स्मार्ट लाइसेन्स कार्ड आइपुगे पनि वितरणको टुंगो छैन

स्मार्ट लाइसेन्स कार्ड आइपुगे पनि वितरणको टुंगो छैन

डेढ वर्ष पहिले खरिद प्रक्रिया अघि बढाइएको १४ लाख लाइसेन्स छाप्ने स्मार्टकार्ड नेपालमा आइपुगेको छ । यातायात विभागले जिम्मा दिएको फ्रान्सेली कम्पनी सेल्प एसएसएलले डेढ वर्ष ढिलो स्मार्ट कार्ड ल्याएको हो ।

कम्पनीले ल्याएको १४ लाख स्मार्ट कार्ड हाल भन्सार आइपुगेको छ । विभागले भने अबको केही दिनमै स्मार्ट लाइसेन्स छाप्ने काम शुरु गरिने बताएको छ । तर, ल्याइएको कार्डभन्दा आठ लाख बढी सेवाग्राहीले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अघिल्लो वर्षको लकडाउनदेखि अहिलेसम्म १५ लाख बढीले नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन् । अहिले विभागले विदेश जानेका लागि मात्रै जरुरी लाइसेन्स प्रिण्ट गर्दै आएको छ । तत्काल चाहिने कार्डका लागि यातायात व्यवस्था विभागसँग सीमित कार्ड मात्र बाँकी छ ।

विभागले कार्ड अभाव देखाउँदै चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीलाई समेत स्मार्ट कार्ड उपलब्ध गराउन सकेको छैन ।

विभागले स्मार्ट लाइसेन्सको विकल्पमा परीक्षणकालीन (अस्थायी) लाइसेन्स दिन थाले पनि पुराना नवीकरण गर्ने सेवाग्राहीले अझै पनि रसिद बोकेर हिँड्नुपर्ने बाध्यता छ । विभागले गत कात्तिकदेखि लाइसेन्सको नयाँ आवेदन खुलाएको थियो ।

अहिले उपत्यकाका चारवटा यातायात कार्यालय एकान्तकुना, ठूलो भर्याङ, चाबहिल र भक्तपुरबाट ट्रायल परीक्षा सञ्चालन भइरहेको छ । विभागले नेपालमा २०७२ मंसिरदेखि स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ ।

टिप्पणीहरू