देउवा शालीन, ओली मलिन

देउवा शालीन, ओली मलिन

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई परमादेशबाट बनेको सरकार भन्दै नेकपा एमालेले चर्को आलोचना गर्दै आएको छ । पार्टीको आन्तरिक बैठकदेखि सार्वजनिक भाषणमा अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकारको आलोचनामा उत्रिने गर्नुभएको छ । अहिलेको सरकार जनादेशको सरकार विस्थापित गरेर परमादेशबाट बनेको एमालेको आरोप छ ।

उनै ओली र प्रधानमन्त्री देउवा आज लामो समयपछि एउटै मञ्चमा देखा पर्नुभएको छ । एमालेको दशौं महाधिवेशनको उद्धघाटन सत्रमा शुभकामना दिन पुग्नुभएका प्रधानमन्त्री देउवा र ओलीबीच पाँच महिनापछि आज औपचारिक भेट भएको हो ।

नदीका दुई किनार जस्तो बनेका दुबै नेता आज नारायणी किनारमा एकैसाथ उपस्थित हुँदा एमाले कार्यकर्ताले हुटिङ र तालीले स्वागत गरेका थिए । ओली र देउवाले मञ्चमा सँगै उभिएर हात हल्लाउँदै अभिवादन गरेपछि उत्साहित कार्यकर्ताले देउवाको स्वागतमा नाराबाजी गरेका थिए ।

लामो समयपछि एकै ठाउँमा देखा परेका दुबै नेताले पालैपालो सम्बोधन गर्नुभयो । महाधिवेशन समारोहमा निकै शालीन रुपमा प्रस्तुत हुनुभएका देउवाले छोटो सम्बोधन गर्नुभएको थियो । आफ्नो सम्बोधनको क्रममा उहाँले सबै राजनीतिक दलहरुबीच सहकार्य र एकतामा जोड दिनुभएको छ ।सरकारको आलोचना गरिरहेको एमालेप्रति देउवा आक्रोशित देखिनुभएन, बरु परमादेशको सरकार भन्ने ओलीलाई कुटनीतिक जवाफ दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीबीच नीतिगत विषयमा रहेका विमतिलाई संविधानमार्फत् अवलम्बन गरेका विधिद्वारा हल गर्ने र सबैले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ । नेपाली काँग्रेस यहि कुरामा प्रतिबद्ध छ ।’ देउवाको उक्त भनाइले संविधानको व्यवस्थाबमोजिम नै आफू प्रधानमन्त्री बनेकाले एमालेले पनि स्वीकार गर्नुपर्ने कुरामा जोड दिएको छ ।

सरकार, प्रधानमन्त्री देउवा र गठबन्धनका नेताहरुको खोइरो खन्ने ओलीले पनि आज भने तुलनात्मक रुपले सन्तुलित भाषण गर्नुभएको छ । यद्यपि महाधिवेशन समारोहमा उपस्थित नभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भने उहाँले सदाझैँ कडा आलोचना गर्नुभयो ।

प्रधानमन्त्री देउवाप्रति सन्तुलित देखिनुभएका ओलीले प्रचण्ड र माधवका कारण सरकारले काम गर्न नसकेको आरोप पनि लगाउनुभयो । आफ्नो सम्बोधनका क्रममा ओलीले प्रचण्ड र माधवप्रति लक्षित गर्दै हँसिया हथौडा बोक्नेहरूले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको भन्नुभयो ।त्यसो त, अप्रत्यक्षरुपले ओलीले आज पनि परमादेशको सरकार भन्न छुटाउनु भएन । सर्वोच्च अदालतले संविधानको गलत व्याख्या गरेको भन्दै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर त्यसलाई सच्याउने दाबी गर्नुभयो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले गरेको संविधानको व्याख्याबाटै देउवा प्रधानमन्त्री बन्नुभएको हो । ओलीले सिधै नभने पनि अदालतले संविधानको गलत व्याख्या गरेको बताएर देउवाको प्रधानमन्त्री नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउनुभएको हो ।

प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो पटक संवैधानिक परिषद्को बैठकमा भेट भएको थियो । त्यसयता प्रधानमन्त्रीले दूत पठाएर भेटघाट गर्न चाहे पनि ओलीले अस्वीकार गर्दा सम्भव हुन सकेको थिएन । प्रधानमन्त्री देउवाको शपथ ग्रहण बहिष्कार गर्नुभएका ओली सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा पनि अनुपस्थित हुनुभएको थियो ।

टिप्पणीहरू