एमाले महाधिवेशन: विचार मन्थन कि चुनाव

एमाले महाधिवेशन: विचार मन्थन कि चुनाव

एमालेका चितवनमा महाधिवेशन प्रतिनिधिको रुपमा भेला भएका होनहार नेता कार्यकर्ताहरुले यो महाधिवेशनलाई ऐतिहासिक र एमालेको निम्ति युगान्तकारी भेला साबित गराउने छन् अथवा त्यो केवल कुम्भ मेला जस्तो रहने छ भनेर सबैले चिन्ता र चासो सहित हेरेर बसेकाछन्।

यस्तो सोँच्नु किनपनि स्वाभाविक छ भने देशको सबैभन्दा ठुलो , सबैभन्दा भरपर्दो र सबैभन्दा लोकतान्त्रिक पार्टी भनेर चिनिएको र धेरैले मानेको यो दल अहिले हिड्न नजानेर चिप्लिएर पछारिएको मान्छेले पीडा लुकाएर लाजले रुञ्चे हाँसो हासिरहेको जस्तो अवस्थाबाट गुज्रिरहेको छ। आवाज भयंकर ठूलो छ तर त्यो आवाज पानी नभएको घैँटोबाट निस्किने आवाज जस्तो छ अर्थात खोक्रो छ।

यो महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा चुनिने पदाकांक्षीहरु यतिधेरै छन् कि कुरागरि साध्य छैन। सबका सब पदाकांक्षी छन् ।यिनीहरु सबैलाई अध्यक्षले मैलाई काखी च्याँप्छन् र मैले भनेको पदमा म निर्वाचित हुनेछु अथवा मेरो नाममा सहमति हुनेछ भनेर बसेका छन्।तर यी तमाम केन्द्रीय

पदाकांक्षीहरुले यो महाधिवेशनलाई ऐतिहासिक बनाउने भने होइन । यो महाधिवेशनलाई ऐतिहासिक बनाउने भनेको चुनिएर गएका प्रतिनिधिहरुले हो र त्यो कुरा यिनै प्रतिनिधिहरुको सुझबुझपुर्ण र साहसिक हस्तक्षेपमा निर्भर छ।यसकारण यी प्रतिनिधिहरुले बिचार गरेर , कम्युनिस्ट चरित्रलाई अँगालेर भुमिका खेल्नु आवश्यक छ।

एमालेको चितवन भेला महाधिवेशन हो कि चुनाव हो ? यदि महाधिवेशन हो भने त्यहाँ बिचारको प्रकटिकरण हुनु पर्दछ भने चुनाव हो भने मतपेटिका र मतपत्र । बिचारको प्रकटिकरण भनेको एमालेले भन्ने गरेको समाजवाद कस्तो हो ?समृद्धि कस्तो हुन्छ र कसरी प्राप्त हुन्छ ? समाजवादमा जान के के हुनुपर्छ र के के गर्नुपर्छ? सिद्धान्त कस्तो हुने, कार्यक्रम कस्तो हुने र ती सिद्धान्त र कार्यक्रमहरु कसरी लागू हुनेछन् भनेर छलफल गर्ने, बहस र वादविवाद गर्ने र एउटा निस्कर्षमा पुग्नु हो ।

अर्थात समाजवादमा जाने निश्चित बाटो पक्डिने हो । यदि चुनाव हो भने त त्यहाँ समूह बनाइन्छ , भोजभतेर खुलाइन्छ, होटेमा भेडाबाख्रालाई जस्तो प्रतिनिधिहरुलाई समुहमा थुनेर राखिन्छ।मनि र मस्सलको प्रयोग गरेर , तर्साएर फकाएर भोट हाल्न लगाइन्छ अर्थात चुनावमा सामदाम र दण्डभेदको प्रयोग गरिन्छ। सबै प्रतिनिधिहरुले यो कुरा बुझ्नुपर्छ हल भित्र ।

