एमाले नेताहरुले मत माग्न थाले धमाधम

एमाले नेताहरुले मत माग्न थाले धमाधम

महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएलगत्तै एमाले नेताहरुका उम्मेदवारी सार्वजनिक हुन थालेका छन् । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन हुने घोषणा गरेको केही मीनेट नबित्दै आकांक्षीहरुले भोट माग्न शुरु गरेका हुन् ।

यसअघि नै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलको निम्ति भोट मागिएको पोष्टर सार्वजनिक भएको छ । रावल निकटहरुले राष्ट्रियताको रक्षा र वाम एकताका लागि भन्दै रावललाई भोट मागिएको उक्त पोष्टर सञ्जालभरि ब्यापक बनाएका छन् । रावलको फोटो अंकित पोष्टरमा लेखिएको छ, ‘राष्ट्रियताको रक्षा र वाम एकताका लागि दशौँ महाधिवेशनमा डा. भीम रावललाई अध्यक्ष पदमा अत्यधिक बहुमतले विजयी गराऊँ !’

रावलले सर्वसम्मत अध्यक्ष हुने ओलीको प्रयासलाई चुनौती दिँदै केही दिनअघि रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेका थिए । आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पार्दै उनले आफू अध्यक्षमा निर्वाचित भए सबै वामपन्थी र राजनीतिक दलसँग वार्ता गर्ने बताएका छन् ।

बिराटनगरका ओली पक्षीय अर्का नेता गुरु बरालले पनि भोट माग्न थालेका छन् । सचिव पदमा उम्मेदवारी दिएका उनको पक्षमा भोट मागिएको पोष्टर सामाजिक सञ्जालमा यत्रतत्र पारिएको छ । बरालले चार बुँदे प्रतिवध्दतासमेत सार्वजनिक गरेका छन् । केही दिन पहिले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हिरा केसीले पनि भोट माग्न शुरु गरेका छन् । केसीको फोटो अंकित ब्यानरमा ‘गण्डकीका हिरा,एमालेको मोति -केन्द्रीय सदस्यका उम्मेदवार हिरा केसी’ भनेर प्रचार गरिएको छ ।आकांक्षीहरुले भटाभट उम्मेदवारी घोषणा गर्दै भोट माग्न थालेपछि ७० करोड काण्डमा मुछिएर मन्त्री पद गुमाएका गोकुल बाँस्कोटाले आफूलाई पनि उम्मेदवार बन्न रहर लागेको बताएका छन् । ‘धेरै कमरेडहरु भटाभट उम्मेदवारी घोषणा गर्दै पो रहेछन त् ! जे त होला म पनि गर्दिम कि जस्तो लाग्न थाल्यो,’ उनले सञ्जालमा लेखेका छन् ।

बाँस्कोटा सचिव पदका आकांक्षी हुन् । तर उनले अहिलेसम्म आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छैनन् । ओलीको संकेत नमिल्दासम्म आकांक्षा प्रकट गर्न नहुने मनोविज्ञानका कारण उनले उम्मेदवारी घोषणा गर्न नसकेको बताइन्छ ।यता,एमाले महाधिवेशन अध्यक्ष ओलीमा केन्द्रित भएको आरोप लागिरहेका बेला हाँस्यकलाकार मनोज गजुरेलले पनि त्यस्तै आशयको टिप्पणी गरेका छन् । ‘महाधिवेशनमा ओलीलाई चुनौती दिन पाइन्छ तर त्यसपछि बसिखान चाहिं पाइँदैन’, उनले आफ्नो फेसबुकमा लेखेका छन् ।एमालेमा अध्यक्षसहित १५ केन्द्रीय पदाधिकारी सर्वसम्मत चयन गर्नेमा अध्यक्ष ओलीको जोड छ । तर,उहाँ पक्षधर नेताहरु नै एउटै पदका आकांक्षी देखिएपछि निर्वाचनबाटै नेतृत्व चयन हुने अवस्था बनेको छ । आज उद्घाटन सत्रको सम्बोधनमा पनि ओलीले सर्वसम्मत नेतृत्व चयन हुने दावी गरेका थिए ।आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा भोलि उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । पर्सि विध्युतीय मेसिनद्वारा मतदान गरेर त्यहि दिन परिणाम घोषणा गर्ने निर्वाचन समितिको तयारी छ ।

टिप्पणीहरू