विदेशतिर किन पैसा पठाए बिप्लवले ?

जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगलादेशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड बाबुरामले भारतमा आश्रय लिए । त्यस्तै अहिले के विप्लव माओवादीले बंगलादेशको कुनै समूहसँग त्यस्तो सम्पर्कको सम्बन्ध विस्तार गरेको हो ? यसबारे तथ्य छिट्टै सार्वजनिक होला । तर, दस्तावेज र खर्च विवरणहरूले त्यस्तै देखाउँदैछ । 

प्रहरीद्वारा बरामद विभिन्न दस्तावेजअनुसार बंगलादेशबाट सैन्यतर्फको विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको बुझिन्छ । हवाई मार्ग या फूलबारी नाकामध्ये कतै न कतैबाट चलखेल हुँदै गरेको दावी पुग्ने अभिलेख फेला परेको हो । प्रकाण्डबाट बरामद डायरीमा ‘बंगलादेशको साथीलाई वीरबहादुरमार्फत ८ हजार’ र ‘प्रविधिसम्बन्धी काममा बंगलादेश पठाएको १ लाख’ भन्ने हिसाब देखिएको छ । 

प्रविधि भनेको पक्कै पनि बम, बिष्फोटक पदार्थ हुनुपर्छ । त्यो शीर्षकमा मात्रै ७८ लाख २४ हजार खर्च भएको छ । जनमुक्ति सेनातर्फ ४१ लाख ३९ हजार ६० रुपैयाँसहित जम्मा एक करोड १९ लाख ६३ हजार ६० रुपैयाँ सेना र प्रविधिमा खर्च भएको विवरण छ । यो ०७३ चैत ४ देखि ०७५ असार मसान्तसम्मको खर्च हो, जो प्रकाण्डको डायरीमा फेला परेको छ । यद्यपि अहिले वार्ताको माध्यमबाट उक्त समूहलाई टेस्ट गर्ने, प्रकाण्डलाई ६ वटा जिल्ला घुमाइसकेको हुँदा अब त्यो उपक्रम नदोहो¥याउने नीति सरकारले अबलम्बन गरेको छ । उमा भुजेलको गिफ्तारीलगत्तै भएको रिहाइलाई त्यसैको संकेत मान्न सकिन्छ । 

विप्लवको मासिक खर्च ५० हजार देखिन्छ । पिएलएलाई उत्पादनका लागि असार महिनामा ९७ हजार ५ सय दिइएको रहेछ । उत्पादन भनेको के हो ? सेनाले के उत्पादन गर्छ ? खुलेको छैन । तर, बुझ्न सकिने कुरा हो कि उनीहरू सैन्य सामग्री जुटाउनमा सक्रिय छन् । 

विप्लवका अंगरक्षक चन्द्रबहादुर केसी (असल), जो समातिए, उनलाई असारको खर्च भनेर ५१ हजार दिइएको रहेछ । उनी साउनमा समातिएका थिए । प्रज्वलन (वसन्त श्रेष्ठ) को टिमलाई ०७४ फागुन १० मा ४८ हजार, चैतमा एक लाख, फेरि १० हजार, वैशाखमा ९७ हजार पाँच सय, ०७५ जेठमा ९७ हजार पाँच सय, असारमा पनि त्यति नै पैसा दिइएको छ । रकम–कलम मिलाएर तलबै बाँडेजसरी पैसा दिइएबाट मध्यकमाण्डमा राम्रै सैन्य तयारी रहेको बुझ्न सकिन्छ । असारमै उत्पादनका निम्ति भनेर छुट्टै एक लाख ९२ हजार दिइएको छ । केन्द्रीय सदस्य असलले विद्यार्थीका अध्यक्ष चिरञ्जीवी ढकालमार्फत ०७४ कात्तिकमा ७ हजार, माघमा ३० र ३३ हजार अलग अलग शीर्षकमा लगेको विवरण भेटिएको छ । फागुनमा ३१ हजार पाँच सय, फेरि १० हजार, असलको टिमको कमाण्डर र भाइस कमाण्डरलाई ११ हजार, चैतमा फेरि ८४ हजार, १० हजार र तीन हजारका दरले अलग अलग रकम दिइएको छ । विप्लवका कार्यालय सचिव भेषराज भुषालमार्फत जेठमा ५० र असारमा ५१ हजार गएको हिसाब पनि सरकारी वकिलकहाँ रहेको प्रकाण्डको डायरीमा भेटिन्छ । जुत्तातर्फ एक लाख १२ हजार खर्च भएको छ । ड्रेसतर्फ दुई लाख ७५ हजार, चारजना कालिकोट जाँदा ८ हजार, स्लिपिङ ब्यागका लागि १० हजार, योद्धालाई कामको तयारीबापत ८ हजार, ज्याकेटको लागि २७ हजार पाँच सय, विप्लवका दाइ वीरसिंहलाई २१ सय दिइएको हिसाब पनि सोही डायरीमा छ ।

