दशैं आयो, अनि यिनलाई दशा आयो

काम छ, जागिर पनि छ तर तलब सुख्खा । यस्तो समस्या भोग्दै छन् राष्ट्रसेवक कर्मचारीले ! संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन समयमै टुंग्याउन नसक्दा हजारौं कर्मचारीको यो वर्ष दसैं खल्लो हुने भएको छ । खारेजीमा पुगेका विभिन्न विभागका हजारौं कर्मचारीले साउनयता तलब खान पाएका छैनन् । दसैंको चहलपहल सुरु भइसक्दासमेत तलब पाउने÷नपाउने टुंगो छैन । विशेषतः शिक्षा, सिञ्चाइ, सडक, भौतिक योजना, आवास, खानेपानी मन्त्रालयमातहत खारेजीमा परेका विभागमा कार्यरत कर्मचारी दसैंमा तलब पाइने वा नपाइने अन्योलकै बीच काम गरिरहेका छन् । शिक्षा मन्त्रालयका एक उपसचिव एक्ला होइनन्, उनीजस्ता ४ सय जनाले यही समस्या भोग्नुपरेको छ । त्यहाँका आठ सयभन्दा बढी कर्मचारीले तलब पाउन सकेका छैनन् । सरकारले शिक्षा मन्त्रालयअन्तर्गत रहेका जिल्ला शिक्षा कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत समन्वय इकाइ राखेको छ । 

खानेपानी तथा ढल निकास विभागका १८ सय १६ कर्मचारीको समस्या पनि उस्तै छ । साउनदेखि सुक्खा । जागिर खाएयता पहिलो पटक यसपटकको दसैं सुक्खा होलाजस्तो छ– एक उपसचिवले भने । त्यहाँका सिडिई २८, इञ्जिनियर ८८, सबइञ्जिनियर ११२, नायब सुब्बा २८, लेखापाल २८, कम्प्युटर अपरेटर २८, खानेपानी टेक्निसियन १ सय १२, महिला कार्यकर्ता २८ लगायत ५ सय १२ जनालाई सातै प्रदेशमा खटाइयो । यसरी कर्मचारीले समयमा तलब नपाउनुको खास कारण संगठन संरचना र (ओएण्डएम) सर्वेक्षण समयमा हुन नसक्नु हो । प्रदेशको संगठन संरचना र सर्वेक्षण पहिल्यै टुंग्याइएको भए पनि संघको सर्वेक्षण संरचना टुंग्याउन सकिएको छैन । अहिले क्याबिनेटमा पुगेको छ । प्रदेशको ओएनएम सर्वे असारमै स्वीकृत भए पनि संघको स्वीकृत हुन नसक्दा अन्योल सिर्जना भएको बताइन्छ । यसरी खानेपानीअन्तर्गतका विभाग खारेज भई ७७ बाट २८ वटामा सीमित गरिँदा खारेजीमा परेका विभागका कर्मचारीको तलब कहिले आउने टुंगो लाग्न नसकेको हो । यस्तै समस्या छ शहरी विकास मन्त्रालयअन्तर्गतका विभागमा पनि ।

यसैबीच एक जना पूर्वमन्त्रीले सांसद विकास कोषबाट लगेको लाखौं रकमले आफूनिकट उपभोक्ता समितिको भवन बनाए । तर, यसरी बनाइएको भवनमा ढल निकासको व्यवस्था गरिएन । जसकारण त्यहाँँबाट निस्किएको ढल सीधै विष्णुमतीमा मिसिन थालेको छ ।
 
१८ लाख ६७ हजार ५ सय ८ रुपैयाँ लगेर नवीन्द्रराज जोशीले किचदह उपभोक्ता समितिलाई उपलब्ध गराए । यो समिति ताहाचल–१३ मा अवस्थित छ । करिब साढे दुई आना क्षेत्रफलमा फैलिएको साढे दुईतले । उनी मात्र होइन, त्यहाँ चर्चित गायक योगेश्वर अमात्यले ५ लाख रुपैयाँ र नेपालकृष्ण श्रेष्ठले १ लाख ५१ हजार सहयोग गरेका छन् । यसरी ३० औं व्यक्तिले सहयोग गरी उपभोक्ता समितिको भवन पनि बन्यो । यो भवनबाट ५ सय मिटर मात्र पर विष्णुमती बग्दै आएको छ । यस्ता दिग्गज व्यक्तिले करोडांै खर्चिएर भवन त बनाए तर सेफ्टी ट्यांकी राख्ने झन्झट गरेनन् । सोही कारण उपभोक्ता समितिमा कसैले दिसा–पिसाब गरेको खण्डमा सीधै विष्णुमतीमा पुगेर मिसिन्छ । एकातिर तिनै पूर्वमन्त्री, पूर्वसांसद नदी सरसफाइ अभियान भन्दै हातमा झाडु, कुचो बोकेर नदीमा पस्छन्, सेल्फी खिच्छन् र सामाजिक सञ्जालमा पोस्टिन्छन् । यो भवन निर्माणार्थ पूर्वसचिव स्वयम्भूमान अमात्य, होटल एम्बेसडरका साहु योगेन्द्र शाक्य, ठमेलका पर्यटन व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठ, वकिल मधुरकृष्ण श्रेष्ठले पनि सहयोग गरेका थिए ।

टिप्पणीहरू