मेरो खुट्टो तान्नेले देउवाको खुट्टो समाए : एमाले अध्यक्ष ओली

मेरो खुट्टो तान्नेले देउवाको खुट्टो समाए : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अप्ठेरोमा पार्नेहरुले नै अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई काम गर्न नदिएको आरोप लगाउनुभएको छ ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले आफूलाई अप्ठेरोमा पार्नेहरु अहिले देउवाको खुट्टो समाइरहेको टिप्पणी गर्नुभयो ।

महाधिवेशनमा शुभकामना दिन पुग्नुभएका प्रधानमन्त्री देउवातर्फ हेर्दै ओलीले भन्नुभयो, ‘अहिलेको सरकारको सम्बन्धमा केही भन्न चाहन्नँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न चाहन्नँ, काम गर्न खोज्नुभएको थियो होला शायद, दिएनन् । मेरो खुट्टा तान्नेहरूले उहाँको खुट्टा समातिराखेका छन् ।’

महाधिवेशन समारोहमा उपस्थिति नभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका आध्यक्ष माधव नेपालको उछित्तो काढ्नु भएका ओलीले प्रधानमन्त्री देवाउप्रति भने सन्तुलित भाषण गर्नुभयो ।

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै उहाँले हँसिया हथौडा बोक्नेहरूले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाउनुभयो ।

देउवाकै अगाडि वर्तमान सरकारलाई दक्षिणपन्थी भन्नुभएका ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले सरकार बनाउने दाबी गर्नुभयो । ‘आज एउटा गोपनीयता खुस्काउनुपर्ने भयो, त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू