कुर्सी कति तातो हुन्छ भने नि !

अचेल सिंहदरबारमा नयाँ–नयाँ रमिता देख्न पाइन्छ । सामान्य प्रशासन मन्त्रालयले खटाएको स्थानमा नजाने र अटेर गर्दै आफ्नो स्वार्थअनुकूलकै स्थानमा टाँसिरहने प्रवृत्तिका कारण नेपाल सरकारका सहसचिवबीच अराजकता बढ्दो छ । 
एक जना सहसचिवको सरुवा भइसक्दा पनि अर्काे त्यही कुर्सीमा टाँसिराख्ने, सरुवा भई आएकोलाई सुकुम्बासी बनाइराख्ने प्रवृत्ति वन, कृषि र भूमिसुधार तथा सहकारी मन्त्रालयमा देखिएको हो । 

भूमिसुधारबाट टीकाराम घिमिरे वनतर्फ प्रशासन महाशाखामा सरुवा भइसक्दा पनि सोही स्थानबाट सहसचिव चन्द्रमान श्रेष्ठले कुर्सी छाड्न नमानेपछि समस्या छ । त्यहाँ अलपत्र परेपछि टीकारामले सामान्य प्रशासन मन्त्रालयसँग साविककै स्थानमा फर्कन आग्रह गरे र सरुवा गराए भूमिसुधार मन्त्रालयमा । तर, टिकारामको सरुवा वनबाट भइसक्दासमेत प्रशासन हेर्ने रघुराम विष्टले अन्यत्र जान मानेनन् । 

यसरी टीकाराम भूमिसुधार मन्त्रालयमा पनि अलपत्र परेका छन् । उनी रिटायर्ड हुन अब २ महिना मात्र बाँकी छ । चन्द्रमानले यसअघि यातायात व्यवस्था विभागमा हुँदा विमलेन्द्र निधिहरूसँग मिलेर इम्बोइस्ड नम्बर लागू गराउन खोजेका थिए । त्यो प्रयास सर्वाेच्च अदालतका कारण पूरा हुन सकेन । बीचमा केही समय गृह मन्त्रालयमा तानिएका उनी अहिले माओवादीनिकट कर्मचारी बन्न भ्याएका छन् । उता, श्रम मन्त्रालयअन्तर्गतको ताहाचलस्थित काठमाडौं कार्यालयमा घुसघोरी झन् बढेको छ । हाल उपराष्ट्रपति कार्यालयमा रहेका सहसचिव तेजराज पाण्डे त्यहाँको प्रमुख हुँदा कार्यालयभित्रै लेनदेन झन् फस्टाएको थियो । शेरबहादुर देउवाका जिल्लाबासी उनले भानु देउवाको आडमा तत्कालीन श्रममन्त्री फरमुल्ला मन्सुरको सोझोपनको फाइदा उठाउँदै मनलाग्दी गरेका थिए । गोकर्ण विष्ट मन्त्री बनेर आएपछि तेजराजको सरुवा र उपसचिव भूमिश्वर पाण्डेलाई जिम्मेवारी दिइएको थियो । तर, उपसचिव पाण्डे सरुवा मागेर योजना आयोगमा आएका छन् । त्यहाँको प्रमुख अहिले कोही पनि नहुँदा कर्मचारीसँग म्यानपावर एजेन्टले खुलेआम लेनदेन गरेको देख्न पाइन्छ । अधिकृत दुर्गा पौडेललगायत केही कर्मचारीले पैसाको लेनदेन गरिरहेकै छन् ।

टिप्पणीहरू