यो बिचको समयमा हामीले अभ्यास गरिरहेको संसदीय परिपाटी र पार्टीहरुले अभ्यास गर्न खोजिरहेको नेतृत्व छनौट गर्ने परिपाटी उस्तै उस्तै हुन खोजिरहेका छन्।जसरी हुन्छ चुनाव जित्ने र चुनाव जितेर अर्को चुनाव जित्न तयारी गर्ने। यसका निम्ति सकेसम्म धेरै पैसाको जोहो गर्ने।किनभने पैसा भए पछि त्यसको बलमा गुट निर्माणगर्ने, गुटको संरक्षणगर्ने र चुनावका दौरान मतदातालाई धम्क्याउन तर्साउन र प्रभावपार्न तिनको प्रयोग गर्ने ।

जसरी सांसदहरुका दादाहरु छन् गाउँमा, सहरका टोलहरुमा ठिक त्यस्तै गरि पार्टी भित्र नेताहरुका दादाहरु छन् जसले गाली गर्छन्, हुटिङ्ग गर्छन्, धम्क्याउने काम गर्छन् अरु नेताहरुलाई।जस्तो भिम रावललाई गेटबाटै छिर्न नदिने भनेर भनिसकेका छन्। पार्टीलाई स्पष्टतका साथ एउटा बाटोबाट हिडाउनको निम्ति प्रतिनिधिहरुले सैद्धान्तिक , बैचारिक र कार्यनीतिक प्रष्टताको माग गर्नुपर्छ।गुटका पछि लाग्न हुँदैन ।

कतिपय मानिसहरु आफ्नो नाममा सर्बसम्मत होस् भन्ने चाहिरहेका छन्।तिनीहरुले सिद्धान्त र बिचारलाई गौंड थान्दछन्।म वा हाम्रो टिम भए हुन्छ, बिचार सिद्धान्त चाहिन्न भन्छन्।यिनीहरुको भर गरेर, बहकाउमा लागेर सिद्धान्त र बिचारलाई बिर्सनु हुन्न।

हामीले चाहेको न्याय र समानतामा आधारित समाजको निर्माण गर्नसक्ने कम्युनिस्ट पार्टी हो ।गरिब मजदुर र किसानका छोराछोरीलाई पनि राम्रो शिक्षा दिनसक्ने ब्यवस्था गर्नसक्ने पार्टी हो।एकजना नागरिकले पनि मैले बिरामी पर्दा उपचार गर्न सकिन, पाइन भनेर भन्न नपर्ने ब्यवस्था गर्नसक्ने पार्टी हो। यो पार्टीका कुनै पनि सदस्यले जातपात उचनिच, धनीगरिब भनेर भेदभाव नगर्ने पार्टी बनाउने हो ।

के बिचारमा, कार्यक्रममा र त्यसलाई लागुगर्ने बिषयमा छलफल र बहस नगरीकन यस्तो पार्टी बनाउन सकिएला त ? सकिन्न।त्यसकारण प्रतिनिधिहरुको ध्यान सर्बसम्मत होइन कि छलफल र बहसबाट तर्फ हुनुपर्छ । बहस र छलफललेनै एकता सुदृढ गर्छ नकि छलछाम र डरत्रासबाट निर्माण गरिने सर्बसम्मतिले।

बिचार नभएको न राजनीति हुन्छ न त राजनीतिक दलनै।त्यसकारण पार्टीको सदस्य र कार्यकर्ता पनि बिचारशुन्य हुन सक्दैन । यो महाधिवेशनले बिचार निर्माण गर्नसक्छ, भएको बिचारलाई थप समृद्ध गर्नसक्छ।आम जनतालाई बिचार र कार्यक्रम मार्फत नेतृत्व गर्नसक्छ भनेर भरोसा दिलाउँछ।

बैचारिक हिसाबले प्रष्ट नेता कार्यकर्ता रहेको पार्टी बनाउने र त्यस्तो पार्टीले मात्रै देशको नेतृत्व गर्नसक्छ भन्ने भरोसा आम जनतालाई दिलाउन सक्ने हो भने एमाले फेरि उस्तै भएर उठ्ने छ अन्यथा पीडा लुकाएर रुञ्चे हाँसो हास्नेको नियति भोग्न अभिशप्त हुनेछ ।

टिप्पणीहरू