जिते पदाधिकारी, हारे समाजवादी !

जिते पदाधिकारी, हारे समाजवादी !

– वैकुण्ठ ढकाल

ठूलो पार्टी । थोरै र आफू अनुकूलकै प्रतिनिधि । निर्वाचनबाट हैन, सहमतिका नाममा ‘टिके’ प्रथाको निरन्तरता । यसकै आधारमा आफू एक्लो उम्मेदवार हुने र दशौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुने केपी शर्मा ओलीको योजनामा आइतबार एकाएक धक्का लाग्यो । अर्थात् एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा आयो उपाध्यक्ष भीमबहादुर रावलको । रावलको घोषणाले ओली ‘निर्विकल्प’ हैनन् भन्ने भएको छ । माधवकुमार नेपाललाई ‘लखेटेपछि’ एक्लै चलाउँछु भन्ने योजनामा धक्का लागेको छ ।

यो कुरा स्वयं भीम रावललाई पनि छ । अहिले जसरी महाधिवेशन प्रतिनिधि छानिएका छन्, त्यसबाट चुनाव जितिन्न । तैपनि, अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसका कारण र अर्थ पनि छन् । सबै कुराको हिसाब–किताब राखेरै रावलले उम्मेदवारी दिएका हुन् । राजनीति गर्नेहरूले लामो समयसम्मको हिसाब–किताब राखेका हुन्छन् ।

जसरी माधवकुमार नेपालले आफू महासचिव हुँदा केपी शर्मा ओलीलाई किनारा लगाएका थिए । त्यसभन्दा निकै माथि उठेर ओलीले पहिलो कार्यकालमै माधव नेपाललाई पार्टीमा रहन नसक्ने बनाइदिए । माधव नेपालले ऊर्जाशील जीवन खर्चिएको हुँदाखाँदाको पार्टीबाट हात धुनुप¥यो । अब रावलले के–के खप्नुपर्छ त्यो त समयले देखाइहाल्छ । यो पनि पछिको कुरा भयो ।

मंसिर १० गते नारायणी नदी किनारमा पुग्दासम्म महाकालीका रावलको मनस्थिति के होला ? त्यतिबेलासम्म परिस्थिति के बन्ला ? त्यहाँबाट अलि पर सौराहामा पुग्दा तिनले के गर्लान् ? यी प्रश्नको जवाफ अबको एक हप्तामा आइसकेको हुनेछ । उम्मेदवारी दर्ता हुने बेलासम्म रावल आफूले गरेको घोषणामा अडिएलान् कि नअडिएलान् ? उम्मेदवारी दर्ता गराए पनि मतदानको बेलासम्म ओलीलाई नै समर्थन गरेर उम्मेदवारी फिर्ता पो लिने हुन् कि ?

हुन त भीम रावल आफ्नै घोषणा र प्रतिबद्धतामा अडिएका कमै घटना छन् । रावल र राजीनामा सँगैसँगै हिँड्छन् । यसले रावलका घोषणा फिर्ता हुने सम्भावना बढी छ । पार्टीमा असहमति भयो– राजीनामा । पार्टी र सरकारमा मन मिलेन या भाग मिलेन भने पनि राजीनामा । पछिल्लोपटक दसबुँदे सहमति कार्यान्वयन कार्यदल संयोजक पदबाट राजीनामा दिएको धेरैलाई थाहा छ । अनि रावलको राजीनामाका विषयमा अध्यक्ष ओलीले गरेको हलुका टिप्पणी थाहा नहुने कुरै भएन । राजीनामामा नमिलेको कुरा खाली १० बुँदेअन्तर्गत सुदूरपश्चिम प्रदेश एमालेको इञ्चार्ज चाहियो ।

