गुण्डा नाइकेलाई किन मोरङको जेलमा ल्याइयो ?

गुण्डा नाइकेलाई किन मोरङको जेलमा ल्याइयो ?

-पूजा लम्साल

गुण्डा नाइके कैदी अभिषेक गिरीलाई मोरङ स्थानान्तरण गराउन कारागार व्यवस्थापन विभाग मरिहत्ते गरेर लागिपरेकोमा आज सफल भएको छ ।

दुई पटक स्थानान्तरण गरेकै कारण कैदीबन्दीबीच झडप भएर ज्यान जानेसम्मका घटना भइसक्दा पनि तेस्रो पटक फेरि कारागार व्यवस्थापन विभाग गुण्डा नाइके गिरीलाई मोरङ कारागार स्थानान्तरण गराउन मरिहत्ते गरेर लागिपरेको हो ।

कैदीबन्दीहरुको झडप र बिरोध प्रदर्शनका कारण पटक पटक मोरङमा राख्ने प्रयास असफल भए पनि विभागले गिरीलाई सप्तरीबाट मोरङ जेलमा स्थानान्तरण गरेको छ ।

गत कार्तिक १६ गते दोस्रो पटक काठमाडौबाट स्थानान्तरण भएर आए पनि कैदीबन्दीबीच झडप भएपछि गिरीलाई मोरङबाट सप्तरी कारागार लगिएको थियो । तर कारागार व्यवस्थापन विभागले गृहमन्त्री बालकृष्ण खाँडको दबाब थेग्न नसकेपछि उनलाई सप्तरीबाट बिराटनगर हाटखोलास्थित मोरङ कारागार नै स्थानान्तरण गरेको छ ।

यसअघि मोरङ कारागारभित्र रहेका कैदीबन्दीहरुले गिरीलाई कुनै पनि हालतमा भित्र छिर्न नदिने र बलप्रयोग गरेर ल्याएमा ज्यान जानेसम्मको घटना हुने चेतावनी कारागार प्रशासनललाई दिएका थिए ।

मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले कैदी गिरीको सप्तरीबाट मोरङ स्थानान्तरण भएको बोधार्थपत्र विभागबाट प्राप्त भए पनि तत्काल असुरक्षाको कारणले सप्तरीमा रहेका गिरीलाई ल्याउन सक्ने अवस्था नरहेको बताएका थिए । उनले भनेका थिए, ‘सप्तरीबाट छिट्टै पठाइदिने दबाब छ तर यता कैदी गिरीलाई ल्याएमा जेलभित्रको सुरक्षा फेरि खलबलिने अवस्था भएकाले तत्काल नपठाउन भनिरहेको छु ।’

गिरीकै कारण यसअघि शान्त रहेको मोरङ कारागार अशान्त बनेपछि मोरङ प्रशासनले समेत गृहमन्त्रालय र कारागार विभागलाई उनलाई मोरङ जेलमा स्थानान्तरण नगर्न आग्रह गरेको थियो । तर गृहमन्त्री खाँणको दबाबमूलक निर्देशनपछि कारागार व्यवस्थापन विभागले पहिले काठमाडौको डिल्लीबजार र हाल सप्तरी कारागारमा रहेका अभिषेकलाई सबै कुरा बुझ्दाबुझ्दै पनि पुनः मोरङ लगेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले कैदी गिरीलाई विभागले स्थानान्तरण गरेर पठाएकाले आउन पाउने हक सुरक्षित रहेको बताए । उनले भने, ‘सरकारको निर्देशनपछि विभागले स्थानान्तरण गरेको हो यसैले प्रशासनले कार्यान्वयन गर्नुपर्छ ।’

