नमस्ते चोकका नामुद चोर पक्राउ

नमस्ते चोकका नामुद चोर पक्राउ

चोरी मुद्दामा दोषी ठहरिएपछि लुकिछिपी हिँडेका एक युवकलाई प्रहरीले समातेको छ । पक्राउ पर्ने सुनसरी धरान उपमहानगरपालिका १७ नमस्ते चोकका २८ वर्षीय गोफ्ले भन्ने गोपाल गुरुङ हुन् ।

गुरुङविरुद्ध सुनसरी जिल्ला अदालतले २०७६ जेठ ९ गते तीन वटा चोरी मुद्दामा फैसला सुनाएको थियो । उनीविरुद्धको लगत नम्बर ८९५९ को मुद्दामा ५९ हजार ९ सय ६ रुपैयाँ जरिवाना, लगत नम्बर ८९६० को मुद्दामा दुई महिना कैदसहित १७ हजार जरिवाना र ८९६१ को मुद्दामा ८ महिना कैद र ५३ हजार रुपैयाँ जरिवानाको आदेश दिएको थियो । अदालतको आदेशपछि उनी लुकिछिपी हिँडेका थिए ।

उनलाई १ नम्बर प्रदेशको आरआइटी प्रहरी टोलीले खोजतलास गरेर पक्राउ गरेको बताइएको छ । गुरुङलाई तोकिएको कैद र जरिवाना भुक्तानीको लागि हिजै कारागार चलान गरेको छ ।

भागेका ज्यानमारा प्रहरी फन्दामा

आफ्नै साथीको हत्या गरेर फरार एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मोरङ उर्लाबारी नगरपालिका–८ राजघाटका २६ वर्षीय संजोग अधिकारी हुन् । उनीमाथि स्थानीय चौधरीटोलका १७ वर्षीय अभिषेक चौधरीको हत्या गरेको आरोप लागेको छ ।

साउन ११ गते उनीहरूबीच फुटबल खेलका लागि खेलाडी चयनको विषयमा विवाद भएको थियो । विवादका कारण अधिकारीले धारिलो हतियार प्रहार गरेर चौधरीलाई घाइते बनाएका थिए । घाइते अभिषेकको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसपछि अधिकारी फरार रहेका थिए । फरार रहेकै अवस्थामा उनलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

टिप्पणीहरू