महाधिवेशनको महासंग्राम र नेता–कार्यकर्ताको मन

महाधिवेशनको महासंग्राम र नेता–कार्यकर्ताको मन

– टिकाराम सुनार

कुनै पनि लोकतान्त्रिक मुलुकमा क्रियाशील पार्टीका निम्ति दुईवटा महत्वपूर्ण क्षण आउँछन् । पहिलो, आन्तरिक जीवनमा हुने निर्वाचनको उत्सव र दोस्रो, आवधिक निर्वाचनको महाउत्सव । पहिलो क्षणमा पार्टीले आफ्नो आन्तरिक जीवनको बन्दोबस्ती गर्छ ।

जसरी एउटा रुखले हरेक बसन्त ऋतुमा नयाँ पालुवासहित प्रकृतिलाई नै मनमोहक र आकर्षक बनाउँछ त्यसैगरी एउटा जीवन्त पार्टीको जीवनमा निर्वाचनको माध्यमबाट नयाँ बहार ल्याउने प्रयत्न हुन्छ । यसले नीतिमा परिमार्जन, परिस्कृत एवं समयको पदचाप पछ्याउन दिशाबोध त गर्छ नै, साथसाथै देशका तात्कालिक र दीर्घकालीन सपनाहरूलाई संबोधनको ल्याकत राख्नसक्ने नीति द्रष्टाको उदयका लागि आधार निर्माण गर्दछ ।

पार्टीलाई देशकै राजकाज सम्हाल्ने ठाउँसम्म पु¥याउने र नयाँ इतिहास निर्माणको जिम्मा लगाउन सक्ने गुण भएको नेतृत्वलाई वैधता प्रदान गर्दछ । यसर्थ पार्टीलाई पार्टी हुनुको आभाष दिलाउने, नेतृत्वलाई नेतृत्व हुनुको अर्थसिद्धि गर्न नैतिक तागत प्रदान गर्ने यस्ता अधिवेशन, महाधिवेशन राजीतिक पार्टीको जीवनमा उत्सवहरू नै हुन् ।

अहिले नेपालका तीन प्रमुख पार्टीहरूको महाधिवेशन महासंग्रामले देशको राजनीतिक माहोल गरमागरम छ । यही बीचमा कुनै समय वामपन्थी कम्युनिष्ट आन्दोलनको केन्द्र रहेको नेकपा मालेको महाधिवेशन सम्पन्न भएको छ । कात्तिक २७ देखि २९ सम्म भएको आठौं महाधिवेशनले आजभन्दा ४३ वर्षअघि वि.सं. २०३५ सालमा माले स्थापना हुँदाताकाका संस्थापक महासचिव ७० वर्षीय सीपी मैनालीलाई पुनः महासचिव बनाएको छ ।

अब यही मंसिर १० गतेबाट २०४६ को जनआन्दोलनपछि अन्य कम्युनिष्ट पार्टीसँग एकीकरण भएर मालेबाट एमाले बनेको संसदको सबैभन्दा ठूलो दलको १० औं राष्ट्रिय महाधिवेशन हुँदै छ । लगत्तै परम्परागत राजनीतिक संस्कारको पक्षपाती राप्रपाको राष्ट्रिय महाधिवेशन हुँदैछ मंसिर १५ र १६ गते । त्यसपछि मंसिर २४ देखि सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको महाउत्सव हुनेछ भने पुस ११–१३ सम्म नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन ।

यसरी हेर्दा यो वर्ष प्रमुख पार्टीहरूको आन्तरिक उत्सव सकिँदानसकिँदै अर्को वर्ष देशकै निर्वाचनको महाउत्सव शुरु हुनेवाला छ ।

महाधिवेशनबाट आम अपेक्षाः

जब जब पार्टीका महाधिवेशन आउँछन्, विश्वेश्वरप्रसाद कोइरालाको भनाई चर्चामा आउँछ । उहाँले भन्नुभएको छ ‘महाधिवेशन नेताहरूको मात्रै होइन, हरेक कार्यकर्ताको विवेकको परीक्षा पनि हो ।’ सायद बीपीले देश, जनता, राष्ट्रसेवा गर्ने उत्कट चाहना भएका व्यक्तिभन्दा पैसा, सत्ता र बाहुबलको आधारमा पार्टी कब्जा गरी व्यक्तिगत सुखभोग र सँधैभरि सत्ताको बाघचाल खेलेर रमाउने मनोविज्ञानबाट ग्रस्त नेतृत्वबाट पार्टीलाई जोगाउनुपर्छ भन्ने अर्थमा त्यसो भनेको हुनुपर्दछ ।

