विरोधीविहीन बन्न सक्ला त एमाले ?

विरोधीविहीन बन्न सक्ला त एमाले ?

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुईपक्षीय शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओलीको निश्कर्ष थियो– अल्पमतमा पर्ने गरी माओवादीसँग एकता गरेर गल्ती भयो । हुन पनि ९ सदस्यीय सचिवालयमा ओली पटक–पटक अल्पमतमा पर्नुभएको थियो । त्यतिबेलै उहाँले भन्नुभएको हो– अब यस्तो गल्ती गरिने छैन ।

अल्पमतमा पर्ने गल्ती गर्दिन भन्नुको अर्थ पार्टीमा फरक मतले ठाउँ पाउँदैन भन्नु हो । दशौँ महाधिवेशनपछि एमालेलाई विरोधीबिहिन पार्टी बनाउने दिशामा अहिले ओली प्रयासरत हुनुहुन्छ । त्यसको पूर्वअभ्यास तल्ला तहका अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोट क्रममा गरिसकिएको छ । ९० प्रतिशतभन्दा बढी प्रतिनिधि सर्वसम्मत छानिएका छन् ।

जसमध्ये अधिकांश ओलीलाई ‘आइ लभ यु केपी बा’ भन्नेहरू नै छन् । त्यसो त, अदालतले नेकपाको एकता खारेज गरी एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काउने फैसला नगरेको भए सायद मुलुकको राजनीतिले अर्कै कोर्स लिन्थ्यो होला । अर्थात् जुन राजनीतिक परिस्थितिमा अहिले मुलुक छ, सायद फरक परिदृश्य देखिन्थ्यो होला । जे होस्, नेकपा हुँदै एमालेसम्मको विभाजनले जुन परिस्थिति खडा गरेको छ, त्यसले विरोधीमुक्त पार्टी बनाउने अध्यक्ष ओलीको चाहनालाई बलियो बनाइदिएको छ ।

दशौँ महाधिवेशनको सन्निकट पुगिसक्दा पनि एमाले र खासगरी अध्यक्ष ओलीमा नवौँ महाधिवेशनको ह्याङओभर अझै उत्रिसकेको देखिन्न । उक्त महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धाले पार्टीमा विभाजनको बिउ रोपेको तर्क अगाडि सारेर अहिले आन्तरिक लोकतन्त्र अर्थात् जनवादको अभ्यासलाई निस्तेज पार्ने प्रयास भइरहेको छ । आफू सर्वसम्मत अध्यक्ष बन्न आन्तरिक लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको असन्तुष्टहरूको आरोप छ ।

तर, सर्वसम्मत अध्यक्ष बनेर पार्टी र राष्ट्रिय राजनीतिमा आफू निर्विकल्प नेता बनेको सन्देश छोड्ने अध्यक्ष ओलीको रणनीतिलाई उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले झस्काइदिएको छ । अस्ति अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफूलाई नेतृत्वमा अघि सारेपछि निर्विकल्प नेता बन्ने ओलीको चाहनामा चुनौती खडा भएको हो । प्रतिनिधि छनोटमै देशभरबाट बढारिएका रावलसँग अध्यक्ष दोहोरिने तयारीमा रहेका ओलीलाई चुनौती दिने वस्तुगत आधार त छैन, तर ‘सर्वसम्मत’ का नाममा पार्टीमा एकछत्र गर्न चाहनेहरूलाई भने उनको उम्मेदवारी तगारो बनेर उभिएको छ ।

तर, रावलको उम्मेदवारीलाई लिएर पनि राजनीतिक बजारमा प्रश्नहरू उब्जिएका छन् । कतिपयले अन्तिमसम्म खुट्टो टेकिनेमा प्रश्न उठाइसकेका छन् । रावलले अध्यक्षमा उम्मेदवारी दिएर उपाध्यक्षमा बालकोटसँग बार्गेनिङ गरेको भन्नेहरू पनि छन् । रावलले विगतमा गरेका कतिपय निर्णयहरूले प्रश्न उठाउनेहरूलाई प्रशस्त आधार दिएको छ, तर त्यसैलाई लिएर अहिले नै उनको उम्मेदवारीबारे थप टिप्पणी गर्नु न्यायोचित नहुन सक्छ ।

रावलको उम्मेदवारी घोषणालाई बालकोट निकटहरूले पनि बार्गेनिङ नै भनेका छन् । सर्वसम्मतको प्रयासमा रहेका ओलीमाथि दबाब बढाएर उपाध्यक्षमा ठाउँ सुरक्षित गर्न खोजेको उनीहरूको बुझाइ छ । तर, अध्यक्ष ओली रावललाई कुनै पनि हालतमा उक्त पद दिने पक्षमा छैनन् । यताउता जाँदा ‘कार्यवाहक’ पाइने अध्यक्षपछि दोस्रो वरीयताको पद ओलीले चाहेकै पात्रले पाउने निश्चित छ ।

निकटहरू भन्छन्, ‘रावल स्वयंले पनि अंकगणित आफू अनुकूल नभएको बुझ्नुभएको छ । तर, राजनीतिमा संधै अंकगणित मात्रै निर्णायक हुँदैन । अर्कोचोटि ७० कट्ने हुनाले अहिले नै आफूलाई वैकल्पिक लिडरसिपको रूपमा स्थापित गर्न उहाँको उम्मेदवारी महत्वपूर्ण छ ।’ यद्यपि, आफ्नो निर्णयमा रावल अन्तिमसम्म टिक्नेमा उनीहरू पनि आशंका गर्छन् । छिट्टै उत्तेजित हुने र सम्झौताको राजनीतिमा रुचि राख्ने रावलको कार्यशैलीका कारण त्यस्तो शंका उब्जिएको उनीहरूको भनाइले संकेत गरेका छन् ।

