क-कसको नाम छ झोलीमा ? सम्पूर्ण सार्वभौमसत्ता केपी ओलीमा

क-कसको नाम छ झोलीमा ? सम्पूर्ण सार्वभौमसत्ता केपी ओलीमा

निकै चर्चा र चासोका साथ हेरिएको नेकपा एमालेको दशौँ महाधिवेशन भोलिदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनका लागि नेता-कार्यकर्ता चितवन पुग्ने क्रम जारी छ । भड्किलो प्रचार र तडकभडकले महाधिवेशनमा जति रौनकता थपिएको छ,नेतृत्वका आकांक्षीहरुबीचको रस्साकस्सीले एमाले पंक्ति उत्तिकै गर्माएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष केपी ओलीको प्रयासलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि १५ पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनावी प्रतिष्पर्धाबाटै छानिने अवस्था बनेको छ । यसैबीच पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरु बिस्तारै खुल्न थालेका छन् । कतिपयले उम्मेदवारी घोषणा गर्न थालेका छन् भने केही पर्सिसम्म ‘पर्ख र हेर’ को रणनीतिमा लाग्ने देखिएका छन् ।

नवौँ महाधिवेशनसम्म नीति विमर्श र नेतृत्व चयन एकै थलोबाट गर्दै आएको एमालेले यसपटक अलग्गै विधान महाधिवेशन गरेर पार्टीको आगामी पाँच वर्षे नीति तय गरिसकेको छ । चितवन महाधिवेशन नितान्त नेतृत्व चयनमा केन्द्रित हुने भएकाले आम चासो र चर्चा चुलिएको हो । तथापि निर्वाचनबाटै नेतृत्व चयन हुने लगभग निश्चित भए पनि १५ जना पदाधिकारीको प्रष्ट तस्वीर अझै आइसकेको छैन ।

‘पहिला नेपाल कम्युनिष्ट पार्टीको नारा थियो – सम्पूर्ण सार्वभौमसत्ता जनतामा । अहिले एमालेको नारा भयो – सम्पूर्ण सार्वभौमसत्ता केपी ओलीमा ।’

एमालेमा महाधिवेशनपछिको नेतृत्वलाई लिएर राजनीतिक वृत्तमा दुई खाले बहस छन् । लामो समय एमालेको नेतृत्व तहमा रहेका माधव नेपाल,झलनाथ खनाल,वामदेव गौतम,मुकुन्द न्यौपाने,प्रदिप नेपाललगायतका नेताहरुले पार्टी छोडेकाले अहिले एमालेमा अध्यक्ष ओलीको एकछत्र वर्चस्व छ ।

ओलीले चाहेअनुसार नै महाधिवेशनले निर्णय गर्ने अवस्था देखिएकाले चुनाव या सर्वसम्मत जुन विधि अपनाए पनि एकै परिणाम आउने एकथरीको बुझाइ छ । अर्कोथरीले भने ओलीको हार्डकोर टीममै आकांक्षीको संख्या धेरै भएकाले कतिपय पदमा अहिले अनुमान गरेभन्दा फरक पात्रले नतिजा हात पार्न सक्ने विश्लेषण गरेका छन् ।

सम्पूर्ण सार्वभौमसत्ता ओलीमा

एमालेमा अहिले अध्यक्ष ओलीलाई चुनौती दिनसक्ने नेताको अभाव छ । ओली नेतृत्वमा रहेकै बेला एमाले तीन चिरा भएको छ,तथापि विभाजनको आलो घाउ बोकेर चितवन पुगेका ९० प्रतिशत बढी प्रतिनिधिले उहाँलाई नै अध्यक्षमा दोहोर्याउने संकेत प्रष्टरुपमा आइसकेको छ । देशभरबाट छानिएका प्रतिनिधिहरुको मनोदशा हेर्दा एउटै कक्षा दोहोर्याएर नपढ्ने घोषणा गर्नुभएका ओलीलाई नै पुन: अध्यक्ष जिताउनेमा शंका छैन ।

‘नेतृत्व चयनमा सर्वसम्मत हुँदैन र केपीको कोर टिमबीच प्रतिष्पर्धा पनि हुँदैन’,

नेतृत्वका आंकाक्षी भएपनि महाधिवेशनमा ओलीलाई टक्कर दिने नेता अहिलेसम्म देखिएको छैन । बरु पार्टी नै ओली र ओली नै पार्टी ठान्ने पंक्ति हावी छ । तत्कालीन वरिष्ठ नेता माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएर एमालेमै बसेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले गणितीय आधार नहुँदा ओलीलाई चुनौती दिने सम्भावना देखिएको छैन ।

