सेनाको हाकिमलाई रातारात कहाँबाट जुर्छ सम्पत्ति ?

सेनाको हाकिमलाई रातारात कहाँबाट जुर्छ सम्पत्ति ?

नेपाली सेनाभित्र भएका विकृति र विसंगतिलाई तपाईंको सञ्चारमाध्यमले नियमित रूपमा बाहिर ल्याइदिँदा हामी तल्लो तहका प्रतिबद्ध कर्मचारी सधैँ खुशी छौं । अहिले फेरि कानुन हेर्ने सेनाको प्राड विवाकका हाकिमले नै कानुनको धज्जी उडाएपछि सेनाभित्र सन्नाटा छाएको विषयलाई बाहिर ल्याइदिनुहुनेछ भन्ने आशा लिएका छौं ।

सेनाभित्रको न्याय निसाफ हेर्ने प्राड विवाकका प्रमुख तथा दुईतारे जर्नेलका गतिविधिले सबैलाई लाजमर्दो बनाएको छ । त्यही विभागको कानुनी राय र परामर्शमा कतिपय महत्वपूर्ण कदम चाल्नुपर्ने सेनाभित्र त्यसका प्रमुखले दिने गरेको रायको समेत औचित्यमा प्रश्नचिह्न उठ्ने अवस्था भएकोतर्फ उपल्लो तहले बेलैमा ध्यान नदिँदा संगठन गन्हाउन थालेको छ ।

जर्नेल रत्नप्रकाश थापाले आफ्नो जन्ममिति सच्याएर तीन वर्ष घटाएको सन्दर्भ पनि अहिले जंगी अड्डातिर सामसुम हुनुले कानुन विभागको औचित्यलाई नै नामेट पार्ने खतरा बढेको छ । उनको जन्ममिति विवादमा उच्च अदालत पाटनले ०२० भदौ २० गते कायम गरिदिएको थियो । तर, अहिलेसम्म सेनामा भने ०२३ भदौ २० नै कायम छ । निजले त्यसरी नियमविपरीत बढाएको जन्ममिति सेनाको रेकर्ड तथा सैनिक सेवा नियमावलीको नियम ७७ विपरीत गत वर्ष मात्रै सच्याइएको हो ।

गत वर्ष थापाको जन्ममिति सच्याउँदा प्राडमा होम लावती प्रमुख थिए । त्यसअघि निजको जन्ममितिसम्बन्धी मुद्दामा उनको पक्षबाट बहस गर्ने वकिल रक्षा मन्त्रालयमा उपसचिवका छोरा स्वदेश पोखरेल हुन् । यसअघि अघिल्लो वर्ष कालोसूचीमा राखिएकी नेपाली सेनाको रासन ठेकेदार सन्ध्या सुब्बाको पक्षमा वकालत गर्ने र मुद्दालाई कमजोर बनाउने कामसमेत उनै थापाबाट भएको रहस्य खुलेको छ । त्यसरी मुद्दा कमजोर बनाएर सुब्बालाई जिताउन झण्डै ४ करोड रूपैयाँको चलखेल भएको थियो ।

अहिले त्यही पैसा भक्तपुरको दधिकोटमा ७१ आना जग्गा प्लटिङमा खन्याइएको छ । प्लटिङमा स्याङ््जाली उनै रत्नप्रकाश जर्साबको सबैभन्दा धेरै सेयर रहेको गाइँगुइँ छ । दधिकोट ३ ख २ को कित्ता नम्बर ८८३,१२३१, १२३२, ११३३, १२३४, १०९३, १७८९, ४९४, १८२९ गरी ४ रोपनी ७ आना २ पैसा २.९ दाम जग्गाका प्लटिङ बिक्रीमा राखिएको छ । ती जग्गा थोरैमा ३ आनादेखि बढीमा १५ आनासम्म किन्न सकिन्छ ।

उनै मेजर जर्नेल थापाको संलग्नतामा गत भदौमा समेत अर्को खेल भएको थियो । नेतृत्व परिवर्तन हुने मौका पारेर उनले सैनिक विशेष अदालतमा पेशी रहेको मुद्दा विपक्षीलाई जिताइदिने शर्तमा करोड असुलेको सन्दर्भ बाहिर आएको छ । उक्त मुद्दामा विपक्षीसँग एक करोड रूपैयाँको चेक बुझेर उनै हाकिमले साँखुमा जग्गा खोजी गर्न टोली नै खटाएकोवारे सोझा र इमानदार सेनापति प्रभुराम शर्माले टोली खटाएर बुझ्दा हुन्छ ।

सेनाको संगठनलाई कमजोर बनाउने र आफ्नो खल्ती भर्ने कार्यमा उनी कतिसम्म अग्रसर छन् भने आफू मातहत कार्यरत एक जना मेजरसँग ५ लाख रूपैयाँ मागेको पनि जेसिओहरूबीच राम्रै चर्चा छ । उनले तिमिल्सिना थरका एक जना अधिकृतसँग शान्ति सेनामा जान हाकाहाकी त्यति रकम मागेका हुन् ।

यसरी संगठनभित्र ढाँट्ने, छल्ने, पैसोको निम्ति मरिहत्ते गर्नेलाई कानुन विभागको जिम्मेवारी दिनु बिरालोलाई दूधको कुँडे जिम्मा लगाएझैँ भएको छ । आफ्नो दुनो सोझ्याउन पूरै संगठनलाई नै बदनाम गर्न पछि नपर्ने उनी कानुनी क्षेत्रको निम्ति परिपक्व नभएको र अव्यावसायिक भएको भन्ने सुनिन आएको छ ।

– संगठनको हित चाहने बिल्लादारहरू

टिप्पणीहरू