तर गिरीलाई मोरङ ल्याउन खोजेदेखि नै शान्त रहेको मोरङ जिल्ला कारागार केहि दिनदेखि अशान्त मात्र होइन, गुण्डागर्दीको अखडा नै भएको बताइन्छ । सोही कारण एक जना कैदीले ज्यान गुमाइसकेका छन् । आगामी दिनमा अरु कतिले ज्यान गुमाउनु पर्ने हो भन्दै कैदीबन्दी भयभित बनेका छन् ।

शान्त रहेको कारागारभित्र एकाएक बिराटनगर ११ मधुमारा घर भएका गुण्डा नाइके अभिषेक गिरीको स्थानान्तरण प्रकरणले कैदीबन्दीबीच पक्ष विपक्षको फाटो बढेर द्वन्द्व चर्कन थालेको छ । गिरीको पक्ष लिने समूह र बिरोधी समूहबीच हुनसक्ने भीडन्तले अरु कैदीबन्दीहरु त्रसित हुनपुगेका छन् ।

गृहमन्त्री खाँणको निर्देशनले आगोमा घिउ थप्यो

गृहमन्त्री खाँणको निर्देशनमा गत भदौ १७ गते कारागार व्यवस्थापन विभागले कैदी गिरीलाई मोरङ स्थानान्तरण गरेको परिपत्र मोरङ कारागारलाई पठायो । उक्त सूचना बाहिरिएपछि कुनै पनि हालतमा गिरीलाई ल्याउन नहुने भन्दै कैदीबन्दीहरु आक्रोशित हुन थाले । तर गिरीलाई जसरी पनि ल्याएरै छाडने सूचना बाहिरिएपछि गत असोज १९ गते कैदीबन्दीहरु जेलभित्र र उनीहरुका आफन्तहरु जेल बाहिर जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

त्यसपछि गिरीको जेल स्थानान्तरण स्थगित भएको थियो । तर, पुनः गिरीको विपक्षमा रहेका कारागारका पुराना चौकीदार नवीन राईलाई असोज २१ गते बलप्रयोग गरेर सुनसरी लगेपछि कैदी गिरीलाई कात्तिक १६ गते बिहान मोरङ ल्याइएको थियो । गिरी आएपछि असुरक्षा बढेको भन्दै त्यसदिन कारागारभित्रका कैदीबन्दी छतमा बसेर प्रदर्शनमा उत्रिए । उक्त अवस्थापछि विभागले बाध्य भएर गिरीलाई सप्तरी जेल चलान गरेको हो ।

काठमाडौंबाट ल्याइएका गिरीलाई चौकीदार बनाउने योजना असफल भएपछि गिरीका विपक्षी किरण गुरुङलाई चौकीदार नियुक्त गरियो । त्यसपछि फेरि कात्तिक २३ गते मोरङ कारागारमा गिरी पक्ष र चौकीदार गुरुङ समूहबीच दोहोरो झडप भएको थियो । गिरीको पक्षमा रहेका कैदीले कार्तिक कामत समूहले आफूलाई यातना दिएको भन्दै चौकीदार गुरुङ नेतृत्वको आन्तरिक प्रशासनविरुद्ध विद्रोह गरेपछि दोहोरो झडप भएको हो ।

झडपमा चौकीदार गुरुङसहित छ जना घाइते भएका थिए । त्यसपछि अभिषेक गिरीको विपक्षमा रहेका गुरुङ र उनको समूहका नाइके र भाइनाइके १४ जनालाई कारागार विभागको निर्देशनमा सुनसरी र झापा स्थानान्तरण गरिएको थियो । त्यसपछि पनि विद्रोह गर्ने गिरी पक्षका कार्तिक कामतलाई जेल प्रशासनले कात्तिक २३ गते चौकीदारमा उनको समूहलाई नाईके र भाइनाइकेमा नियुक्त गरेको जानकारी दियो । तर कात्तिक २५ गते राति १ बजे मोरङ कारागारका ४३ वर्षीय कैदी नारायण थापाको मृत्यु भयो ।

