दिदीको दिल साह्रै दुःखेपछि…

‘प्लिज दिदी प्लिज, गल्ती भयो । तर हजुर बसिदिनुपर्छ’ यसो भनेर आग्रह गरिँदै थियो, तर उनले भनिन्, ‘हैन–हैन, म जान्छु, कार्यक्रम राम्रोसँग गर्नुहोला…!’ 

यस्तो कार्यक्रम थियो, विशुद्ध सांगीतिक र मनोरञ्जनात्मक । तर, विवाद चल्यो सरकारी मर्यादाको । शम्भुजित बाँसकोटाको साँगीतिक यात्रामा ५० औँ स्वर्णउत्सवको अवसर पारेर होटल सोल्टीमा सोमबार साँझ आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएकोबारे ३ नं. प्रदेश प्रमुख रहेकी समाजसेवी अनुराधा कोइराला बम्किएकी हुन् । आसनग्रहणको क्रममा मात्रै चाल पाइन्, आफू विशेष वा विशिष्ट नभएर मात्र सामान्य अतिथिका रुपमा बोलाइएको । सरकारले जारी गरेको वरियता सूचीमा प्रदेश प्रमुख सातौँ नम्बरमा उल्लेख गरिएको छ भने त्यही लहरमा उपप्रधानमन्त्रीलाई राखिएको छ । यस्तो आसन ग्रहणलगत्तै अनुराधाले नजिकै रहेका शम्भुजितका सहयोगी तथा वरिष्ठ चलचित्र प्राविधिक नरेन्द्र खड्कालाई बोलाएर भनिन्, ‘मलाई बस्न अलिक अप्ठेरो भयो । कार्यक्रम एकदम राम्रो छ । बस्न मन पनि थियो । तर, प्रोटोकल बिग्रिएर समस्या भयो । अप्ठेरो नमान्नुहोला, मचाहिँ जान्छु है !’ यस्तो कुरा सुन्नासाथ नरेन्द्र पसिना–पसिना भए । शम्भुजितलाई खुसुक्क सुनाए । यसपछि आत्थु–आत्थु भए शम्भुजित । उनी उठेर ‘दिज्यू–दिज्यू’ भन्दै अनुराधालाई थम्थम्याउन थाले । धेरैबेर अनुराधाले ‘हैन, हैन’ भन्दै थिइन् । शम्भुजितले कमि स्वीकारे । आइन्दा त्यस्तो नहुने कसम पनि खाए । तर, पनि अनुराधाले ‘हैन, मैले नराम्रो केही सोचेको छैन । तपाईंहरुले पनि ख्याल नगरेर हो, नियतवस होइन भन्ने बुझेँ, तर म जान्छु है’ भनिन् । शम्भुजित हात जोडेको जोड्यै थिए । धेरै आग्रहपछि बल्ल उनी आफ्नो प्रदेशमा बस्न राजी भइन् ।

सरकारले पोहोर माघमा सार्वजनिक गरेको वरियताअनुसार प्रदेश प्रमुखलाई सातौँ वरियतामा राखिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिपछि यो पदको व्यक्ति रहने व्यवस्था छ । त्यही वरियताक्रममा प्रतिनिधिसभामा विपक्षी दलका नेता, नेपाल सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख, संविधानसभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रिय सभाका पूर्वअध्यक्ष रहने व्यवस्था छ । तर प्रदेशप्रमुख अनुराधालाई आयोजकले बुझाउन नसकेको कुराचाहिँ के हो भने अहिले ईश्वर पोखरेल व्यक्ति नभएर सिंगै देशका कार्यवाहक प्रधानमन्त्री हुन् ।

टिप्पणीहरू