हुन त महाधिवेशन एउटा पार्टीको आन्तरिक जीवनमा हुनै पर्ने कुरा हो । यो नितान्त पार्टीको आन्तरिक अभ्यास हो । तर, तिनै दलहरू राज्य सञ्चालनको निर्णायक शक्ति भएकाले उनीहरू ठीकठाक भएनन् भने सिंगो देशले दुःख पाउँछ । देश बनाउने अभियानको प्रमुख हिस्सेदार रहेका राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र, ती पार्टीका नेतृत्वकर्ताको उदय, नैतिक धरातल, लोकतान्त्रिक संस्कार र आचरण, समन्वयकारी चरित्र, सामूहिकताको भाव र त्यहीअनुसार देश दिशा बदल्ने कुरा जोडिन्छ ।

दलहरूको मूल नेतृत्व कस्तो मान्छेको हातमा छ भन्ने कुराले देशको भविष्य आकलन गर्न सकिन्छ । सकारात्मक हस्तक्षेप गर्ने बिलक्षण प्रतिभा, असाधारण ईच्छा शक्ति र सपना विनाको नेतृत्व भएको देश कहिल्यै उँभो लाग्दैन । त्यस्तो नेतृत्व पार्टी र पार्टी संरचना राज्यशक्तिको दोहन, बर्बादी र अधोगतिको कारण मात्र बन्दछ । यसर्थमा पार्टीको महाधिवेशन पार्टीका लागि त महत्वपूर्ण हुँदै हो, त्योभन्दा बढी समृद्धिका अनगिन्ती सपनाको पखाईमा तमाम उतारचढाव भोगेर आएको लोकतान्त्रिक देशका लागि महत्वपूर्ण हुन्छ ।

अहिले देशले नयाँ गति खोजिरहेको छ । व्यवस्थाले नयाँ प्राण भरिरहेको छ । जनताले संविधान कार्यान्वयनसहित नयाँ नेपालको नयाँ भाष्य निर्माण गर्नसक्ने उच्च नैतिक तागत र क्षमता भएको नेतृत्व खोजिरहेका छन् । नयाँ संविधान, नयाँ व्यवस्था, नयाँ सपना र नयाँ परिवेशमा देशका आन्तरिक सपनाहरूका साथै विश्वग्राममा रुपान्तरण हुँदै गरेको सीमाविहिन राष्ट्रवाद अर्थात डिजिटल राष्ट्रवादसँग सघन सौदावाजी गर्दै राष्ट्रको युग सुहाउँदो पहिचान बनाउनसक्ने नेतृत्व अहिलेको आवश्यकता हो । अहिलेका बेथिति, विसंगति, कुशासन, गरिबी, बेरोजगारीबाट मुक्ति दिने नेतृत्व अहिलेको पखाई हो ।

तर देश र देशमा रहेका पार्टीहरूको यथार्थ भने फरक छ । २०३५ सालको घनघोर पञ्चायतमा पार्टी प्रमुख भएका सीपी मैनाली ४३ वर्षपछि पनि प्रमुखमै छन् । त्यही मूलबाट फुटेका केपी शर्मा ओली पार्टीभित्र सत्तापक्ष भए वा नभए पनि सधैं शक्तिमै छन् । एक पटक पार्टी अध्यक्ष, दुई पटक प्रधानमन्त्री भएका ओलीकै पालामा दुई पार्टी एक र एक पार्टी तीन टुक्रा भयो । ओलीमा फेरि अर्को कार्यकाल अध्यक्ष र प्रधानमन्त्री बन्ने जिजीविषा कायमै छ ।

३२ वर्षदेखि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमै छन् । नेपालका कार्लमाक्र्स भनेर चिनिने नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह २०३१ सालदेखि, चित्रबहादुर केसी २०५२ मा पार्टी गठन भएदेखि, माधव कुमार नेपाल २०५० सालमा मदनभण्डारीको देहावसानपछि तत्कालीन एमालेमा, अहिले एकीकृत समाजवादीमा र नारायणमान बिजुक्छे २०४६ सालमा नेमकिपा गठन भएदेखि अहिलेसम्म अध्यक्षमै छन् । बाबुराम भट्टराई, मोहन बैद्य किरण, नेत्रबिक्रम चन्द पार्टी फेरेर भए पनि पार्टी प्रमुख भइरहनेमै पर्दछन् ।

