इच्छाराजलाई पौने ६ अर्ब दण्ड र ७ वर्षमा थप डेढी कैद

इच्छाराजलाई पौने ६ अर्ब दण्ड र ७ वर्षमा थप डेढी कैद

सिभिल सहकारीका निक्षेपकर्तालाई ठगेर बैंकर तथा घरजग्गा व्यवसायी बनेका इच्छाराज तामाङ र उनको समूहमाथिको अनुसन्धान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले झण्डै दुई महिना लगाएर गरेको अनुसन्धानको अन्तिम प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।

प्रहरीको अनुसन्धानले तामाङ र उनको समूहले संगठित अपराध र ठगी गरेको निश्कर्ष निकालेको हो । जसअनुसार तामाङसँग ५ अर्ब ६३ करोड रुपैयाँ बिगो र ८ वर्ष कैद माग गर्नुपर्ने सिफारिस गरिएको छ । संगठित अपराधमा उक्त बिगो रकम र कैदको अवधिमा थप डेढी माग हुनेछ ।

सम्भवतः आगामी साताभित्र सरकारी वकिलको कार्यालयले आवश्यक अध्ययनपछि उक्त मागदाबीको सिफारिसलाई थपघट गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।

तामाङसहित १२ जनाको टोली प्रहरी हिरासतमा छ । १० जना पुरुषलाई महाराजगञ्जस्थित ब्युरोको हिरासत कक्षमा राखिएको छ । दुई जना महिलालाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । उनीहरु सबैसँग बिगो रकम र कैद समयको माग दाबी गरिएको बताइन्छ ।

तामाङको टोलीले सिभिल सहकारी संस्थाका झण्डै दुई हजार जना निक्षेपकर्ताको सात अर्ब रुपैयाँ हिनामिना गरेको हो । त्यसमा सहकारीका कर्मचारी,व्यवस्थापक, सञ्चालक र ऋण समितिका पूर्वसंयोजक समेत छन् । उनीहरु सबैको मिलेमतोमा सर्वसाधारणको रकम हिनामिना गरिएको हो ।

हिनामिना गरिएको रकममध्ये धेरै तामाङले र केही मात्र अन्यले प्रयोग गरेको अनुसन्धानको क्रममा खुलेको छ । उनीहरुले विभिन्न स्थानमा जग्गा प्लटिङ, क्रसर उद्योग, सेयरमा लगानी गरेको देखिन आएको बताइन्छ ।

टिप्पणीहरू