तथ्यलाई आत्मसात गरेर भन्ने हो भने अहिले एमालेको सम्पूर्ण सार्वभौमसत्ता ओलीमा केन्द्रित छ । अर्थात् चुन्ने र चुनिने महाधिवेशन प्रतिनिधिको सार्वभौम अधिकार उनीहरुसँग छैन । ‘पार्टी कस्तो बन्यो भने सम्पूर्ण सार्वभौमसत्ता जनतामा भनेजस्तै पार्टीको सत्ता ओलीमा गयो’,एक पुराना एमाले नेता भन्छन्, ‘पहिला नेपाल कम्युनिष्ट पार्टीको नारा थियो – सम्पूर्ण सार्वभौमसत्ता जनतामा । अहिले एमालेको नारा भयो – सम्पूर्ण सार्वभौमसत्ता केपी ओलीमा ।’

आफूलाई निर्विरोध,अरुका हकमा चुनाव

विरोधीबिहीन पार्टी बनाउने घोषित नीतिअनुसार दशौँ महाधिवेशनपछि निर्विकल्प नेताका रुपमा स्थापित हुने ओलीको चाहना हो । त्यसको पूर्वाभ्यासका रुपमा उहाँकै निर्देशनमा देशैभर झण्डै झण्डै सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो । स्थानीयस्तरका अधिवेशनमा पनि त्यसैगरी नेतृत्व छानिएको हो ।

“पहिलो,दोस्रो,तेस्रोपछि चौथो रोजाइमा पर्ने सम्भावना देखेर उनलाई उपाध्यक्षमा अघि सर्न उनको टीमका नेताहरुले सुझाव दिएका छन् । सायद उम्मेदवारी दिन्छन् होला ।’

चुनावी प्रतिष्पर्धालाई अघोषित रुपमा बन्देज लगाएर आम पार्टी पंक्तिलाई ओलीविरुद्ध खडा नहुन मनोवैज्ञानिक दबाब दिइएकाले त्यसको प्रत्यक्ष प्रभाव महाधिवेशनमा पर्ने एमाले राजनीतिलाई नजिकबाट बुझेकाहरु बताउँछन् ।

तर,उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि सर्वसम्मत नेता बन्ने ओलीको चाहनामाथि भने तगारो लागेको छ । तथापि ओलीमाथि गणितीय चुनौती भने छैन । बरु बाँकी पदाधिकारीमा आफ्नै कोरटिमका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती भने ओलीमाथि बढेको छ । आफ्नै समूहबाट एउटै पदमा धेरै आकांक्षी देखिएपछि ओलीले निर्वाचनको बाटो खुला गरिदिनु भएको छ ।

शंकर पोखरेल,बिष्णु पौडेल,प्रदीप ज्ञवाली,ईश्वर पोखरेल,पृथ्वीसुब्बा गुरुङ्ग,विष्णु रिमाल,सुवास नेम्वाङ ओलीको हार्डकोर टीमका सदस्य हुन् । यिनै नेताहरुको व्यवस्थापन ओलीका लागि टाउको दुखाइको विषय बनेको अधिकांश एमाले नेताहरुको बुझाइ छ । यो टीमबाट अध्यक्षपछिको दुई दुई मुख्य पदमा नेताहरुको हानथाप छ । बताइएअनुसार अध्यक्षपछिको दोस्रो पद वरिष्ठ उपाध्यक्षमा ईश्वर र सुवासको दावेदारी छ । त्यस्तै, महासचिवमा लुम्बिनी प्रदेशका दुई नेता विष्णु र शंकर आमनेसामने हुने अवस्था छ ।

त्यतिबेलाका त्यत्रो जाज्वल्यमान नेता भण्डारीका विरुध्दसमेत रघु पन्त,मोहनचन्द्र अधिकारी,सानू श्रेष्ठ,सिपी मैनालीहरुले फरक मत हालेका थिए ।

ओलीले यहि अप्ठेरो बुझेर चलाखीपूर्ण ढंगले प्रतिष्पर्धाको बाटो देखाएको धेरैको अनुमान छ । तथापि हार्डकोर टीमका सदस्यहरु सकभर चुनावमा नजाने गरी छलफलमा जुटेको एकथरी नेताहरुले दावी गरेका छन् । ‘नेतृत्व चयनमा सर्वसम्मत हुँदैन र केपीको कोर टिमबीच प्रतिष्पर्धा पनि हुँदैन’, जानकार स्रोतको भनाइ छ ।