करणी कसुरमा मोरङ रतुवामाई नगरपालिका इटहरा घर भएका कैदी थापालाई गुण्डा नाइके अभिषेक गिरीको बिरोध प्रदर्शनमा सहभागी भएको भन्दै जेलभित्रै चौकीदार कार्तिक कामत पक्षले यातना दिँदा उनको मृत्यु भएको भन्दै घटना छानबिन गर्न कैदीबन्दीहरुले माग गरेका थिए । तर उनको मृत्यु श्वास फेर्न समस्या भएपछि अस्पताल लैजाने क्रममा भएको भन्दै छानबिन नै गरिएन ।

को हुन् कैदी अभिषेक गिरी ?

अभिषेक बिराटनगरमा बसेर ठेक्कापट्टाको टेण्डर र अन्य गुण्डागर्दीमा कुख्यात हुन् । उनी पटक पटक गुण्डागर्दीको आरोपमा पक्राउ परेर छाडिन्थे । गिरीलाई विशेषगरी निर्माण व्यवसायी र टेण्डर हत्याउन चाहने व्यपारीहरुले ‘पिसी’ दिएर गुण्डागर्दीमा प्रयोग गराउने गर्थे । शुरुमा अरुको प्रयोगमा आएका गिरीले पछि आफँै टेण्डर हत्याउने र व्यवसायी, व्यापारी र उद्योगीहरुलाई धम्क्याउने तथा अपहरणसम्म गर्न थाले । गुण्डागर्दीमा उनको आफ्नै समूह थियो । प्रायः काँग्रेस निकट भएकाहरुले उनलाई प्रयोग गर्ने गरेका थिए । अर्को समूह पर्शुराम बस्नेत समूहसँग भने उनको शत्रुता थियो ।

२०६५ साउन १७ गते तत्कालीन जिल्ला विकास समिति मोरङको १० करोड रुपैयाँ बराबरको टेण्डर काण्डमा बिराटनगर महानगरपालिका १२ जतुवाका युवा करण यादवको हत्या भयो । हत्याको आरोप उनै गिरीमाथि लागेको थियो । घटनापछि फरार रहेका गिरी पछि आफैँ अदालतमा हाजिर भएका हुन् । उनी २०६६ साउन २१ गतेदेखी पुर्पक्षका लागि जेलमा बस्दै आएका छन् ।

गिरीलाई क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा २०६८ जेठ १८ गते अदालत परिसरभित्रै पर्शुराम बस्नेत समूहले साँघातिक हमला गर्दा उनी गम्भिर घाइते भएका थिए । आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा स्थानान्तरण गरियो । कारागारमा रहँदा गिरीले जेलभित्रैबाट चन्दा आतङ्क मच्चाएर फिरौती असुल्ने गरेको आरोप समेत लागेको थियो ।

अदालत परिसरमा आफूमाथि आक्रमण गराएको आरोपमा बन्दी गिरी र उनकी श्रीमती अमिषा गिरीले पर्शुराम समूहका २३ जनाभन्दा बढीलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा लगाइएको थियो । व्यक्ति हत्या अरोपमा जेल परेका गिरी एक वर्षपछि मोरङ अदालतबाट उक्त हत्या आरोपमा सफाई पाएर निस्के । जेलबाट निस्केपछि उनी सान र सौकातका साथ काँग्रेसमा प्रवेश गरेका हुन् ।

त्यसपछि केही महिना शान्त बसेका उनी संविधानसभाको दोस्रो निर्वाचन २०७० पछि पुनः आफनो पुरानै धन्दामा फर्किएका थिए । उनले उद्योगी, व्यापारी र ठेकेदारहरुलाई धम्क्याएर चन्दा र फिरौती उठाउन थालेको भन्दै प्रहरीले व्यापक खोजी गर्यो । फरार रहेका गिरी पछि काठमाडौंबाट व्यक्ति अपहरण र फिरौती आरोपमा पक्राउ परे । गिरीलाई सम्पत्ति शुद्धिकरण विभागले पनि गुण्डागर्दी गरेर अकुत कालोधन जम्मा गरेको आरोपमा मुद्दा चलायो । तर तत्काल धरौटी बुझाएर उम्किए ।

