तै ओम मेटल्सले काम पायो, २०१८ अप्रिल ११ मा । एक सय ५६ दशमलव ५८ करोडको भेल कम्पनीले मेकानिकल र इलेक्ट्रिकल काम पायो २०१८ अप्रिल ३० मा पाँच सय ३५ दशमलव ९७ करोडको । यसरी चार ठेकेदार अलग–अलग छन् । तिनले प्रतिकम्पनी दुई हजारसम्मको जनशक्ति पारिबाटै ल्याउँछन् । त्यसरी काममा आउनेमध्ये इञ्जिनियरले दुई–तीन लाख तलब खान्छन् । जबकि, नेपाली इञ्जिनियरलाई नै काम दिइने हो भने महिनावारी ५०–६० हजारमा आरामले काम गर्थे । तर, खाद्यान्नदेखि रोजगारीसम्म भारतबाटै ओसारिँदै छ ।

उता, संघीयताले ठाउँ सुकाउँछ भन्ने कुरा लागू भएको छ, सँगैको भोजपुरमा । भोजपुरको कुनै बेलाको सबभन्दा व्यस्त बजार टक्सार अहिले सुनसान छ । टक्सार, जहाँ राणाकालदेखि नै पैसा (सिक्का) र भाँडाकुँडा उत्पादनमा प्रख्यात थियो । बालागुरु षडानन्दले शिक्षाको प्रचार गरेको दिङ्ला, न्यायकी अग्रणी योगमायाले १९९८ सालमा ७४ वर्षको उमेरमा अनुयायीसँग अरुण नदीमा हामफालेर समूहिक आत्मदाह गरेको त्यहीँ । तर, आज भोजपुर सुनसान छ । त्यसमाथि अहिले राष्ट्रपति विद्या भण्डारीदेखि १ नं. प्रदेशका मुख्यमन्त्री भोजपुरकै युवा छन्, शेरधन राई । तर, जिल्ला रित्तो छ । तनहुँ सदरमुकाम बन्दिपुरबाट दमौली सरेपछि लामो समय बन्दिपुर अस्तव्यस्त रह्यो । अहिले पर्यटनले उकासिएको छ । त्यसैले केही सम्भावनाको खोजी र तदारुकता भए एक जमानाको चर्चित बस्ती टिक्ने, नभए हराउने अवस्था छ, संघीयतामा पनि ।


प्रतिक्रिया दिनुहोस !