शिशु मारिने, श्रीमान् मोटाउने ?

गणतन्त्र आएलगत्तै माओवादीद्वारा ०६३ जेठ १९ गते काठमाडौंको खुलामञ्चमा आयोजित पहिलो आमसभामा जाँदा धर्मराज बरईको कपिलवस्तु फुलिकास्थित घरमा स्थानीय डाँका समूहले राति १२ बजे आक्रमण ग¥यो । जसमा ३ बर्से बालक मञ्जितको मृत्यु भयो, ५ वर्षीया छोरी र श्रीमती गम्भीर घाइते भए । उक्त घटनामा जिल्ला अदालतले तत्कालै पक्राउ परेका सलाहुद्दिन मुसलमानलाई ३ वर्ष कैद र पछि हाजिर भएका जलालु भन्ने राममिलन खरबिन्दलाई २०६९ साउन २३ गते जन्मकैदको फैसला सुनायो भने फरार रामनयन यादवसहितको हकमा मुद्दालाई मुल्तबीमा राखियो । पुनरावेदनले सोही मुद्दामा जन्मकैदको फैसला उल्ट्याएर १ वर्ष तोक्यो । ३ महिनाअघि मात्रै सर्वोच्च अदालतले सोही मुद्दामा जिल्लाको फैसलालाई सदर गरेको छ ।
तर, गत साता सोही मुद्दासहित २ वटा प्रहरी चौकी आगजनी, डाँका र चोरीलगायत ५ वटा घटनामा फरार रामनयन यादवलाई २ दिनभित्रै कपिलवस्तु जिल्ला अदालतले धरौटी र साधारण तारेखमा छाड्ने गरी दिएको आदेश आफैंमा शंकास्पद देखिएको छ । भदौ २८ र २९ गते यादवका मुद्दा एकसाथ जगाएर धरौटीमा छाड्ने न्यायाधीश गिरीराज गौतमको आदेश आर्थिक कारणले प्रभावित बनेको पीडितको आरोप छ । लगत्तै उनी सिंगापुर, मलेशिया र थाइल्याण्डको भ्रमणमा कमजोर बहस गर्ने सेटिङवाला वकिलसँगै निस्किँदा थप आशंका बढेको छ । चर्चित तथा शंकास्पद उक्त आदेश गराउनमा रूपन्देही जिल्ला अदालत भैरहवामा लामो समय कार्यरत भई अवकाशप्राप्त कर्मचारी राजकिशोर यादवको हात रहेको स्रोतको ठहर छ । भदौ २६ गते उनी अदालत परिसरमा देखिएपछि अधिवक्ताले केही विवादित फैसला वा आदेश आउने आकलन गरेका थिए । परासी, भैरहवा र तौलिहवा जिल्ला अदालतमा दशकदेखि विवादित मुद्दाको सेटिङ मिलाउने नामुद बिचौलिया यादवले सरकारी वकिल कमलराज पन्थी र २ नम्बर श्रीमान्् गौतमलाई आर्थिक प्रभावमा पारेको स्रोत बताउँछ । यादव र श्रीमान्् गौतमको सम्बन्ध यसअघि परासी अदालतमा हुँदादेखि नै अच्छा थियो । फैसलाबारे जनआस्थामा गत साता समाचार प्रकाशित भएपछि मुख्य न्यायाधीश लोकजंग शाह र श्रेस्तेदार डिल्ली अर्याललगायत कर्मचारीले समेत आदेश र मुद्दाप्रति चासो देखाएको बताइन्छ ।
न्यायाधीश गौतमले २ वर्षको अवधिमा अकुत सम्पत्ति जोडेको देखि २०५५ सालमा कपिलवस्तुमै तहसिलदार हुँदा अंशबण्डामा हात्ती कसको भागमा पार्ने भन्दै दुबै पक्षसँग नजराना लिएको कथा पुनः चर्चामा आएको छ । काठमाडांै महादेवस्थान (कोटेश्वर) घर भएका श्रीमान्ले कपिलवस्तु बसेको २ वर्षभित्रै रुपन्देहीको तिलोत्तमा शंकरनगर सम्पन्न मार्गमा ३ तले घर खडा गरेका छन् । इँटा, सिमेन्ट र काठदेखि छडसम्म कपिलवस्तुबाट ओसारेका हुन् । स्रोतका अनुसार उनले आफन्तको नाममा कपिलवस्तुका केही स्थानमा जग्गा खरिद गरेका छन् । तौलिहवा शिकोटवाका राममिलन चौधरी दाजुभाइबीच अंशबण्डा फैसला हुँदा उनका बाबुले पालेको माउ हात्ती कसको भागमा पार्ने भन्ने जिम्मा गौतमको काँधमा आयो । त्यसबेला निजले दुबै पक्षलाई हात्ती दिने भन्दै रकम कुम्ल्याएको र एउटालाई जिम्मा दिँदा असन्तुष्टले हात्ती मुद्दा सर्वोच्चसम्म लगेको चर्चा छ । कतिपय वरिष्ठ अधिवक्ताले न्यायाधीश गौतमलाई श्रीमान््, हात्ती कसको ? भनेर ठट्टा गर्ने गरेका छन् । न्यायालयलाई शुद्ध पार्छु भन्ने ओमप्रकाश श्रीमान््, तलका यस्ता हात्तीहरूको मनोमानीप्रतिचाहिँ आँखा चिम्लन मिल्छ ?

टिप्पणीहरू