पछिल्लो समय व्यक्ति अपहरण र फिरौती असुली आरोपमा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका गिरीलाई काठमाडौं अदालतले आठ वर्ष कैद सजाय गरेको थियो । सोही क्रममा मोरङमा रहेका अन्य मुद्दाका लागि बयान गराउन भन्दै मोरङ ल्याइएपछि अदालतले मुद्दा विचाराधीन रहेसम्म मोरङ कारागारमै राख्न पाउने आदेश दियो । त्यो बेला गिरीले पहुँचको आधारमा चौकीदार बनेर जेलभित्रैबाट चन्दा असुली र अपरहण तथा फिरौती धन्दा चलाउन थालेका हुन् । सोही कारण उनलाई २०७४ चैत २३ गते पुनः डिल्लीबजार कारागार फिर्ता गरिएको थियो ।

त्यसपछि डिल्लीबजार कारागारमा नै सजाय भुक्तान गर्न बाध्य भएका गिरीले काँग्रेस नेतृत्वको सरकार आएसँगै स्थानान्तरणका लागि पहुँच बढाए । उनलाई घर पायक जेलमा लैजान गृहमन्त्री बालकृष्ण खाँणले कारगार विभागलाई निर्देशन गरेका हुन् । नेपाली काँग्रेस समर्थक गिरी बिराटनगरमा गुण्डागर्दीका लागि चर्चित छन् ।

गिरी किन बारम्बार मोरङ कारागार आउन चाहन्छन् ?

गुण्डा नाइकेको उपमा पाइसकेका कैदी गिरी घरपायक पारेर बिराटनगर जेलमा आउँदा जेलभित्रको आन्तरिक सत्ता सहजै हत्याएर अकुत कमाउने उनको चाहना सहजै पूरा हुन्छ । साथै रैथाने भएकाले धाकधम्की दिएर र गिरोह परिचालन गरि ठूला उद्योगी, व्यपारी र निर्माण व्यवसायीहरुसँग जेलभित्रैबाट फिरौती पनि सहजै असुल्न सक्छन् । उनले गुण्डागर्दी शुरु गरेको समूह पनि बिराटनगरमै भएकाले उनलाई जेलभित्रैबाट गुण्डागर्दीको नेतृत्व गर्न समेत सजिलो हुन्छ ।

अर्को तीन वटै तहको चुनाव नजिक आएकाले शक्ति प्रयोग गर्न काँग्रेसका केही प्रभावशाली नेताहरु गिरीलाई जसरी पनि मोरङ ल्याउन चाहन्छन् । अर्कोतिर अपराधको कमाईमा पल्केका उनका सहयोगीहरु पनि गिरी मोरङ आएमा उनको आडमा आफूहरुले समेत अकुत कमाउन पाउने चाहना राखेका छन् ।

मोरङ कारागारमा ‘तख्ता’ पल्टाउन निरन्तर जालझेल

मोरङ कारागारमा जेलभित्रको सत्तालाई ‘तख्ता’ भनिन्छ । तख्ता पल्टाउन सके जेलभित्र हैकम चलाउन पाइन्छ । यसैले कैदीबन्दीहरु तख्ता पल्टाउन आफूले मनपराएको मान्छे (दादा) लाई साथ दिन्छन् । एक कैदीले भने,‘तख्ता पाएपछि मोज हुन्छ, विद्रोह गर्ने कैदीबन्दीलाई २१ नम्बरको डिएसपी कोठामा लगेर रामधुलाई गरिन्छ । बिरामी परे अस्पताल पठाइन्छ र मृत्यु भए रोगलाई कारण बनाइन्छ । पटक पटक तख्ता पल्टाउनकै लागि मोरङ कारागारमा कैदीबन्दीबीच ठूला झडप हुँदै आएका छन् । जेलमा धेरै झडपका घटना भएपछि मानवअधिकारवादीहरुको समेत निगरानी बढेपछि देखावटी रुपमा कारागार शान्त भए पनि भित्र हुने आर्थिक शोषण कायमै छ । त्यसैका लागि झडप र आन्दोलन हुने गरेको कैदीबन्दीहरु बताउँछन् ।

