विदेशबाट एमालेका को-को पाहुना आउन बाँकी ?

विदेशबाट एमालेका को-को पाहुना आउन बाँकी ?

एमालेको आजदेखि चितवनमा हुने दशौं महाधिवेशनमा सहभागी हुन विदेशी पाहुनाहरु आउने क्रम जारी छ । चार देशको आठ वटा राजनीतिक दलका १५ जना प्रतिनिधि आउने निश्चित छ । तीमध्ये केही आइसकेका छन् भने बाँकी आज रातिसम्ममा काठमाडौं आइपुग्ने तालिका छ ।

१५ जनामध्ये ११ जना काठमाडौं आइपुगेर हिजै साँझ चितवन पुगेका छन् । कम्बोडियाका चार जना पाहुना आज राति सवा १० बजे काठमाडौं उत्रिँदैछन् । उनीहरु चारै जना सिंगापुर एअरलाइन्सको उडानबाट राति सवा १० बजे काठमाडौं आइपुग्ने र भोलि बिहान चितवन पुर्याइने कार्यतालिका रहेको बताइएको छ ।

भारतका सात जनामध्ये पाँच जना हवाइ उडानबाट र दुई जना स्थलमार्गबाट आएका छन् । वीरेन्द्रप्रसाद गुप्ता र सन्दिप सौरभ स्थलमार्गबाट नेपाल आएका हुन् ।

श्रीलंकाली पाहुना हिजो बिहान पौने १० बजे श्रीलंकन एअरको उडानबाट आएका हुुन् । बंगलादेशका तीन जना पाहुना पनि हिजो बिहान सवा १० बजे बिमान बंगलादेशको उडानबाट काठमाडौं आएका हुन् ।

भारतका शर्मा थरका एक जना पाहुना सोमबार नै एअर इण्डियाको उडानबाट आएका थिए । अरु तीन जना हिजो दिउँसो काठमाडौं उत्रेका हुन् ।

१५ जना विदेशी पाहुनामध्ये आठ जनालाई एमाले नेताहरुले विमानस्थल तथा नाकामा स्वागत गर्दै होटल व्यवस्थापन गरेका थिए । तर हिजो आएका तीन जना भारतीय र आज राति आउने चार जना कम्बोडियाली पाहुनालाई भने होटल सोल्टीले विमानस्थलबाट ल्याउने र चितवन पुर्याउने जिम्मा लिएको छ ।

टिप्पणीहरू