कम्युनिष्टमा मात्रै होइन यही प्रवृति प्रजातान्त्रिक भनिएको नेपाली कांग्रेसमा पनि छ । पञ्चायतकालमै महामन्त्री बनेका गिरिजाप्रसाद कोइराला आजीवन नेतृत्वमै रहे । पार्टी फुट्दा सभापति बनेका शेरबहादुर देउवा अहिले मूल पार्टीको पनि सभापति नै छन् । पाँचपटक प्रधानमन्त्री भइसके । देउवामा आउँदो महाधिवेशनबाट फेरि पार्टी सभापति भएर बहुमतको प्रधानमन्त्री बन्ने सपना मरिसकेको छैन ।

यत्रो वर्षपछि पनि पार्टीसत्तामा एमालेको अबको उत्तराधिकारी को ? प्रचण्डपछि माओवादी केन्द्रको लिगेसी कसले धान्ने ? देउवा खेमा वा कांग्रेसमा अबको कमाण्डर को ? यसको उत्तर कसैसँग छैन । स्वयं ओली, प्रचण्ड, देउवा नै उत्तर नभेटाएर फेरि पनि पार्टी आफ्नै कब्जामा राख्ने दाउमा छन् । त्यसका लागि अहिले जारी महाधिवेशन प्रक्रियामा उहाँहरूको भरमग्दुर प्रयास जारी नै छ । कांग्रेसबाहेक अरू पार्टीमा परिस्थिति यस्तो बनाइएको र बाटो यस्तरी छेकिएको छ कि कसैले चाहेर पनि चुनौति दिने अवस्था छैन । एमालेमा भीम रावलले अध्यक्षको उम्मेदवारी घोषणा गरेर ओलीलाई सर्वसम्मत बन्नेबाहेक अरू केही गर्न सक्नेवाला छैनन् । माओवादीमा अध्यक्ष प्रचण्डविरुद्ध रावलको जत्ति साहस गर्ने पनि कोही जन्मिनेवाला छैन ।

यो यथार्थताका बीच अपेक्षाहरू भने फरक छन् । अहिलेका सबै पार्टीमा रहेका नेतृत्व आदरणीय नै हुनुहुन्छ । उहाँहरूले आफ्नो कालखण्डमा क्षमताले भ्याएसम्म गर्नुभएकै हो । अब उहाँहरूले योभन्दा राम्रो गर्ने गुञ्जायस बाँकी छैन । समयको माग, उहाँहरूको उमेर, राजनीतिक संस्कार र नैतिक धरातल, नागरिकको बदलिँदो चेतनानुसार उहाँहरूबाट थप अपेक्षा गर्नु न्यायसंगत हुँदैन ।

यो महाधिवेशनपछि व्यक्तिको हिसावले अहिलेको नेतृत्वबाट एउटै अपेक्षा हुन्छ, त्यो भनेको उहाँहरूले आफ्नै जीवनकालमा समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार भएको देख्ने हो । त्यसका लागि कम्तिमा आफ्नै गुटको, आफ्नै पक्षधर कुनै व्यक्तिलाई नेतृत्वको रुपमा हुर्काएर, बढाएर, डो¥याएर आफ्ना सपनाहरू पूरा गर्न अभिप्रेरित गर्ने । जति बाँचिन्छ त्यतिञ्जेल पटक पटक लडेर ल्याएको व्यवस्थालाई कसैले कुनै पनि बहानामा औंला ठड्याउन नसक्ने परिस्थिति बनाउन योगदान गर्ने । पार्टीको हिसावले अर्को अपेक्षा छ, त्यो भनेको सुझबुझपूर्ण रुपमा कुनै अमुक व्यक्तिमाथि बाँकी सबै कार्यभार बोकाउने नभई सामूहिकताको भावनानुसार समाजवादी चरित्रको पार्टी निर्माण गर्ने । त्यसअनुसारको चुस्त संगठन, नेतृत्व, नीति, कार्यनीति निर्माण गर्ने ।

बढ्दै गएको निराशा

अहिलेसम्मको परिवर्तनमा आम सरोकारवालाको भूमिका भए पनि त्यसको मुख्य नेतृत्वकर्ता जीवितमध्येका यिनै नेता र दल नै हुन् । उहाँहरूकै नेतृत्वमा शान्ति प्रक्रियाका मूलभूत काम करिब सम्पन्न भए । उहाँहरूकै प्रत्यक्ष संलग्नतामा संविधान निर्माण र तीनै तहका निर्वाचन भएर संविधान कार्यान्वयनको चरणमा गयो । यसको जसका साथै बदलिँदो परिस्थितिअनुसारको डेलिभरी दिन नसक्दा आमरुपमा उत्पन्न भएको चरम निराशाको अपजस पनि उहाँहरूलाई नै जान्छ । व्यवस्था परिर्वनको नेतृत्व गर्ने, त्यसलाई संस्थागत गर्ने अवसर सबैलाई सधैं प्राप्त हुँदैन । विश्वमा विरलै मान्छेले पाउने यो अवसर नेपालका नेताहरूले पाए । राणा फाल्नेदेखि त्यसपछिका थुप्रै परिवर्तन र गणतन्त्र ल्याउनेसम्मका काममा उहाँहरूकै योगदान छ ।