१० भाइ समूहको अर्कै दाउ

माधव नेपाल र झलनाथ खनालले छोडेर गएपछि सांगठनिक आधार गुमाएका तेस्रोधार भनिने ‘१० भाइ’ समूह अहिले तितरबितर छ । उपाध्यक्ष रावल र उपमहासचिव भुसालबाहेक अरु सबै अध्यक्ष ओलीसंग निकट छन् । अध्यक्षसँग सहकार्यको नीति अघि सारेका उनीहरु आफ्नै खुट्टामा उभिएर चुनावी प्रतिष्पर्धामा उत्रने सम्भावना कम छ ।

१० भाइ समूहका रावल र भुसाल भने आफ्नो फरक मत दर्ज गर्नैका लागि भए पनि सर्वसम्मत हुन नदिने पक्षमा छन् । तर, यी दुई भाइबीच पनि आवश्यक छलफल र तयारी नभएकाले ११ गतेसम्म के हुन्छ भन्न सक्ने अवस्था नरहेको बताइन्छ ।

‘सर्वसम्मत नै भए पनि एउटा विधि त चाहिएला नि ! कि आफूलाई मन परेको नेतालाई टिपेर जिम्मेवारी दिने विधि बनेको हो र !’

अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका रावललाई बेवास्ता गरेका १० भाइ समूहका नेताहरुले घनश्यामको व्यवस्थापनमा अध्यक्ष ओलीसंग लबिङ गरिरहेको स्रोतको भनाइ छ । उनीहरु भुसाललाई उपाध्यक्षमा जिताउन ओलीलाई मनाउने प्रयासमा रहेको बताइएको छ।

‘इश्वर र सुवास वरिष्ठ उपाध्यक्षमा लडे भने चौथो उपाध्यक्षमा भुसालको चान्स हुन्छ’, स्रोत भन्छ, ‘किनभने पहिलो,दोस्रो, तेस्रो पछि चौथो रोजाइमा पर्ने सम्भावना देखेर उनलाई उपाध्यक्षमा अघि सर्न उनको टीमका नेताहरुले सुझाव दिएका छन् । सायद उम्मेदवारी दिन्छन् होला ।’

ओली मदनभन्दा पनि माथि ?

अध्यक्ष ओलीको देवत्वकरण गरिएको भन्दै एमालेका कतिपय नेताहरुको असन्तुष्टि छ । पार्टीभित्र हुर्कंदै गएको ‘बा’ प्रवृत्ति महाधिवेशनसम्म आइपुग्दा थप मौलाएको उनीहरुको निष्कर्ष छ । सर्वसम्मत नेतृत्व चयन भनेर पार्टीको आन्तरिक लोकतन्त्र र जनवादी अभ्यास मास्न खोजेको भन्दै भित्रभित्रै असन्तुष्टि पोख्नेहरु धेरै छन् ।

मदन भण्डारीभन्दा पनि ओलीलाई माथि राख्ने प्रयास हुन थालेको भन्दै गुनासो पनि गर्ने गरेका छन् । एमालेको पाँचौं महाधिवेशन २०४९ साल माघ १४–२० मा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो । माले–मार्क्सवादी एकतापश्चात भएको महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गरेको थियो ।

उक्त महाधिवेशनले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको कार्यक्रम पारित गरेको थियो । त्यतिबेलाका त्यत्रो जाज्वल्यमान नेता भण्डारीका विरुध्दसमेत रघु पन्त,मोहनचन्द्र अधिकारी,सानू श्रेष्ठ,सिपी मैनालीहरुले फरक मत हालेका थिए ।

जबजकै आलोकमा अहिले राष्ट्रिय राजनीतिमा स्थापित भएको एमालेमा केपी ओलीलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्न प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जबजको मान्यता कुल्चिने प्रयास भैरहेको असन्तुष्टहरुको आरोप छ ।

‘सर्वसम्मत नै भए पनि एउटा विधि त चाहिएला नि ! कि आफूलाई मन परेको नेतालाई टिपेर जिम्मेवारी दिने विधि बनेको हो र !’, एक नेता प्रश्न गर्छन्, ‘कि उहाँले आफूलाई मदन भन्दा पनि माथि ठानेको हो ?’

टिप्पणीहरू