कारागार ऐन २०१९ र नियमावली २०२० अनुसार जेलभित्रको प्रशासन संञ्चालनका लागि हरेक दुई वर्षमा जेल प्रशासनको आदेशमा चौकीदार र नाइके नियुक्त गरिन्छ । हरेक शाखा जेलमा चौकीदार एक जना, २५ कैदीबन्दीका लागि नाइके १ जना र १० जनाका लागि सहनाइके एक जना नियुक्त गरिन्छ । चौकीदार भएपछि बाहिर भित्र गर्दै जेलमा जेलर र सुरक्षाकर्मीको हवाला दिएर आर्थिक शोषणको सिण्डिकेट चलाउन समेत पाइन्छ । यसैले जेलप्रशासन र सुरक्षाकर्मीको आर्शिवादमा चौकीदार र नाइकेहरु लाखौं कमाउन सफल हुन्छन् ।

महिला र पुरुष शाखा अलग अलग रहेको कुल तीन सय जना क्षमताको मोरङ कारागारमा ८ सय ९७ जना पुरुष र ७२ जना महिला कैदीबन्दी छन् । महिला शाखा शान्त भए पनि पुरुष शाखा भने सँधै जालझेलको अखडा बनिरहन्छ । संख्या धेरै भएकाले कारागारभित्र २० वटा जति होटल छन् । यसैगरी दुबै शाखामा उत्तिकै संख्यामा अलग अलग किराना पसल सञ्चालनमा छन् । नियमावलीअनुसार सबै पसल र होटल जेलभित्रको प्रशासनले चलाउँछ । कैदीबन्दीहरुले दैनिक उपभोग्य वस्तु, चिया चमेना, किराना सामान र तरकारी समेत भित्रैबाट किन्नुपर्ने भएकाले दैनिक लाखौंको कारोबार हुने गर्छ ।

बाहिरको भन्दा धेरै महङ्गो मूल्यमा मनमौजी बिक्री गर्न पाइने भएकाले मुनाफा पनि धेरै हुन्छ । यसैले चौकीदारलाई विभिन्न आरोप लगाएर बदल्न जेलभित्रै रहेका समूहहरु सक्रिय हुन्छन् । आन्तरिक सत्ता पाएको चौकीदारको समूह पनि विद्रोह दबाउन नाइके, भाइ नाइकेको सहयोगमा सक्दो बल प्रंयोग गर्छन् । भागबण्डाको साझेदारी भएकाले जेलका सुरक्षाकर्मी र जेल प्रशासनले पनि उनीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्छन् ।

यसैले बाहिर शान्त देखिए पनि बिराटनगरको हाटखोलामा रहेको साँघुरो मोरङ कारागारमा मिलेमेतामा निरन्तर कैदीबन्दीहरुको चरम आर्थिक शोषण भइरहन्छ । असोज १९ गते बलप्रयोग गरेर सुनसरीको झुम्का कारागार लगिएका चौकीदार नवीन राई र उनको समूहले दुई वर्षदेखि कैदीबन्दीमाथि चर्को आर्थिक शोषण गर्ने गरेको कैदीबन्दीहरु नै बताउँछन् । कर्तव्यज्यान कसुरमा कैद सजाय भोगिरहेका चौकीदार राईले जेलभित्रै बसेर इटहरीमा भव्य घर बनाएका छन् । उनले कारागारका प्रहरी र प्रशासनसँग मिलेर कैदीबन्दीहरुमाथि आर्थिक शोषण गरेको बताइन्छ ।

मोरङ कागारमा विद्रोहको श्रृंखला

मोरङ कारागारमा २०६३ देखि आन्तरिक कब्जाका लागि विद्रोह शुरु भएको थियो । त्यतिखेर बन्दी रहेका माओवादी कार्यकर्ताहरुले जेलभित्रको आन्तरिक शोषणविरुद्ध आन्दोलन थालेका थिए । त्यसपछि निरन्तर चौकीदार बन्ने र बनाउने, दादाको संरक्षण लिने र दिने विषयमा आन्दोलन भइरह्यो । आन्तरिक भ्रष्टाचारको मुद्दा उठाएर आन्दोलन चर्किए । २०६४ मा कारागारमा पप्पुदेवलाई ल्याइयो । त्यसपछि एक वर्षसम्म जेलभित्र निरन्तर आन्दोलन चल्यो । ढुंगामुढा भए । प्रहरीले जेलभित्र पसेर बल पनि प्रयोग गर्नुपरयो । अश्रुग्यास र लाठीचार्ज समेत भयो । कैदीबन्दी र प्रहरी घाइते भए । घटनाको सबै कारण जेलभित्रको तख्ता नै थियो ।

मोरङ कारागारमा तनाव भएपछि पप्पुदेवलाई नख्खुमा लगियो । त्यसपछि जेल शान्त भयो । तर २०६५ मा फेरि जनजाती समूहका नाममा जेलभित्रै मधेशी र पहाडी समूहको आन्दोलन चल्यो । जेलभित्रै धर्ना भए । केही कैदीबन्दी स्थानान्तरण भएपछि जेल केही समय शान्त भयो । त्यसपछि २०६६ मा टेण्डर काण्डमा हत्या आरोप लागेका गिरी पुर्पक्षका लागि जेल परे । त्यसपछि फेरि जेलमा झेल शुरु भएको हो ।

चौकीदार मधु मानन्धर र गिरी समुहबीच झडप शुरु हुन थाल्यो । चौकीदार समूहले गिरीलाई मरणासन्न कुटपिट गर्यो । त्यसपछि गिरीलाई सुनसरीस्थित क्षेत्रीय कारागार झुम्का सार्नुपरेको थियो । केही समय शान्त भएको मोरङ कारागार फेरि कैदी राईको मृत्युपछि तनावमय भएको हो । उक्त्त तनाव प्रशासनले बल प्रयोग गरेर शान्त बनाएको थियो ।

तर बाहिर शान्त देखिए पनि मोरङ कारागारमा भित्रको आर्थिक शोषणका लागि तख्ता पल्टाउने संघर्ष सँधै चालिरहेको हुन्छ । सात वर्ष पहिले ३४ वर्षीय कैदी रञ्जित राईको पनि यातनाकै कारण मृत्यु भएको थियो । कैदी राईलाई चौकीदार अजय मेहताको समूहले जेलको आन्तरिक प्रशासन नियम उल्लंघन गरेको भन्दै डिएसपी कोठा (टर्चर रुम) मा लगेर कुटपिट गरेको बताइन्छ । त्यतिबेला राईले जेलभित्रको आर्थिकसत्ताको बिरोधमा विद्रोह गर्ने तयारी थालेका थिए ।

यता काठमाडौंमा बन्दी रहेका गिरीलाई मुद्दाको पुर्पक्षका लागि मोरङ ल्याइयो । अदालतको आदेशअनुसार उनले यतै बस्ने अवसर पाए । त्यो बेला पनि गिरीले जेलभित्रैबाट असुली धन्दा चलाए । अशान्ती शुरु भए पनि उनलाई २०७४ चैत १३ मा पुनः डिल्लीबजार कारागार फिर्ता पठाइयो । त्यसपछि २३ कात्तिकमा पुनः मोरङ कारागार ल्याइयो । तर कैदीबन्दीहरुले चर्को बिरोध गरेपछि उनलाई भोलिपल्टै सप्तरी स्थानान्तरण गरिएको हो ।

तीन वर्षअघि जेलर चिरञ्जीवी भट्टराईले जेलका चौकीदार विजय दाहाल मार्फत् कैदीबन्दीको शोषण गरेको उजुरी परेपछि अख्तियार सम्पर्क कार्यालय, इटहरीले छानबिन नै गरेको थियो । कारागारका चौकीदार विजय दाहालले हरेक १० दिनमा नगद ८० हजार पियन गौरी राजवंशी मार्फत् घुस दिने गरेको आरोप लाग्यो । तर अख्तियारले आरोप प्रमाणित गर्न सकेन ।

जेलर चिरञ्जीवीले आफूले जेलभित्र आर्थिक शोषण गर्नेहरुलाई साथ नदिएपछि उनीहरुले झुठो उजुरी गरेर नियतवश फसाउन खोजेको बताएका थिए । २०६३ मा जेलर कुमार पोखरेल पनि आर्थिक शोषण गरेर भागबण्डा लिने गरेको आरोपमा मुछिएका हुन् । उनीविरुद्ध जेलभित्र कैदीबन्दीले आन्दोलन नै चर्काएका थिए । आन्दोलन साम्य पार्न जेलर पोखरेललाई काज स्थानान्तरण गरिएको थियो । मोरङ कारागारमा निरन्तर आन्तरिक सत्ताका लागि ह्रिँसक घटना हुन थालेपछि २०६४ मा मानवअधिकारकर्मी समेतको समितिले छानबिन गर्दा जेलभित्र हुने आर्थिक शोषणबाट हुने आम्दानी नै मुख्य कारण भएको ठहर गरेको थियो ।

मानवअधिकारकर्मी थापा के भन्छन् ?

बारम्बार ह्रिंसक घटना हुन थालेपछि २०६४ मा मोरङ प्रशासनले सहायक सिडिओको नेतृत्वमा गठन गरेको अनुमन तथा छानबिन समितिका सदस्य एवम् मानवअधिकार रक्षक परिषद्का अध्यक्ष सोमराज थापा कारागारभित्र हुने लडाईंको मुख्य कारण त्यहाँभित्रको अकुत आम्दानी नै हो भन्छन् । दैनिक एक लाख बढी कमाइ हुने भएकाले र त्यसमा सबैको भागबण्डा हुने भएकाले आन्तरिक सत्ता हत्याउन ज्यान लिने र दिनेसम्मका अपराध हुने गरेको उनी बताउँछन् । उनका अनुसार मोरङ कारागारलाई शान्त बनाउने मुख्य उपाय जेलभित्र हुने भ्रष्टाचारको अन्त नै हो । भन्छन, ‘सरकारले जेलभित्र सहुलियत पसल चलाउनुपर्छ ।’

अधिवक्ता पन्त भन्छन्

फौजदारी कानुनमा विशेष दखल राख्ने तथा मोरङ कारागारको समस्यालाई नजिकबाट बुझिरहेका अधिवक्ता हेमराज पन्त मोरङ कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी भएकाले भ्रष्टाचार पनि धेरै हुने गरेको बताउँछन् । त्यही भ्रष्टाचारको कमाइका लागि आन्तरिक द्वन्द्व भइरहने उनको बुझाइ छ । पन्त सरकारले जतिसक्दो छिटो जेलको संख्या बढाएर सीमित कैदीबन्दी मात्र राख्नुपर्ने सुझाव दिन्छन् । भन्छन, ‘मोरङ कारागारको झगडाको मुख्य कारण अन्तरिक भ्रष्टाचार हो । त्यसैले संघले मात्र होइन प्रदेश सरकारले पनि जेल निर्माण र व्यवस्थापनमा चासो दिनुपर्छ ।’

टिप्पणीहरू