मर्दा पनि जो आफ्नो सौन्दर्यमा मख्ख थिइन्

मर्दा पनि जो आफ्नो सौन्दर्यमा मख्ख थिइन्

‘उनको क्लियोपेट्राको जस्तो नाक, पाउलिन बोनापार्टको जस्तो आँखा र भिनसको जस्तो स्तन थियो ।’

यो भनाइ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको लामो समय निजी सहायक भई काम गरेका एमओ मथाईको हो । जवाहरलाल नेहरूकी पुत्री तथा भारतमा आजसम्मकै शक्तिशाली अर्का प्रधानमन्त्री इन्दिरा गान्धीसँग आफ्नो १२ वर्ष लामो अन्तरंग सम्बन्ध थियो’ भन्ने दाबी गर्दै आएका उनले उक्त कुरा इन्दिरा गान्धीकै बारेमा भनेका हुन् ।

मथाईले इन्दिरा गान्धीको आँखासित तुलना गरेका पाउलिन विश्वविजेता बन्ने सपना देखेका फ्रान्सिसी नेता नेपोलियन बोनापार्टकी प्यारी बहिनी थिइन् । पाउलिन आमाबाबुकी छैटौँ सन्तान । पढाइ साधारण स्कुलमा भयो । बाबु कार्लो बोनापार्टको निधन हुँदा ५ वर्षकी थिइन् । वकिल बाबुको मृत्युपश्चात् गरिबी शुरु भयो । परिवार पाल्न महिला सदस्यले लुगा धुने पेशा अपनाए । त्यसपछि उनीहरू फ्रान्सको शहर मार्शलेतर्फ बसाइँ सरे, जहाँ नेपोलियन बोनापार्ट सेनामा कार्यरत थिए ।

पाउलिनको जिउडाल अत्यन्त मिलेको थियो । आँखा निकै आकर्षक । कामुक हेराइ, चाल पनि उस्तै । त्यसैले नेपोलियन र उनकी आमा उनीप्रति अलि बढी नै सचेत थिए । तैपनि १५ वर्षकै उमेरमा पाउलिन ४० वर्षीय लुइ फ्रेरोनसँग फसिहालिन् । लेखकद्वय इरभिङ वालेस र सिल्भिया वालेसका अनुसार फ्रेरोन बेइमान किसिमका राजनीतिज्ञ थिए । त्यसैले पाउलिनकी आमा लेसिजियाले हस्तक्षेप गरी जबर्जस्ती छुटाइन् । फ्रान्सिसी नाटककार एन्टोनियो भिन्सेन्ट अर्नल्ट भन्थे ’पाउलिनको शारीरिक बनोट असाधारण तवरमै मिलेको थियो, आकर्षक थियो ।’

नेपोलियनले त्यहाँ गभर्नरको पद सम्हालिराखेका पत्रकार तथा सांसद लुइ फेरोनसङ बहिनी पाउलिनको परिचय गराइदिए । उनी चाहन्थे, लुइ बहिनी–ज्वाइँ बनुन् । तर, नेपोलियनकी आमा लेसिजियाले मानिनन् । पाउलिनले लुइलाई मन पराएकी पनि हुन् तर एकदिन नेपोलियनले आफ्नै कार्यालयमा बहिनी पाउलिन र उनैको मातहतका जर्नेल चाल्र्स लेकलेर्सलाई रंगेहात समाते । र, उनी मन नमानीनमानीकनै लेकलेर्सलाई ज्वाइँ बनाउन विवश बने । १० महिनापछि पाउलिन एउटा छोराको आमा बनिन् । तथापि, पाउलिन कहिल्यै आफ्नो लोग्नेप्रति बफादार बनिनन् ।

हाइटीमा टुसान्त एलओभेचर नाउँको अश्वेत सैनिकले फ्रान्सिसी, अंग्रेजी र स्पेनिस जमिनदारविरुद्ध विद्रोह गरे । उनी दासप्रथा पनि उन्मूलन गर्न चाहन्थे । त्यसक्रममा उनले आफूलाई हाइटीको गभर्नरसम्म घोषणा गर्न भ्याए । त्यति मात्र होइन, उनले आफूलाई सेन्ट डोमि¨ो (हाइटीको पुरानो नाउँ) को बोनापार्टसमेत घोषणा गरे । नेपोलियनले टुसान्टलाई पक्रेर विद्रोह दबाउन २५ हजार सैनिक हाइटी पठाए र त्यसको नेतृत्व आफ्ना ज्वाइँ लेकलेर्सलाई गर्न लगाए ।

