उत्तर कोरिया,जहाँ बालवालिकालाई देउता ठानिन्छ

उत्तर कोरिया,जहाँ बालवालिकालाई देउता ठानिन्छ

उत्तर कोरियाले नोभेम्बर २० लाई बाल स्वास्थ्य दिवसको रुपमा मनाउँदै आएको छ । उक्त दिन मुलुकभरको बालगृहमा रहेका बालबालिकाको हेरचाह र प्रबन्धको बारेमा विशेष जानकारी गराउने गरिन्छ ।

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा बालबालिकाको स्याहार र पालनपोषणको निम्ति समाजवादी प्रणाली स्थापना गरिएको छ । जसअन्तर्गत सबै साना बालबालिकालाई राज्यले निःशुल्क बालकक्ष र बालगृहमा भर्ना गरेर हुर्काउँदै आएको छ । यसनिम्ति कोरियाले सन् १९७६ मा सोसम्बन्धी कानुन तर्जुमा गरेको थियो भने सन् १९९९ मा आवश्यक परिमार्जन गरेर लागु गरेको हो ।

६ परिच्छेद र ६० दफा रहेको कानूनमा बालबालिकाका लागि बालकक्ष तथा बालगृह निर्माण, खाद्यान्न तथा अन्य खाद्यवस्तुको आपूर्ति,लत्ताकपडा,जुत्ता तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति,बालबालिकासँग आमाको विशेष सुरक्षाबारे बाध्यकारी व्यवस्था गरिएको छ ।त्यसैगरी तिनका लागि पोषण र चिकित्सा सेवा,शिक्षकहरूको उपचार, बालगृह र अनाथालयहरूको संगठन र सञ्चालन तथा आवश्यक मार्गदर्शन,व्यवस्थापन र आपूर्ति प्रणालीबारे विस्तृत रुपमा कानुनमा समेटिएको बताइन्छ ।

बिक्रम सम्वत २०५० जेठ ३ को दासढुङ्गा घटनालगत्तै उत्तर कोरियाले यस्तै बालबालबालिकासम्बन्धी शिविरमा जननेता मदन भण्डारी र जीवराज आश्रितका स-साना छोरीहरुलाई लगेको थियो ।

प्रजातान्त्रिक कोरियाका प्रत्येक शहर र काउन्टीमा खाद्य पदार्थ आपूर्ति स्टेशन राखिएको छ । ती स्टेशनले स्थानीय बालकक्ष र बालगृहहरूको निम्ति आवश्यक दूध,मासु,अण्डा,फलफूल,तरकारी र चक्लेट जस्ता पौष्टिक खानाको समुचित प्रबन्धको जिम्मेवारी लिनुपर्ने कानुनी व्यवस्था गरिएकाले बालस्वास्थ्यमा सकारात्मक असर परेको हो ।हालैका वर्ष राजधानी प्योङ्याङ र प्रान्तीय शहरमा रहेका बालगृह र अनाथालयहरूको मर्मत गरिएको छ । देशभरका अनाथहरूलाई विशेष र प्राथमिकताका आधारमा गुणस्तरीय पोषणयुक्त खाना, पठनपाठन र औषधोपचारको व्यवस्था मिलाइएको सरकारी अधिकारीहरुको दाबी छ ।

गत जुन महिनामा सम्पन्न सत्तारुढ श्रमिक पार्टीको आठौं केन्द्रीय समितिको तेस्रो पूर्णबैठकले देशभरका सबै बालबालिकालाई राज्यले निःशुल्क दुग्धजन्य पदार्थलगायत पौष्टिक खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले उक्त निर्णयलाई पार्टीको बाल हेरचाह नीतिको रूपमा नै कार्यान्वयन गरेको छ ।यतिखेर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध छ । तर पनि उसले आफ्ना अप्ठेरालाई चिर्दै आमनागरिकको साथ र समर्थनमा अघि बढेको बताउँदै आएको छ । सत्तारुढ वर्कर्स पार्टीका महासचिव तथा राष्ट्रपति किम जोङ उनले विश्वव्यापी प्रतिबन्धलाई चुनौतीको सट्टा अवसरको रुपमा लिनुभएको पनि सरकारी समाचारहरुमा उल्लेख छ ।

उहाँले यो अवसरमा मुलुकका बालबालिकालाई सहजतासाथ हुर्काउन पाउनुलाई गतिलो आशीर्वादका रुपमा लिएको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

सरकारलाई उक्त कार्यमा सहयोग पुर्याउने उद्देश्य र लक्ष्यका साथ सन् २०१३ मा स्थापित कोरियन एसोसिएसन फर सपोर्टिङ द चिल्ड्रेन संस्थाका गतिविधिलाई अहिले कोरियामा उदाहरणीय कदमको रुपमा लिइएको छ।

उक्त एशोसिएसनले साना बालबालिकाको स्वास्थ्य सेवा, पोषण,बौध्दिक विकास र हेरचाहमा संलग्न जनशक्तिलाई आवश्यक तालिम दिँदै आएको छ । साथै,सञ्चार कार्यालय र शिशुहरुलाई आवश्यक सहयोगको निम्ति एउटा माध्यमको भूमिका समेत खेल्दै आएको बताइन्छ ।उक्त संस्थाले अन्तर्राष्ट्रिय बालदिवस,विश्व स्वास्थ्य दिवस र बालस्वास्थ्य दिवसको अवसरमा बाल स्वास्थ्य सेवामा गरिएका योगदानसम्बन्धी फोटो प्रदर्शनी गर्ने गरेको छ । साथै विभिन्न खालका सामाजिक गतिविधिको आयोजनाले बालबालिकाको शारीरिक र मानसिक विकासको वातावरणलाई ह्वात्तै बढाएको अधिकारीहरुको ठहर छ ।

यसै क्रममा कोरियाली बालबालिकाको शैक्षिक, सामाजिक र शारीरिक विकासमा गरिएका योगदान तथा गतिविधिको केही देशका कूटनीतिज्ञले भौतिक रुपमा अवलोकन गर्नुभएको छ । हालैको अवलोकन भ्रमणमा कोरियाका लागि क्युबा,रूस,सिरियाका राजदूत र चिनियाँ काउन्सिलरको सहभागिता थियो ।

विदेशी कूटनीतिज्ञहरुले गत सेप्टेम्बरमा प्योङयाङ बेबी होम र अनाथालयको भ्रमण गर्दै उत्तर कोरियाली सरकारले बालबालिकाको बौध्दिक शिक्षा र स्वास्थ्य सेवामा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

बिक्रम सम्वत २०५० जेठ ३ को दासढुङ्गा घटनालगत्तै उत्तर कोरियाले यस्तै बालबालबालिकासम्बन्धी शिविरमा जननेता मदन भण्डारी र जीवराज आश्रितका स-साना छोरीहरुलाई लगेको थियो ।

टिप्पणीहरू