कोरोना मासिएकै होला त ?

कोरोना मासिएकै होला त ?

हिजो एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहलाई हेर्दा लाग्छ- मुलुकबाट कोरोनाले कुलेलम ठोकिसक्यो । लाखौं मानिसको भीडमा दूरी कायम भन्ने कुराको कुनै अर्थ रहेन । अधिकांशले मास्क लगाएको पनि देखिएन । अरु त अरु मञ्चमा पुगेपछि स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओली मास्क खोलेर सोफामा बस्नुभएको थियो ।

कोरोना महामारीका कारण छिमेकी चीनदेखि युरोपसम्मका राष्ट्रले कडा सजगता अपनाएका छन् । भारतमा पनि संक्रमणदर बढ्दो छ । कतिपय देशले पुनः लकडाउनको तयारी गरेका छन् । हिजोदेखि दक्षिण अफ्रिका र हंगकंगमा कोरोनाको नयाँ भेरिएन्ट फेला परेको छ । विश्व स्वास्थ्य संगठनले आवश्यक सतर्कताको चेतावनी दिएको छ । तर,हामी भने निस्फिक्री पाराले भीड जुटाउँदैछौँ । सावधानीलाई पूर्ण बेवास्ता गरेका छौं । हिजो नारायणगढ र आज सौराहामा पनि त्यस्तै भीड देखिएको छ ।

सरकारी निकायले भने आवश्यक सजगता अपनाउन विज्ञप्ति र सूचना जारी गरेर झारा टार्दै आएको छ । अनुगमन भनेको सर्वसाधारण र व्यक्तिलाई मात्र हो,राजनीतिक दल र नेताको निम्ति होइन भन्ने सन्देश बलियो हुँदै गएको छ ।

छिमेकी चीनले केही समयअघि कोरोना संक्रमणको तीन वटा केस फेला परेपछि सम्बन्धित प्रान्तमा लकडाउन गरेको थियो । तर, नेपालमा संक्रमणदर र मृत्युदरमा खासै कमी नआउँदा पनि हाम्रो लापरवाहीले आकाश छोएको छ ।

पछिल्ला दिन अनिवार्य अवस्थामा मात्र कोरोना परीक्षण गर्न थालिएको छ । सबैले यसलाई सामान्य रुघाखोकीको रुपमा लिएका छन् । खुल्ला सिमानाबाट भित्रिएका नेपाली र भारतीय नागरिकको खोप र संक्रमणको अवस्थाबारे कुनै अभिलेख राखिएको देखिँदैन । विमानस्थलमा जेनतेन देखिएको रोकथामको प्रयास भारतसँग जोडिएका कुनै पनि नाकामा छैन ।

मुलुकमा अहिलेसम्म झण्डै १२ हजार जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । संक्रमणबाट निको भएकाहरुमा गम्भीर खालका अन्य रोगको समस्या देखिन थालेका छन् । दुई वर्षदेखि विद्यालय,शैक्षिक संस्थाहरु ठप्प छन् । विद्यार्थीको अध्ययन र अध्यापन कार्य चौपट छ । सबै खालका व्यवसाय धरापको अवस्थामा पुगेका छन् । तर पनि उच्च राजनीतिक तहबाटै कोरोना महामारीसँग खेलाँची गर्न थालिएको छ ।

महामारी रोकथामको निम्ति सरकारले मापदण्ड तोकेको छ । हिजोको महाधिवेशन उद्घाटनस्थलमा उक्त मापदण्डको धज्जी उडाइएको छ । २०७६ साल चैतमा मुलुकमा एक जना संक्रमित भेटिँदा केपी ओलीको सरकारले नै लकडाउन गरेको थियो । २०७६ साल चैत ११ गते पहिलो पटक त्यही सरकारले लकडाउन गरेको हो ।

गत वैशाख १६ गते दोस्रो पटक पुनः लकडाउन पनि केपी सरकारले नै गरेको हो । सत्तामा छँदा महामारी रोक्न लकडाउनको आवश्यकता देख्ने राजनीतिक दलहरु विपक्षी भएपछि फुक्काफाल हुनु कति जिम्मेवार ? कोरोना र महामारीले पनि सत्तापक्ष र प्रतिपक्ष भनेर बाँकी राख्ला र ?

टिप्पणीहरू