दुई पिएलएलाई मुगु पठाउन आठ हजार खर्च भएको छ । १५ जनालाई दुई–दुई हजारका दरले ज्याकेट किन्न ३० हजार, तालिम विभागलाई २८ हजार सिसिएम दीपकले लिएको भन्ने हिसाब पनि त्यहीँ छ । मधेसी मुक्तिमोर्चाका अध्यक्ष गौरी मण्डलले २७ हजार, दीपकले ३२ हजार, वीरबहादुरले सात हजार पाएको अभिलेख छ । चिरञ्जीवीमार्फत कृतिले लिएको दुई लाख र छुट्टै २० हजार, रक्तिमले प्राविधिक कामको लागि ५० हजार, असलले दुई लाख, प्रेमले प्रविधिकै लागि पाँच लाख, रणवीर (भरत बम) ले एक लाख ५० हजार, सिसिएम निर्मललाई एकलाख ५० हजार दिइएको विवरण छ । ‘मामालाई ५० हजार’ भनिएको छ । मामा भनेका तनहुँका पुराना कम्युनिष्ट, रुपलाल विश्वकर्माका सहयोद्धा र अहिले विप्लव समूहको दलित मोर्चाका अध्यक्ष हुन् । ०७४ कात्तिक ५ गते (चुनावताका) कीर्तिले बम पड्काएर उम्मेदवार तर्साउने अभियानका लागि पाँच लाख रुपैयाँ लगेका छन् । सिसिएम निर्मलले एक लाख, रणवीरले एक लाख, माइला लामाले एक लाख, रमेश नेपालीले एक लाख, एटम बिसीले २५ हजार, निर्मलले प्रेममार्फत दुई लाख ५० हजार, ०७४ माघ ११ गते फेरि निर्मलले आठ लाख, दीपकले परिचालनको निम्ति २८ हजार, निर्मलले फेरि माघ २३ गते सात लाख, ०७४ फागुन १८ गते आठ लाख ५० हजार, प्रविधिको लागि नइनालाई दुई लाख, कीर्तिलाई एक लाख ६५ हजार, निर्मललाई चैत २३ गते आठ लाख ५० हजार निकाशा भएको हिसाब देखिएको छ । नरेन्द्रलाई एक लाख ५० हजार दिइएको छ । नरेन्द्र दुई जना छन्– एक प्रकाण्डका छोरा, अर्का हुन् पश्चिम रुकुमका इञ्चार्ज । तीमध्ये पैसा लाने नरेन्द्र कुन हुन् खुलेको छैन । दीपकलाई एक लाख २५ हजार, नरेन्द्रलाई थप १७ हजार, निर्मललाई ०७५ जेठ १५ गते विशेष कामका लागि भनेर पाँच लाख, ११ गते थप एक लाख, कञ्चन (धर्मेन्द्र बास्तोला) ले असार २८ गते १० लाख रुपैयाँ लिएको विवरण प्राप्त भएको छ । निर्मल (थमनसिंह राई) मेची, कोशी र सगरमाथा व्युरो इञ्चार्ज हुन् । उनले सबभन्दा बढी पैसा लिएको देखिन्छ । यति ठूलो सैनिकतर्फको हिसाब छ । खर्च नै यति छ भने चन्दा कति उठेको होला ? 

भक्तपुर कार्यक्षेत्र भएका बाग्लुङका केन्द्रीय सदस्य टेकबहादुर केसी (आजाद) समातिनु र प्रकाण्ड समातिनुको कनेक्सन कस्तो छ भने, आजाद बिहान ९ बजे पक्राउ परे । १० घण्टापछि प्रकाण्ड समातिए । अर्थात्, टेलिफोन कनेक्सनका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको रहेछ । आजादचाहिँ उमा भुजेलसँगै रिहा भएका छन् । 

त्यस्तै, केही विप्लवसम्बद्ध युवाले विदेश जानका लागि परराष्ट्र मन्त्रालयमा पासपोर्ट बनाइरहँदा समस्या आइलाग्यो । बरु, तीमध्येका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी केही दिन हिरासतमा राखेको छ । उनीहरूबाट प्रहरीले केही गोप्य सूचना संकलन गरी प्रचण्डकहाँ बुझाएको विप्लव समूहको आशंका छ । यस्तो आशंका कसरी गरिएछ भने, केही दिनअघि विप्लवकै निर्देशनमा प्रचण्डलाई भेट्न केन्द्रीयस्तरका कोही नेता विहानै खुमलटार पुगेका थिए । भेट्नासाथ प्रचण्डले ठट्यौलीपारामा ‘कुरा यस्तो–यस्तो रहेछ नि’ भनेर प्रहरीले लिइएको सूचना सुनाए । राहदानी बनाउन जाँदा पनि शंका हुन थालेपछि अब विदेश भारतको बाटो भएर जाने र भारतीय प्रक्रियाअनुसार राहदानी लिनेजस्ता काममा उनीहरू लागेको विप्लवस्रोतले जनाएको छ । 

टिप्पणीहरू