उनी त्यहाँ पुनः दासप्रथा स्थापना गर्न चाहन्थे । पाउलिन पनि लोग्नेसँगै हाइटी पुगिन् । त्यहाँ उनले देखिन् हाइटी उनले सोचेअनुरूप पिछडिएको रहेनछ । उनी क्लब, डिस्को जान थालिन्। तल्लो दर्जाका सैनिकसँग नाच्न, लहसिन शुरु गरिन् । यसबीच, त्यहाँ पहेँलो ज्वरोको प्रकोप बढ्यो । बिरामीको उपचारार्थ खटिन् । तर, लेकलेर्सको ज्यान सोही रोग लागेर गयो । पाउलिन दुःखी मनले स्वदेश फर्किइन् ।

लोग्ने मरेको दुःखले पाउलिन धेरै दिन दुःखी बनिन् । स्वदेश फर्केलगत्तै पार्टीहरूमा जान शुरु गरिन् । उनको लुगा यस्तो हुन्थ्यो कि अंगप्रत्यंग देखिने । फ्रान्स फेसनमा अग्रपंक्तिमा थियो तर त्यो बेला उनले लगाउने गरेको लुगा अरुले लगाउने हिम्मतसम्म पनि गरेका थिएनन् । छोरा डर्माइडको ८ वर्षकै उमेरमा मृत्यु भयो । त्यसपछि त झन् स्वतन्त्र भइन् । सम्बन्ध कहिले कोसित त कहिले कोसित जोडिन पुग्थ्यो । उनको कारण नेपोलियनले समेत धेरै आलोचना सहनुप¥यो । तर, पाउलिन उनकी प्रिय बहिनी भएकाले सधँै बहिनीको रक्षार्थ खडा हुने गर्थे ।

उनी लुगा र गरगहनाको अत्यन्त सोखिन थिइन् । ६ सय जोर लुगा र अमूल्य गहना संकलन गरेकी थिइन् । घरबाट निस्कँदा ६ वटा घोडाले तान्ने बग्गीमा सवार हुन्थिन् । आफ्नो छाला गोरो बनाउने भन्दै दैनिक दूधले नुहाउँथिन् । उनले आफूलाई नुहाइदिन पालनामक हब्सी पालेकी थिइन् । उनै पालले उनलाई बोकेर बाथटबसम्म पु¥याइदिन्थे । जब, सबैले यसबारे औंला ठड्याए उनले भनिन् कि हब्सी भनेका मानव नै होइनन् ।

बाथटबमा नुहाउँदाको समय पुरुष पाहुनालाई आमन्त्रण गर्थिन् । सर्वांग भएर प्रस्तुत हुन्थिन् । तिनै पुरुषलाई आफ्नो कपाल कोर्न लगाउने, शरीरमा अत्तर छर्कन र स्तन माड्न दिने गर्थिन् । त्यसो त उनले नेपोलियन सत्तामा भएको फाइदा अरु दाजुभाइ– दिदीबहिनीले भन्दा कमै मात्र उठाइन् । उनी राजकुमारी भएर होइन स्वच्छन्द भएर आमनागरिकसरह मनलागी जिउन चाहन्थिन् ।

लोग्ने मरेको ८ महिनापश्चात् इटलीका नामुद हीरा संकलक प्रिन्स क्यामिल्लो बोर्घेससँग बिहे गरिन् । नेपोलियन बहिनीले छोटो समयमै अर्को जीवनसाथी रोजेकोमा दंग परे । यो बिहेबाट पाउलिनले बर्सेनि ७० हजार फ्रान्क पाउने भइन् । एउटा आलिशान बंगला र असंख्य हीराजवाहरात । तर, क्यामिल्लोसँगको यौन जीवनबाट भने कहिल्यै सन्तुष्ट हुन सकिनन् । भनिन्छ, क्यामिल्लो न समलिंगी न उभयलिंगी । पाउलिन रोमको समाजलाई पनि मन पराउँदिन थिइन् ।

फ्रान्स फर्किनुअगाडि फ्लोरेन्स निवासी मूर्तिकार एन्टोनियो क्यानोभाले उनको दुइटा मूर्ति बनाउन चाहे । पाउलिन मूर्तिको लागि पोज दिन तयार त भइन् तर शर्त तेस्र्याइन् कि नांगो मूर्ति बनाउन् । र, जब उनी मूर्ति बनाउन लगाउन सर्वांग नांगो उभिइन् उनको मिलेको सुन्दर शरीर देखेर क्यानोभा पसिना–पसिना भए ।

