दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट फेला परेको छ । बी.१.१.५२९ नाम दिइएको उक्त भेरिएन्टमा ‘धेरै संख्यामा उत्परिवर्तनहरू’ रहेको बताइएको छ ।

मंगलबार पहिलो पटक फेला परेको उक्त भेरिएन्ट डेल्टा भेरिएन्टभन्दा धेरैगुणा संक्रामक र खोप प्रतिरोधी हुनसक्ने डर देखिएको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो भेरिएन्टका कारण पहिलेका अरु कोभिड भेरिएन्टलाई लक्षित खोपहरू कम प्रभावकारी हुन सक्ने समेत औंल्याइएको छ ।दक्षिण अफ्रिकाको नेशनल इन्स्टिच्युट फर कम्युनिकेवल डिजिजका अनुसार हिजोसम्म बी.१.१.५२९ का २२ वटा नयाँ केस फेला परेका छन् ।

‘यो भेरिएन्टले हामीलाई चकित तुल्यायो,’ क्वाजुलु–नेटल रिसर्च एण्ड इनोभेसन सिक्वेन्सिङ प्लेटफर्मका निर्देशक टुलियो डे ओलिभेराले हिजो भनेका छन् ।

निर्देशक टुलियोले समग्रमा ५० उत्परिवर्तनहरू भेटिएको र स्पाइक प्रोटिनमा ३० भन्दा बढी भेटिएकाले उक्त अनुसन्धानको प्रमाण आफूहरुले सोचेभन्दा फरक भएको बताएका छन्

यो भेरिएन्ट अहिले बोत्सवाना र हङकङमा समेत पत्ता लागेको छ । नयाँ भेरिएन्ट फेला परेपछि बेलायत र इजरायलले दक्षिण अफ्रिकामा हुने यात्रामा रोक लगाएका छन् ।

टिप्पणीहरू