हिजोदेखि आजसम्म सके आफूले गर्ने, नसके आफूले पत्याएको, चिताएको व्यक्तिबाट पार्टी बनाउने र देशको अवस्था बदल्ने जिम्मा दिन सक्ने कुरा यही नेतृत्वको निर्विकल्प हकजस्तै थियो र छ । परिवर्तन ल्याउनेदेखि त्यसको संस्थागत विकास र परिवर्तित सपनाहरूलाई साकार गर्ने मुख्य भूमिकामा उहाँहरू नै हुनुहुन्छ । यतिसम्म कि इतिहासले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भनेर नागरिकले मूल्यांकन गरिरहेका दोस्रो र त्यसपछिको पुस्ताको नेतृत्वको भविष्य पनि उहाँहरूकै निगाहमा छ ।

अब भने यो पुस्तासँग सपना अझै बाँकी होलान् तर उमेर बाँकी छैन । परिस्थितिले नेतृत्वकै रुपमा फेरि पनि अबको पाँच वर्ष उहाँहरू नै हुनुहोला तर उहाँहरूले पटक पटक अवसर पाए पनि अवस्था हेर्नुस् त ! गणतन्त्रले बोकेका सपनाहरूको छेउसम्म पनि पुग्नसकिएको छैन । उहाँहरूकै आँखा अगाडि संघीयता नेपालको समस्या हो भन्नेहरूले आफ्नो दायरा फराकिलो बनाउँदै गएका छन् ।

गणतन्त्र, दल र यी नेताभन्दा, उही राजा, उही राजतन्त्र ठीक भन्नेहरूको स्वर चर्को हुँदै गएको छ । धर्मनिरपेक्षता होइन, हिन्दुराज्य नै ठीक भन्नेहरूको सांगठानिक मजबुती बढ्दै गएको छ । हिजो २००७ देखि आज २०७२ सम्म पटक पटक व्यवस्था बदल्यौं । ठीकै छ त्यति बेला उमेर थियो, अझै बदल्न सकिन्छ कि, अझै राम्रो बनाउन सकिन्छ भन्ने मनोविज्ञानले काम गरेको हुन सक्छ यो पुस्तालाई ।

तर, अब भने न उमेर छ न त समय नै ! अब सके नबिगार्ने, राम्रोका लागि प्रयत्न गर्ने, नसके राम्रो गर्नका लागि अरूलाई उत्प्रेरित गर्ने, भरोसा गर्ने र जिम्मेवारी दिनेभन्दा अर्को विकल्प यो पुस्तासँग छैन । हिजो भत्काउनमा, बेथिति बढाउनमा, योभन्दा थप नराम्रो बनाउनमा यो पुस्ताबाट भरमग्दुर प्रयास भयो ।

अब जीवनको उत्तरार्धमा पार्टी र राजकीय सत्ताको अन्तिम स्वाद चाख्नका लागि थप भत्काउने कि बनाउने ? पार्टीभित्र उत्तराधिकारी सुम्पने नाममा गलत मान्छेको हातमा गुटको आनुवंशिक उत्तराधिकार सुम्पेर थप बिगार्ने आधार तयार गर्ने कि देश र जनताको आवश्यकता, विश्व राजनीति, व्यवस्थाको मर्म र पार्टीको वास्तविक उद्देश्यलाई बोक्नसक्ने व्यक्तिलाई जिम्मा दिएर आफ्नै बाँकी जीवनकालमा देश बनेको हेर्ने ? वा धमिलो पानीमा माछा मार्ने अभिलाषा पालेर अझैं सिंहदरबार र शासन गर्नेहरूको लिष्टमा फेरि अर्को पटक नाम थप्ने कि देशका आमजनताको अवस्था बदलेर हरेक श्वासप्रश्वासमा स्मरण गर्ने व्यक्तित्व बन्ने ? बस्, अहिलेलाई यत्ति ।

टिप्पणीहरू