सरकारद्वारा एकै चरणमा चुनावको सङ्केत « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

सरकारद्वारा एकै चरणमा चुनावको सङ्केत

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार २१:००


खर्चिलो प्रणालीलाई सुधार्ने नाममा सरकारले तीनै तहका निर्वाचन एकैपटक गर्ने भएको छ । संघीय संसद, प्रदेशसभा र स्थानीय तहका निर्वाचनपूर्व अर्को महिना माघमा राष्ट्रियसभातर्फ १९ सिटको निर्वाचन मिलिजुली लडेर बाँकी चुनाव एकैचोटी गर्नेबारे सत्ता गठबन्धनले निर्वाचन आयोगलाई संकेत दिइसकेको बताइन्छ ।

यदि त्यसो गरियो भने आउने वैशाखदेखि स्थानीय तहका जनप्रतिनिधि स्वतः रिक्त हुन्छन् र केही समय कर्मचारीको नेतृत्वमा ती निकाय चल्छन् । संविधानमा स्थानीय तह रिक्त भएको ६ महिनाभित्र निर्वाचन गर्ने व्यवस्था भए पनि कसले बाँकी समय चलाउने भन्ने प्रष्ट उल्लेख छैन । आयोगले स्थानीय तहको निर्वाचन वैशाखमै गरौँ भनेको छ ।

तर, सबै तहको निर्वाचन एकैचोटि गर्ने हो भने कात्तिकमा प्रतिनिधिसभाको अवधि समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन पनि त्यतिबेला गर्ने कि संघीय संसदको निर्वाचन वैशाखमा तान्ने ? भन्ने अन्यौलता हट्न भने बाँकी नै छ । तर, मोटामोटी सम्भावना भने मंसिरमै सबै चुनाव हुने देखिँदैछ । यस्तो गर्दा स्थानीय र प्रादेशिक सरकारमा अमुक दलले पाएको सफलता हेरेर प्रतिनिधिसभाको पालामा न्युट्रल भोट प्रभावित हुन पाउँदैन ।

निर्वाचन आयोगचाहिँ अहिले स्थानीय तहहरूमा मतदाता नामावली संकलनका लागि व्यस्त हुँदैछ । देशभर १ करोड ६३ लाख मतदाता छन् । अहिलेको नामावली संकलनबाट थप १०–१२ लाख बढ्ने सम्भावना छ । त्यसका निम्ति मंसिर १७ गतेदेखि दैनिक भत्ता १२ सय दिएर सदरमुकाममा नाम थप्न नआएका मतदाताको फोटो खिच्न करिब अठ्ठाइस सय कर्मचारी परिचालित हुने भएका छन् ।

यो प्रयोजनका लागि आयोगले कम्प्युटर अपरेटरहरू करारमा भर्ना गरिसकेको छ । एक स्थानीय तहमा चारको संख्यामा कर्मचारी परिचालित हुनेछन् । स्रोत, साधनको अभावका कारण तराई र पहाडका जिल्लामा १५–१५ दिनका दरले दुई चरणमा मतदाता नामावली संकलन गरिँदैछ ।

त्यसबाहेक जिल्ला र इलाका प्रशासन कार्यालयहरूले नागरिकता प्रमाणपत्र जारी गरेका आधारमा १८ वर्ष उमेर पुगेका बालिग मतदाताको नाम निर्वाचन आयोगमा पठाइँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !