भीआईपीबीच को निस्कियो भिलेन

उच्चअधिकारीहरूको मान, मनितो नपुग्दा वा विगतको अपमानका कारण राष्ट्रिय पर्व नै खल्लो भएको छ । 

असोज ३ गते बिहान संविधान दिवस मनाउँदा टुँडिखेलमा यस्तै अचम्म देखियो । सबैलाई संविधानप्रति अपनत्व लिऊँ, कोही नछुटौं भनी गृहमन्त्रालयमा भेला गराएर उर्दी सुनाउने प्रधानमन्त्री आफैँ उपस्थित थिए । तर, त्यहाँ संवैधानिक अंगका थुप्रै पदाधिकारी पुगेनन् । किनभने, पोहोर शाखा अधिकृतभन्दा तलको सीटमा केही आयुक्तलाई राखिएको र  बर्दिधारीले पनि दर्जा नभनी सिट ओगटेको हँुदा हामी मात्रै अपमानित हुन किन जाने ? भनेर ती अझै रुष्ट रहेछन् । दुई–चार महिनामै अदलबदल गरिने मर्यादाक्रमको महŒव कति रहेछ भन्ने कुरा यो तथ्यले देखाउँछ ।

लोकसेवा आयोगमा अध्यक्षसहित सात जना पदाधिकारी छन् । तीमध्ये ब्रम्हदेव राय र डा.गोविन्दप्रसाद कुसुममात्र गए । अख्तियारमा एक आयुक्त रिक्त भए पनि अरु सबै भरिभराउ छन् । तर, त्यहाँबाट सावित्री गुरुङमात्र गइन् । निर्वाचन आयोगबाट नरेन्द्र दाहालमात्र पुगे । राष्ट्रिय मानवअधिकार आयोग त शून्य नै भयो । यसले के देखाउँछ भने संवैधानिक नियुक्ति पाएका विशिष्ट पदाधिकारीबीच नै संविधान दिवस भनेको राष्ट्रिय पर्व हो, हामी जानुपर्छ भन्ने भावना जागृत हुन सकेको रहेनछ । कर्मचारीले आफूभन्दा माथिल्लो ओहोदाका अधिकारीको मर्यादा राख्दैनन् भने कारवाही वा सिफारिश गर्ने अधिकार संवैधानिक आयोगका पदाधिकारीसँग हुन्छ । यस्तो राष्ट्रिय पर्वमा तिनै मान्छे जाँदै नजानुलाई शायद अराजकता मानिन्छ ।

अर्को पनि रमाइलो छ– राष्ट्रिय गान केही नसुनिएको । एउटा गीत थियो, ‘बादल हट्यो आकाशमा, विकासको घाम झुल्क्यो, समृद्धिको हाम्रो लक्ष्य पूरा हुने बाटो खुल्यो ।’ गीत रचना गरेका रहेछन्, लोकसेवाका सदस्य तथा पूर्व गृहसचिव डा.गोविन्दप्रसाद कुसुमले । रेडियो नेपालका भूपेन्द्र रायमाझीको संगीत र पूर्वसिडिओ विजय मानन्धरको स्वरमा संविधान दिवसको अवसर पारेर त्यसदिन टुँडिखेलमा यो गीत गाइयो । तर, भैदियो के भने ढङढङ  बाजा सुनिने, गीत केही नसुनिने । गायक÷गायिकाको ओंठ मात्रै चलेको देखिने कर्णेल अमुल ढलीको कमाण्डमा सेनाको झण्डै ५० सदस्यीय लाइभ व्याण्ड थियो । तर, गीत सुनिएन, संगीतले स्वरलाई दबायो । किन यस्तो भयो ? खोजी हुँदैछ । यस्तो राष्ट्रिय पर्वमा प्रस्तुत गरिने प्रत्येक कार्यक्रम हुनुअघि एक महिनाअघिबाट रिहर्सल हुने गर्दछ । त्यसक्रममा गीत गाउनेको माइकको भोल्युम, बाजाको भोल्युम सबै चेक गरिन्छ । त्यसमाथि संविधान दिवस मनाइँदा टुँडिखेलमा नेपाली सेनाका साउण्ड इञ्जिनियरहरू नै थिए । अरु गीत राम्रै सुनियो । तर, त्यही गीतचाहिँ बाजाबाहेक केही सुनिएन । संविधान मन नपराउनेले भिलेनको भूमिका खेले कि भन्ने आशंका गरिएको छ ।

टिप्पणीहरू