रावलको उम्मेदवारी तत्कालीन वरिष्ठ नेता माधव नेपाल समूह छाडेर एमालेमै बसेका नेताहरूको भूमिकासँग पनि जोडिएको छ । त्यसो त, महाधिवेशनको प्रतिनिधि चयन प्रक्रियासम्म आइपुग्दा ‘१० भाइ’ समूह आफैँमा तितरबितर भइसकेको छ । तेस्रो धार भनिएको यो समूह अहिले दुई जना एकातिर र बाँकी ओलीतिर बाँडिएको छ । रावल र उपमहासचिव घनश्याम भुसालबाहेक सबै केपी ओलीमा बिलिन भइसकेको आरोप त्यहीँ भित्रबाट आइरहेको छ ।

रावल र भुसाल बाहेकका नेताहरूका अभिव्यक्ति र बडील्यांग्वेज हेर्दा अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गरेरभन्दा उनलाई रिझाएर कम्तीमा अहिले पाइरहेको पद सुरक्षित गर्न सकिन्छ भन्ने मनस्थितिमा रहेको देखिन्छ । त्यसैले रावललाई उनीहरूको समर्थन मिल्ने सम्भावना तत्कालका लागि लगभग छैन । यता, रावलको उम्मेदवारी घोषणापछि सबैभन्दा अप्ठ्यारोमा परेका छन् उपमहासचिव भुसाल । भुसाल ओलीलाई रिझाएर पद सुरक्षित गर्ने खेलोमेलोमा अहिलेसम्म देखिएका छैनन् ।

तर, स्वयं अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका उनलाई रावलको उम्मेदवारीले अलमलमा पारेको छ । जानकारहरूले बताएअनुसार फरक मत दर्ज गर्नैका लागि ओलीविरुद्ध उम्मेदवारी दिने तयारीमा रहेकाले उनी अरू पदमा अघि सर्न त्यति इच्छुक छैनन् । तर, रावल नै अघि सरिसकेकाले अध्यक्षमै उम्मेदवारी दिने कि नदिने भन्नेमा भुसाल कन्फ्युजमा छन् । रावलले मसिनो गरी छलफल नगरेका कारण पनि यस्तो अवस्था आएको प्रष्ट छ ।

तर, रावल र भुसाल दुवै कम्तीमा अध्यक्ष जित्नका लागि उम्मेदवार बन्न नलागेकोमा चाहिँ निश्चित छन् । पार्टी विभाजनको आलो घाउ बोकेर सौराहामा भेला हुने दुई हजार बढी कार्यकर्तालाई पार्टीमा ओली एकलौटी नेता होइनन् भन्ने सन्देश दिनु मात्रै उनीहरूको साझा ध्येय हो । केपी ओलीको चुनौतिरहित नेता हुने लक्ष्यलाई ब्रेक गर्नु उनीहरूको अहिलेको उद्देश्य देखिन्छ ।

तर, दुई भाइबीच अहिलेसम्म राम्रोसँग मन माझामाझ नभएकाले उपाध्यक्षमा भुसालको पनि उम्मेदवारी आए अचम्म मान्न नहुने कतिपयको विश्लेषण छ । यता, ओली भने आफ्नो रोडम्यापमा प्रष्ट अघि बढेको देखिन्छ । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पार्टीबाट बाहिरिएपछि ओलीको निम्ति साना भुसुना ‘१० भाइ’ समूहका दुई भाइ मात्रै हुन् । त्यसैले त्यो समूहका नेताहरूलाई व्यक्तिगत रूपमा ‘डिल’ गरिराखिएको बताइन्छ । ओलीको प्रष्ट रोडम्याप छ– पार्टीमा अर्को वैचारिक समूह बन्न नदिने । सोहीअनुसार भीम आचार्यलगायत १० भाइ समूहका नेतालाई अलग–अलग बालकोट बोलाएर आश्वासन दिने काम भइरहेको छ ।

बताइएअनुसार संगठनमा प्रभाव बनाउन सक्ने र आफूमाथि चुनौती नदिने नेताहरू योगेश भट्टराई, गोकर्ण बिष्ट, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलगायतलाई कुनै न कुनै भूमिकामा समेटेर लैजाने तयारी छ । एमाले स्रोतको भनाइअनुसार संगठनमा राम्रो पकड बनाउन नसकेका रघुजी पन्त, भीम आचार्यजस्ता नेताहरूलाई ‘बाल मतलब’ नगर्ने अनि भीम रावल र घनश्यामलाई वरपर पर्नै नदिने रणनीति छ ।

‘१० भाइ’ समूह जसरी तितरवितर बनेको छ, कार्यकर्ताको मनोविज्ञान पनि त्यस्तै गरी विभाजित छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका र अहिले ओलीलाई निर्विकल्प नेताको रूपमा आत्मसात गरेका ‘१० भाइ’ समूहका नेताहरूलाई एमाले कार्यकर्ताले सहजै स्वीकार गरिसकेको अवस्था छैन । महाधिवेशनमा मूर्त रूपमा प्रकट हुन नसके पनि त्यो मनोविज्ञान आगामी संसदीय निर्वाचनमा देखिन सक्छ ।

जानकारहरू भन्छन्, ‘महाधिवेशन त पार्टीको आन्तरिक गणित प्रयोग गर्ने थलो हो तर मुख्य भिडन्त निर्वाचनमा हुनेछ । त्यतिबेला १० भाइ समूहका अधिकांशलाई टिकट पाउनै महाभारत पर्न सक्छ । कथं टिकट पाए भने पनि योजनाबद्ध रूपमा हराइयो भने अचम्म मान्नु पर्दैन ।’

टिप्पणीहरू