एक मत आए पनि अध्यक्षमै लड्ने हो : भीम रावल

एक मत आए पनि अध्यक्षमै लड्ने हो : भीम रावल

एमाले १० औं महाधिवेशनको बन्दसत्र आज बिहानबाट चितवनको सौराहामा शुरु भएको छ । हिजो राति बसेको केन्द्रीय समितिको अन्तिम बैठकले दुई महिनाअघि ललितपुरमा छ हजार जनाको उपस्थितिवीच बसेको विधान महाधिवेशनले तय गरेका कतिपय प्रावधानलाई संशोधन गरेको छ ।

सर्वसम्मत अध्यक्ष र पदाधिकारी चयनको आकांक्षा राख्नुभएका अध्यक्ष केपी शर्मा ओलीले हिजो राति विधान संशोधन गराउनुभएको हो । यसअघिको १५ सदस्यीय पदाधिकारीलाई अब १९ पुर्याइएको छ । २ सय २५ सदस्यीय केन्द्रीय कमिटीलाई ३ सय १ र यसअघि हटाइएको पोलिटब्युरोलाई ९९ सदस्यीय बनाएर ब्युँताइएको छ ।

अनुशासन आयोग,निर्वाचन आयोग र लेखा आयोगलाई २५ सदस्यीय बनाएर पुराना र कम सक्रिय कमरेडलाई थन्क्याउने ठाउँको तर्जुमा गरिएको छ । सबैभन्दा धेरै रस्साकस्सी हुने देखिएको उपाध्यक्ष पदलाईद्क्सुकेक्स्फ्न्ब वरिष्ठ एक जनासहित सात बनाइएको छ । उपमहासचिव पद पनि तीन कायम गरिएको छ ।

उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्ष पदको बार्गेनिङ गरेको निश्कर्षमा बालकोट निकटस्थहरु पुगेकाले पनि उपाध्यक्ष पद बढाइएको बताइन्छ । अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललाई समेत त्यसैमा एडजस्ट गर्न खोजिएको छ ।

वरिष्ठमा भने एमालेको लिगेसी कायम राखेको देखाउन महासचिव ईश्वर पोखरेललाई अघि सारिएको छ ।

महासचिवमा यसअघिका उपमहासचिव विष्णु पौडेललाई निश्चित गराएर अन्यलाई उपमहासचिवमा राख्न लागिएको हो । महासचिव दाबी गर्दै आएका शंकर पोखरेल,प्रदीप ज्ञवालीलाई उपमहासचिव बनाइने लगभग पक्का देखिएको हो । त्यसैगरी यसअघि माधव नेपाल प्यानलको उम्मेदवार भए पनि महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई पनि उपमहासचिव सुरक्षित राखिएको भन्न थालिएको छ ।

सचिवमा माओवादीतर्फबाट टोपबहादुर रायमाझी,महिलाबाट राधा ज्ञवाली र १० भाइको तर्फबाट योगेश भट्टराई रहनेछन् । यसअघिका सचिव भीम आचार्यको व्यवस्थापनसम्बन्धमा अध्यक्ष ओलीलाई हाइसञ्चो भएको छ । कोरोना संक्रमित आचार्य न महाधिवेशनस्थलमा छन् न उम्मेदवार नै बन्न सक्नेछन् । अघिल्लो महिना ६१ दिनको मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भएका उनलाई अरुलेभन्दा सचिव बन्न कोरोनाले छेकिदिएको छ ।

यसअघिका उपाध्यक्ष युवराज ज्ञवालीलगायतका नेताहरुलाई विभिन्न आयोगमा समेट्ने तयारीका साथ सबै आयोगलाई २५ सदस्यीय बनाइएको छ ।

यसैबीच सर्वसम्मत आफू र नेतृत्व चुनिएर शक्तिशाली अध्यक्ष बन्ने आकांक्षा राख्नुभएका केपी शर्मा ओलीको पछिल्लो प्रयासलाई उपाध्यक्ष भीम रावलले जित्छु भनेर हैन कि निर्विरोध हुन नदिन चुनौती दिएर छाड्ने भएका छन् । रावलले एक मत प्राप्त भए पनि अध्यक्षमा प्रतिस्पर्धा गरेरै छाड्ने बताएको खबर बाहिरिएको छ ।

रावलका प्रेस संयोजक एकीन्द्र कुँवरले पनि उक्त खबरको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘एक मत आए पनि उहाँ अध्यक्षमा नै लड्ने हो ।’

टिप्पणीहरू