पाउलिन यौनको मामिलामा निम्फो (अत्यधिक यौन चाहना राख्ने स्त्री) थिइन् । उनका प्रेमी अनगिन्ती हुन्थे । पेन्टर, संगीतकार, सिकर्मी, नेपोलियनको कार्यालयका कर्मचारीदेखि लिएर सबै । उनी प्रत्येक प्रेमीबाट यौन सन्तुष्टि मिलोस् भन्ने चाहना राख्थिन् । त्यसैले धेरै किसिमका यौन रोग भोगिन् पनि । नेपोलियनले बहिनीको यो पुरुषलम्पट स्वभावलाई रोक्न कहिल्यै चाहेनन् तर, उनी पाउलिनका प्रेमीलाई जानाजान युद्धको मैदानमा पठाउँथे ताकि जीवित नफर्कुन् ।

नेपोलियनले पाउलिनलाई मद्दत गरेको फल पाए सत्ताबाट हटेपछि । उनी एल्बा टापुमा निर्वासनमा जान लाग्दा पाउलिन एक्ली बहिनी थिइन्, जसले सत्ताबाट बाहिरिएका दाजुसँगै जाने इच्छा व्यक्त गरिन् । नेपोलियन जब पुनः सत्ता प्राप्त गर्न फ्रान्स फर्के त्यो बेला पनि उनलाई पाउलिनले बाहेक कसैले सघाएनन् । उनले आफूसित भएको सबै सम्पत्ति बेचेर दाजुलाई सघाइन् ।

वाटरलुको युद्धमा पराजित बनेपछि नेपोलियनलाई सेन्ट हेलेनाको निर्वासनमा पठाउँदा पनि उनी संगै जान चाहिन् । तर, अनुमति पाइनन् । उनी रोममै विदेशी शक्तिलाई गुहारेर बसिन् । एकपछि अर्को पत्र लेखेर आफ्ना दाजुको रिहाइमा पहल गरिदिन आग्रह गरिरहिन् । र, सन् १८२१ मा सेन्ट हेलेनामै नेपोलियनको निधन हुँदा पनि परिवारका अन्य सदस्यले भन्दा उनैले बढी दुःख मनाइन् र रोइन् । उनी दाजु नेपोलियनलाई औधी माया गर्थिन् र उत्तिकै आदर पनि ।

तर, आफ्ना भाउजूहरू जोसेफिन र मारिया दुबैलाई मन पराउँदैनथिन् । उनले एकपटक भनेकी थिइन् ‘म मेरो लोग्नेसितको सम्बन्ध बिच्छेद गर्छु र मेरो दाजु (नेपोलियन) सित बिहे गर्छु।’ उनको उक्त भनाइलाई आधार मानी कतिपय इतिहासकरले दाजु–बहिनीबीच यौन सम्बध रहेको हुनुपर्ने दाबी गरेका छन् तर यसको पुष्टि आजसम्म कसैले गर्नसकेका छैनन् ।

जीवनभर व्यभिचार र विलासी जीवनमा आफूलाई लिप्त पारेकी उनले लोग्नेहरूलाई भने कहिल्यै काबुमा राख्न सकिनन् । जीवनको अन्तिम समयको साथमा लोग्ने थिएनन् । पुरानो प्रेमिकासित बस्न फ्लोरेन्स गए र पाउलिनसित सम्बन्धविच्छेद प्रयास गरे । पाउलिनले पोपमार्फत लोग्नेसँग पुनर्मिलनको सयौं प्रयास थालिन् ।

तर, यसबीच क्यान्सरबाट सन् १८२५ मा मात्र ४४ वर्षको उमेरमा उनको निधन भयो । मृत्युको समयमा पनि उनी आफ्नो सबैभन्दा राम्रो र महँगो लुगामा थिइन् । अन्तिम समयमा पनि पाउलिन आफ्नो शरीरको सौन्दर्यलाई लिएर घमण्डी थिइन् । ओछ्यानबाट उठ्नसमेत नसक्ने भइसकेकी उनले आफ्ना नोकरहरूलाई ठूलो ऐना ल्याउन आदेश दिइन् । ऐना हेरेर मुसुक्क हाँसिन् र भनिन् ‘ल, म मर्नबाट डराइन किनकि म अहिले पनि उत्तिकै सुन्दर रहेछु ।’

टिप्पणीहरू