प्रधानमन्त्री र रामदेवमाथि अखिल छैठौं खनियो

प्रधानमन्त्री र रामदेवमाथि अखिल छैठौं खनियो

टेलिभिजन खोल्न निःशुल्क जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विद्यार्थी संगठन अखिल छैठौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानीमा सञ्चालन हुन लागेका दुई स्याटलाइट टेलभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ लाई जग्गा दिने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिको लगानीमा सञ्चालन हुन लागेका टेलिभिजनको उद्घाटन गर्दै टेलिभिजन सञ्चालनका लागि जग्गा दिने सार्वजनिक रुपमा उद्घोष गर्नुभएको थियो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको अहिले चौतर्फी बिरोध हुन थालेको छ । विभिन्न संघ संगठनहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन र टेलिभिजन सञ्चालनमा रोक लगाउन समेत माग गरेका छन् ।

सरकारको जिम्मेवार पदमा रहेका पदाधिकारीले हल्का अभिव्यक्ति दिनु र कार्यक्रममा सहभागी हुनुले देशको राष्ट्रियता उच्च तहबाट नै संकटमा परेको संगठनले ठहर गरेको छ । उसले भनेको छ, ‘विदेशी लगानी तथा प्रविधि ऐन–२०७५ ले सञ्चारमाध्यममा विदेशी लगानी बर्जित गरेको अवस्थामा देशको प्रधानमन्त्रीबाट यसप्रकारको अभिव्यक्ति आउनु गैरजिम्मेवारीपन हो ।’

संगठनका अध्यक्ष देवेन्द्र कुँवरद्वारा जारी प्रेस वक्तव्यमा पतञ्जलिले सञ्चालन गर्ने भनिएको स्याटलाइट टेलिभिजनलाई अनुमति नदिन र प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति सच्चाउन माग गरिएको छ । अन्यथा आफूहरू कडा आन्दोलनमा जाने चेतावनी पनि कुँवरले दिएका छन् ।

टिप्पणीहरू