ताप्लेजुङबाट को–को झर्छन् चितवनतिर ?

ताप्लेजुङबाट को–को झर्छन् चितवनतिर ?

नेकपा एमाले ताप्लेजुङले १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । जब एमालेमा विवाद शुरु भयो पार्टी विभाजन भइसकेको थिएन त्यस समय यहाँका अधिकांश नेता नेपाल पक्षतिर देखिएका थिए ।

योगेश भट्टराई, तिलकुमार मेन्याङ्बो, सुरेन्द्र साम्सोहाङ्, होमकुमारी साँवा, डम्बरध्वज तुम्बाहाङ्फे, सन्तोष खतिवडा, गोपाल थोप्रालगायत ओली विचारको खुलेर विरोध गर्दै नाराबाजी गरिरहेका थिए तर पार्टी विभाजनसँगै यी सबै नेता ओली विचारको पछि लागे तर दश बुँदेको तनावबीच एमालेमै रहेका नेता र ओलीपक्षका सतीसाल मानिएका भूपेन्द्र थेवे टिमबीचको अन्तरविरोध कायमै रहेपछि गत वर्ष नै बनेका दुई पार्टी कार्यालय भने अझै एक हुन सकेका छैनन् ।

ताप्लेजुङ एमालेले दशाैँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत गर्न नसकेपछि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनोट गरेको छ । खुलातर्फ ८ जनाका लागि १६ जना, महिलातर्फ ४ जनाका लागि ५ जना र दलिततर्फ १ जनाका लागि २ जनाको प्रतिस्पर्धा भएको थियो। दलित र खुलातर्फ टिम बनाएर निर्वाचनमा होमिएकाहरूको परिणामले भने १० बुँदेलाई हतोत्साहित बनाएको देखिन्छ । १३ जना प्रतिनिधिमध्ये ११ जना ओली पक्षका निर्वाचित भएका छन् ।

मतगणनाअनुसार खुलातर्फ ः भूपेन्द्र थेवे ४२५२, दिपेन पोमू ४०८७, छत्रपति प्याकुरेल ४०५३, आशिष केदेम ३७२५, ओङ्दी शेर्पा ३५७९, बलबहादुर साम्सोहाङ् ३५५०, डम्बरध्वोज तुम्बाहाङ्फे ३५२१, गोपाल थोप्रा ३४१९, महिलातर्फ : भीमादेवी ओझा ५९४६, मीनाकुमारी केदेम ५६८०, टिकादेवी दाहाल ४७८३, उर्मिला थेवे ४५९९, दलिततर्फ : मनकुमार नेपाली ३७२३ छानिएका छन् ।
खुलातर्फका विजयी ओङ्दी शेर्पा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन्, अहिले ओली पक्षको वकालत गरिरहेका छन् । विजयी बलबहादुर साम्सोहाङ् र डम्बरध्वज तुम्बाहाङ्फे दसबुँदे पक्षमा देखिएका छन् भने बाहेकका ११ जना सबै ओली विचारमा रहेको यहाँका राजनीतिक विश्लेषक बताउँछन् ।

टिप्पणीहरू