यसअघि रावलले साउन ३ गते प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने भएपछि सांसद पदबाट राजीनामा दिए । तर, त्यसबेला राजीनामा दिँदा पत्रकारका अघि नैतिकताको प्रहसन गरेका रावलले राजीनामा फिर्ता लिएको विज्ञप्तिसमेत सार्वजनिक गरेनन् । आफैंले राजीनामा दिएको संसदमा गएर कुर्लन रावललाई अलिकति पनि अप्ठ्यारो लागेन । हुन त दुई–दुई पटक संसद् विघटन गरेर ठूला कुरा गर्न ओलीलाई अलिकति लाज लागेको थिएन । प्रधानमन्त्रीबाट हटेको केही दिनमै गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्नैप्रश्न गरेका थिए ।

रावल र राजीनामाले कम्तीमा पनि राजनीतिक स्मरण शक्ति भएकालाई गम्भीर बनाउँदैन, हाँसोको फोहरा छुटाउँछ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउन गठित समितिबाट पनि रावलले घुर्कीकै भरमा राजीनामा दिएका थिए । राजीनामा दिएर मागेको पद र नियुक्ति लिने बानी परेका रावल आठौं महाधिवेशनमा त उपाध्यक्षमा कार्यकर्ताले धुलो चटाइदिएपछि केन्द्रीय सदस्यको शपथ नै नखाई बसेका थिए ।

माधवकुमार नेपालको सरकारमा गृहमन्त्री बन्न पाउने भएपछि मात्र केन्द्रीय सदस्यको शपथ लिए । ०६३ सालमा संसद् पुनःस्थापना भएर बनेको सरकारमा पनि परराष्ट्रमन्त्री दाबी गरेका रावलले शिक्षामन्त्रीमा थन्किनुपर्ने भएपछि राजीनामाकै बालहठ प्रदर्शन गरे । अहिले अध्यक्षमा उम्मेदवारी घोषणा पनि अर्को कुनै पद सुरक्षित गर्नको लागि हुन सक्छ । अहिले उपाध्यक्ष भएका रावल अध्यक्ष हुने सम्भावना कम छ । अब रावलको सपना भनेको वरिष्ठ उपाध्यक्ष हुने नै हो ।

तर, एमालेको पदाधिकारीमा आकांक्षी धेरै छन् । सबै ‘छोराछोरी’ लाई भाग पु¥याउन र मनाउन केपी ‘बा’ लाई फलामको च्यूरा चपाउनु सरह हुनेछ । १५ पदाधिकारीमा दर्जनौंलाई समेट्न कठिन हुनेछ । जिते पदाधिकारी, हारे समाजवादी हुने अवसर एमाले नेताहरूलाई छँदैछन । नेता जिम्मेवार हुन्, बोली विश्वासिलो होस् कदम पत्याउन लायक होस्, अनि हरेक अप्ठ्यारामा पनि धैर्यवान होउन् ।

तर उत्तेजनामा बोल्ने र लोभमा फस्ने बानीले रावलकै जस्तो धेरै नेताको हविगत हुनसक्छ । रावल जस्तै दश बुँदे सहमतिका नाममा एमालेमै रहेका १० भाइको अवस्था के हुने हो, अबको एक हप्तामा थाहा लाग्नेछ । माधव नेपाललाई पार्टी फुटाउन लगाएका १० भाइलाई जत्तिकै माओवादीबाट एमाले भएकाहरूलाई पनि होला ।

हुन त माओवादीबाट एमाले भएकालाई ओलीको आर्शिवाद रहला । एउटालाई आर्शिवाद दिन पनि अर्कोको चित्त दुखाउनु पर्ने नै हुन सक्छ । अब १० भाइका बिकल्पमा जिते पदाधिकारी, हारे नेकपा एकीकृत समाजवादी हुने सम्भावना रहन्छ । अनि नवएमालेलाई पनि जिते पदाधिकारी, हारे माओवादी हुने बाटो खुल्ला रहन्छ । पदबिनाका नेता त के हुनु हैन र रावलजी ?

टिप्पणीहरू